सहकारीमा रकम घोटाला प्रकरण : शेयर सदस्यले लगाए ताला
विराटनगर : बचतकर्ताको रकम घोटाला गरिएको भन्दै मोरङको एउटा सहकारीमा शेयर सदस्यहरूले ताला लगाएका छन्।
मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा शुक्रबार तालाबन्दी गरिएको हो। बचतकर्ताको रकम घोटाला एवं चोरी भएको सन्दर्भमा सञ्चालक समितिले सत्यतथ्य सार्वजनिक नगरेको भन्दै शेयर सदस्य आक्रोसित बनेका थिए।
तालाबन्दीपछि सहकारीको काम कारबाही ठप्प भएको छ। घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म ताला नखोल्ने अडान शेयर सदस्यहरूले लिएका छन्।
सहकारीको ३८ लाख रुपैयाँ हिनामिना भएको पत्ता लागेको सहकारीकी अध्यक्ष मीना कार्कीले जानकारी दिइन्। उनका अनुसार सहकारीले समिति बनाएर छानबिन गरेको थियो। प्रहरीले पनि घटनाको अनुसन्धान गरेको थियो। आन्तरिक छानबिन र प्रहरी अनुसन्धानबाट सहकारीको ३८ लाख रुपैयाँ घोटाला गरेको पत्ता लागेको कार्कीको भनाइ छ। उनका अनुसार गाउँपालिकाले पनि यस सम्बन्धमा छानबिन गरिरहेको छ।
घोटालामा सहकारीकै पूर्वव्यवस्थापक मेनुका नेपाली (शिवा)को संलग्नता देखिएको उनले बताइन्। बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा शिवालाई प्रहरीले पक्राउ गरेर हिनामिना ठगी मुद्दासमेत चलाएको थियो। जिल्ला अदालत मोरङले गत माघमा ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। १० दिन कारागार बसेपछि धरौटीवापतको रकम तिरेर शिवा छुटिन्।
जिल्लाको आदेशविरुद्ध सहकारीका सञ्चालकहरू उच्च अदालत विराटनगर पुगेका थिए। जिल्लाको आदेश उल्टाउँदै यही असारमा उच्चले शिवासँग थप ८ लाख धरौटी माग गरेको अध्यक्ष कार्कीको भनाइ छ।
उनका अनुसार उच्चको आदेशपछि शिवाले धरौटीवापत १३ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ। ‘रकम हिनामिना गरेकी पूर्वव्यवस्थापक शिवाले गत पुस २२ गते सहकारीमा चोरी भएको देखाउन खोजेकी थिइन्,’ अध्यक्ष कार्की भन्छिन्, ‘तर, घोटाला गरेको रकम पचाउन चोरी भएको भनेर देखाउन खोजेको पाइयो।’ उनका अनुसार सहकारीको मूल ढोकाको ताला तोड्दै भित्र छिरेर ‘सेभ’ फुटाउँदै ३४ लाख रुपैयाँ चोरी भएको भनेर देखाउने प्रयास शिवाले गरेकी थिइन्।
उनले हालसम्म सहकारीको हिसाबकिताबसमेत नबुझाएको अध्यक्ष कार्कीको भनाइ छ। प्रहरीले त्यतिबेला सहकारीको कार्यालयबाट करिब ५० मिटर पश्चिममा तोडफोड गरेजस्तो अवस्थामा ‘सेभ’ फेला पारेको थियो। त्यसपछि प्रहरीले पैसा कसरी राखिएको थियो, सहकारी कसको जिम्मामा थियो र घटना कसरी भयो भन्ने बारेमा विस्तृतमा अनुसन्धान गरेको थियो।
