नुवाकोट लिखुका एक पुरुषको खोलाले बगाएर मृत्यु
नुवाकोट : नुवाकोटको लिखुका एक पुरुषको स्थानीय तादी खोलाले बगाएर ज्यान गएको छ । लिखु गाउँपालिका ३ सुर्यमति घर भएका ५५ वर्षीय रत्नबहादुर राइलाई खोला तर्ने क्रममा तादी खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सूर्यमतिका राई ढिकुरे जान्छु भनेर घरबाट हिंडेका उनलाई बीचमा रहेको खोलाले बगाएको हो । उनको शव बेलकोटगढी नगरपालिका १२ स्थित तादीखोलामा नयांपुलमुनि खोलाको किनारमा फेला परेको छ ।
उनको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको नुवाकोट प्रहरीले जनाएको छ । वर्खायाममा नदि तथा खोलामा पानीको बहाव बढिरहेका कारण अत्यावश्यक कामवाहेक नदी आसपास नजान जिल्ला प्रशासन कार्यालय नुवाकोटले सर्वसाधारणमा आग्रह गरेको छ ।