गौशाला नगरपालिकाको बजेट पौने ९१ करोड
ढल्केवर : महोत्तरीको गौशाला नगरपालिकाले आगामी आर्थिक वर्षको लागि पौने ९१ करोडको बजेट सार्वजनिक गरेको छ।
शुक्रबार नगरपालिकाको १० औं नगरसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै मेयर डा. दिपेन्द्र महतोले ९० करोड ७६ लाख २० हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो।
मेयर महतोका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५ करोड ६६ लाख, संघीय राजस्व बाडँफाडँ तर्फ १४ करोड ४७ लाख १९ हजार, संघीय सशर्त तर्फ २८ करोड ४७ लाख, संघीय विशेष र समपूरक अनुदान ४ करोड ४० लाख आय हुने अनुमान गरिएको छ।
यस्तै प्रदेश सरकारको अनुदान तर्फ वित्तीय समानीकरण अनुदान १ करोड ३४ लाख २६ हजार, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, राजस्व बाँडफाँडतर्फ १ करोड ७५ लाख, आन्तरिक आय तर्फ ४ करोड ६६ लाख ७५ हजार, अल्या रकम १५ करोड र आन्तरिक राजस्व बाँडफाँडतर्फ ४ करोड गरी कुल ९० करोड ७६ लाख २० हजार रुपैयाँ आय हुने अनुमान गरेको मेयर महतोले जानकारी दिए।
आगामी आर्थिक वर्षका लागि नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पर्यटनजस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको मेयर महतोको भनाइ छ।
उनले नगरवासीका आवश्यकता, चाहना र भावनालाई केन्द्रविन्दुमा राखी नगरपालिकाको नीति कार्यक्रमहरूलाई व्यवस्थित एवं मर्यादित रूपमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे।