मखानको बजारीकरणमा सघाउँदै मटिहानी
ढल्केवर : महोत्तरीको मटिहानी नगरपालिकाका मखान खेती गर्ने कृषकहरूलाई मखानको बजारीकरणमा सहयोग पुग्ने सामग्री वितरण गरिएको छ। शनिबार मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले कृषकहरूलाई सहयोग सामग्री वितरण गरेका हुन्।
मटिहानी नगरपालिका–७ का मखान खेती गर्ने सहनी (मल्लाह) जातिका कृषकहरूलाई बोरा, हाते झोला, त्रिपाल, बोरा सिलाउने मेसिनलगायतका सामग्रीहरू वितरण गरिएको मेयर मण्डलले बताए। स्थानीय मखान खेतीलाई प्रोत्साहितसहित प्रचार–प्रसार गर्ने उद्देश्यले सामग्री वितरण गरिएको उनको भनाइ छ।
हाल मखान खेती र व्यवसायमा मटिहानीका सहनी र मुस्लिम जातिका करिब १ सय परिवारहरू संलग्न रहेको मटिहानी नगरपालिकाका कृषि शाखा प्रमुख टंकप्रसाद उपाध्यायले जानकारी दिए। मल्लाह जातिको पुख्र्यौली पेसाको रूपमा परिचित मखान खेतीबाट राम्रो आम्दानी आउन थालेपछि पछिल्लो समय मुस्लिम जातिसमेत यो पेसामा सक्रिय भएको स्थानीयहरू बताउँछन्।
मखान खेतीका लागि महोत्तरीको मटिहानी प्रसिद्ध ठाउँ मानिन्छ। महोत्तरीसहित आसपासका जिल्लामै सबैभन्दा बढी मखान खेती हुने ठाउँमध्येको एक हो, मटिहानी। धार्मिक धरोहर मानिने मटिहानी मखानले पनि परिचित छ। मटिहानी नगरपालिका–७ मा दर्जन घरपरिवार मखान खेतीमा निर्भर छन्। मटिहानी नगरपालिकामा करिब एक सयको हाराहारीमा पोखरी छन्। त्यसमध्ये ५० जतिको पोखरीमा मखान खेती हुने गरेको मटिहानीको अनुमान छ। यहाँबाट बर्सेनि कम्तीमा ४ सय क्वीन्टल मखान निर्यात हुने गरेको मखान कृषकहरूको दाबी छ।
मखानको धार्मिक महत्वसँगै साँस्कृतिक महत्व पनि उत्तिकै छ। मिथिला क्षेत्रको सुप्रसिद्ध तिथि कोजाग्रत अर्थात् आश्विन पूर्णिमाका दिन मधुर, मखान तथा पान खाने प्रचलन छ।