अनुसन्धानबाट रकम घोटाला गरेर शिवाले सहकारीमा चोरी भएको देखाउन खोजेको पत्ता लागेको थियो। ‘सहकारीको ‘सेभ’ तोडफोड गरेर पैसा चोरी भएको भनिएको थियो। तर, प्रहरीले अनुसन्धान गर्दा तोडेफोड गरेजस्तो देखिएन र चाबीकै प्रयोग गरेर ‘सेभ’ खोलेको पत्ता लाग्यो,’ अध्यक्ष कार्कीले भनिन्, ‘चाबीले खोलेपछि फुटाएजस्तो देखाउन ढुंगा वा कुनै वस्तुले हानेको यकिन भयो। ‘सेभ’को हराएको भनिएको चाबी प्रहरीले खानतलासी गर्दा शिवाकै घरभित्र रहेको पुरानो झोलाबाट बरामद भएको थियो।’ उनका अनुसार ‘सेभ’लाई सजिलै फुटाउन सकिँदैन।
उक्त सहकारी स्थानीय महिलाहरू मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन्। सहकारीमा ९ सय ८४ शेयर सदस्य छन्। स्थापनायता १ जना शेयर सदस्यले प्रतिमहिना १ सय रुपैयाँ बचत गर्ने गरेका थिए। पछिल्लो समय प्रतिमहिना २ सय रुपैयाँ बचत गर्नुपर्ने नियम थियो।
तालाबन्दीपछि सरकारीको काम कारबाही प्रभावित भएको अध्यक्ष कार्कीले बताइन्। ‘घोटालाका सम्बन्धमा मुद्दा परेकाले अदालतले यस विषयमा हेरिरहेको छ। रकम तत्कालै शेयर सदस्यलाई फिर्ता गर्नसक्ने अवस्था छैन,’ उनले भनिन्, ‘सबै शेयर सदस्य हाम्रो पैसा हरायो भन्ने त्रासमा छन्। बजारमा २ करोडभन्दामाथि लगानी रहेकाले उक्त रकम उठेपछि बचतकर्तालाई फिर्ता गरिने छ।’
पूर्वव्यवस्थापक शिवाले भने सरकारीको समितिमा रहेका र कर्मचारीले रकम चलाएको बताएकी छिन्। ‘सबै मिलेर रकम चलाए। सहकारीमा चोरी पनि भयो,’ उनले भनिन्, ‘तर, प्रमाण नष्ट गरेर मलाई मात्रै फसाउने काम भयो। यत्रो रकम म एक्लैले कसरी हिनामिना गर्नसक्छु ?’
शिवाका अनुसार सहकारीको पैसा अध्यक्ष मीना कार्कीले ६ लाख ४८ हजार, कर्मचारी प्रकाश खनालले ३ लाख ७६ हजार, देवी चौलागाईंले २ लाख, लेखा समिति सदस्य इन्दु लिङ्देनले १ लाख २१ हजार, लेखा समिति संयोजक कुमारी कार्की कटुवालले ८३ हजार, कोषाध्यक्ष बिना गुरुङले २६ हजार, सचिव लक्ष्मी ढुंगानाले २६ हजार र उपाध्यक्ष धनमाया भट्टराईले २० हजार रुपैयाँ चलाएका छन्।
‘जिल्ला अदालतको आदेश अनुसार तत्काल रकम बुझाउन सकिन। १० दिन कारागार बसेपछि ५ लाख धरौटी बुझाएर छुटेकी हुँ। उच्चले थप ८ लाख तोकेर १३ लाख बनाइदियो,’ उनले भनिन्, ‘उच्चले तोकेको धरौटी बुझाउन सक्ने अवस्था छैन। कारागार गएर बस्ने तयारी गर्दैछु। रकम हिनामिना गर्ने समितिका कोहीविरुद्ध पनि प्रहरीले मुद्दा चलाउन मानेन।’ शिवा आफूले पनि ६ लाख रुपैयाँ भने चलाएको बताउँछिन्।
‘घटनाको अनुसन्धान गर्ने प्रहरीले २ लाख ५० हजार दिनु भयो भने मुद्दा मिलाइदिन्छौं भनेका थिए। मैले पैसा दिन सकिन,’ उनी भन्छिन्, ‘बरु मुद्दा खेप्छु भनेर तयार भएँ। पैसा नबुझाउँदा प्रहरीले मविरुद्ध मात्रै मुद्दा चलायो।’ अरुले पैसा चलाएको विवरण आफूले टिपेर राखेपछि सबै मिलेर त्यसलाई नष्ट गरिसकेको शिवा बताउँछिन्।
सहकारीकी अध्यक्ष कार्कीले भने समितिमा रहेका र कर्मचारी कसैले पनि पैसा नचलाएको बताइन्। ‘एकलौटी रकम घोटाला गरेकी व्यवस्थापकले सबैलाई फसाउने योजना बनाएको पाइयो,’ उनी भन्छिन्, ‘त्यो कुरा त अनुसन्धान र छानबिनबाटै पत्ता लागिसकेको छ।’