उपल्लो मुस्ताङको सांस्कृतिक इतिहास ‘मुस्ताङी राजा’
लोमान्थाङ : झन्डै १५औं शताब्दी पुरानो मुस्ताङी राजाको सांस्कृतिक इतिहास उपल्लो मुस्ताङमा अझै जीवन्त छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकले मुस्ताङी राजारानीलाई अहिले पनि उत्तिकै सम्मान र सत्कार गर्छन्।
लामो इतिहास बोकेको मुस्ताङी राजाका रूपमा अहिले झिग्मे सिङ्गे पलवर बिष्ट कायम छन्। उनका श्रीमती धोर्जे याङ्केड बिष्टसहित दुई छोरा र एक छोरी छन्। हालका २६औं पुस्ताका राजा झिग्मे सिङ्गे पलवर बिष्ट यसअघिका २५औं पुस्ताका मुस्ताङी राजा झिग्मे पलवर बिष्टका माइला सहोदर दाइका जेठा छोरा हुन्। उनी लोघेकर दामोदरकुण्ड–१ चराङ गुम्बाका लामा थिए।
त्यसो त २४ औं पुस्ताका मुस्ताङी राजा हालका राजा झग्मे सिंङ्गे पलवर बिष्टका जेठा बुवा हुन् भने २५औं पुस्ताका मुस्ताङी राजा कान्छा बुवा हुन्।
मुस्ताङी राजाका कान्छा भाइ २५औं पुस्ताका राजा बने पनि उनीतर्फ सन्तान थिएनन्। यसैले २५औं पुस्ताका मुस्ताङी राजा झिग्मे पलवर बिष्टले आफू जीवित छँदै मुस्ताङी राजाले माइला दाइ चराङ गुम्बाका लामाको छोरा झिग्मे सिङ्गे पलवर बिष्टलाई उत्तराधिकारी घोषणा गरेका थिए।
मुस्ताङी राजाको २०७३ सालमा काठमाडौंमा देहान्त भएपछि झिग्मे सिङ्गे पलवर बिष्ट २६ औं पुस्ताका मुस्ताङी राजा बनेका मुस्ताङी राजाको दरबारका मुख्य पुजारी आम्ची घ्याचो बिष्टले बताए।
यसअघि २५औं पुस्ताका मुस्ताङी राजाले मुस्ताङबाट खम्पा बिद्रोहीहरूलाई धपाउन महत्वपूर्ण योगदान दिएको दरबारका पुजारी बिष्टले उल्लेख गरे। तत्कालीन समयमा सरकारसँग सहकार्य गरेर मुस्ताङमा भएको खम्पा आतंकलाई परास्त गरेको उनले स्मरण गरे। २५ औं पुस्ताका लागि मुस्ताङबाट खम्पा धपाउन र उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फ सीमा सुरक्षाका लागि महत्वपूर्ण योगदान दिएकाले तत्कालीन सरकारले मुस्ताङी राजालाई कर्णेल सरहको सुविधा दिएको दरबारका मुख्य पुजारी आम्ची घ्याचो बिष्टको भनाइ छ। २०६२÷२०६३ को आन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापित भइसकेकाले हालका मुस्ताङी २६औं राजा झिग्मे सिङ्गे पलवर बिष्टलाई सांस्कृतिक राजाका रूपमा उपल्लो मुस्ताङवासीले मान्दै आइरहेका छन्।
सदियौंदेखिको मुस्ताङी राजाको इतिहासलाई उपल्लो मुस्ताङवासीले जीवनपर्यन्त बिर्सन सक्दैनन्। जनतासँग उठबस र हरेक सुखदुःखमा सधैं सारथी बन्दै आएका उपल्लो मुस्ताङको राजसंस्थालाई यहाँका नागरिकले भगवानको रूपमा पुज्ने गर्छन्। अटल विश्वास र आस्था राख्छन्। यसैले पनि उपल्लो मुस्ताङमा राजा र प्रजाबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ। उपल्लो मुस्ताङको लोछोदिन समुदायले मनाउने महत्वपूर्ण चाडपर्व र पूजाआजा तथा शुभकार्यहरूमा मुस्ताङी राजारानीको प्रत्यक्ष सहभागिता रहँदै आएको छ। मुस्ताङी राजाले अप्ठ्यारो पर्दा सधैं साथ र सहयोग दिने गरेको आम्ची बिष्टले उल्लेख गरे।
मुलुकमा गणतन्त्र स्थापित भइसकेकाले मुस्ताङी राजाको दरबार रित्तो हुन्छ। विशेष चाडपर्व बाहेक राजारानीको उपस्थिति अहिले दरबारमा हुँदैन। मुस्ताङी राजारानी अहिले प्रायः काठमाडौंमै बस्छन्।
मुस्ताङी राजाको इतिहासलाई जिवन्त तुल्याउन एवं यहाँको धार्मिक, सांस्कृतिक र मौलिक सम्पदाहरूलाई जर्गेना गर्दै पर्यटन प्रबद्र्धनमा योगदान पुर्याउन मुस्ताङी राजा झिग्मे सिङ्गे पलवर बिष्टका जेठा छोरा धिण्डुप झिग्मे पलवर बिष्टको वैवाहिक कार्यक्रमलाई सांस्कृतिक उत्सवको रूपमा मनाइएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु)ले जानकारी दिए।
पछिल्लो समय वैदेशिक रोजगार र आधुनिक सम्यताले गर्दा संस्कृति धरापमा पर्न थालेकाले धर्म संस्कृति र भेषभूषालाई जोगाउन मुस्ताङी राजपरिवारको विवाहलाई जोडेर सांस्कृतिक उत्सवका रूपमा मनाइएको उनको भनाई छ। उनले उपल्लो मुस्ताङमा आउने पर्यटकले यहाँको राजा र दरबारको अवलोकन गर्ने गरेको जानकारी दिए। पृथक भूगोल र तिब्बतीयन जिवन्त मौलिककला संस्कृतिले उपल्लो मुस्ताङ पर्यटकीय हबको रूपमा विकास भएको उनले जनाए।
मुस्ताङी राजाको छोरा राजकुमारको विवाह ताप्लेजुङ जिल्ला वालुङ गोवाकी राजकुमारी सोनाम याङछेन उक्यापसँग भएको हो। वैवाहिक कार्यक्रम अघि ताप्लेजुङ जिल्लाबाट बेहुली लिएर उपल्लो मुस्ताङको चराङमा राखिएको थियो। मंगलबार लोमान्थाङबाट गएको जन्तीले झन्डै ३ सयभन्दा बढी घोडाको लस्करसहित बेहुलीलाई घोडामा चढाएर लोमान्थाङ दरबार भित्र्याइएको थियो। बेहुलीलाई दरबार भित्र्याइएपछि धार्मिक परम्परा अनुसार लामाले पूजापाठ गरी विवाह सम्पन्न गराइएको थियो। यसअघि चराङबाट बेहुली लिएर आएका जन्तीलाई उपल्लो मुस्ताङबासी सयौं नागरिकहरूले बेहुली र जन्तीलाई स्वागतसहित स्थानीय भाषामा आशिर्वाद दिएका थिए। दरबारमा भित्र्याइएकी राजकुमारीलाई स्थानीय बाजागाजासहित राजाको निजी निवास लोमान्थाङस्थित रोयल रिसोर्टमा पुर्याइएको थियो।
वैवाहिक कार्यक्रम सम्पन्न भएपछि साँझ रात्री भोजसहित राजपरिवारको सम्मानमा स्थानीय स्याब्रो नाच प्रदर्शन गरिएको थिए। स्याब्रो नाच राजा र प्रकृतिको वर्णन गरी गाइने स्थानीय भाषाको गीत हो। पहिलो दिनको वैवाहिक कार्यक्रम सकिएपछिको दोस्रो दिन राजापरिवारका सदस्य तथा राजकुमार र राजकुमारीलाई टाढाटाढाबाट आउने निम्तालुलाई आशीर्वाद दिने कार्यक्रम सम्पन्न भयो। मंगलबार नै लोमान्थाङका नागरिकले राज संस्थालाई सम्मान गर्दै बेहुला बेहुलीलाई गीत गाउँदै आशिर्वाद दिए। बुधबार लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकले आशिर्वाद दिने कार्यक्रम छ।
मुस्ताङी राजा परिवारको सांस्कृतिक विवाह उत्सवलाई मध्यनजर गर्दै उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सांस्कृतिक राजाको सम्मान गर्दै एकदिन सार्वजनिक सरकारी बिदा दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले उल्लेख गरे। मुस्ताङी राजपरिवारको सम्पूर्ण सांस्कृतिक विवाह उत्सव कार्यक्रम बुधबार समापन हुने बताइएको छ।
विशेष चाडपर्व बाहेक राजारानीको उपस्थिति अहिले दरबारमा हुँदैन, उनीहरू प्रायः काठमाडौंमै बस्छन्।