कोसी अस्पतालमा सुधारको जग बसाएर बिदा भयो विकास समिति

कोसी अस्पतालमा सुधारको जग बसाएर बिदा भयो विकास समिति
कोसी अस्पताल विकास समितिको बिदाइका लागि आयोजित कार्यक्रमका सहभागी। तस्बिर : किशोर बुढाथोकी

विराटनगर : विराटनगरस्थित कोसी अस्पतालमा सेवा विस्तार र भौतिक सुधारको जग बसाएर अस्पताल विकास समिति बिदा भएको छ। 

बारम्बारको राजनीतिक हस्तक्षेपबाट थिलथिलो बन्दै गइरहेको यो अस्पताल कोसी प्रदेशकै सबैभन्दा ठूलो सरकारी संस्था हो। अस्पताल विकास समिति तीन वर्षे कार्यकाल पूरा गर्दै शुक्रबारदेखि बिदा भएको छ। 

महेश भट्टराई अध्यक्ष तथा शिल्पा निराला कार्की, मुकेश बुढाथोकी र देवा यादव सदस्य रहेको समितिलाई मन्त्रिपरिषद्को निर्णयबाट २०७७ असार २२ गते नियुक्त गरिएको थियो। कार्की हाल विराटनगर महानगरपालिकाकी उपमेयर छिन्। यो अवधिमा समितिका २४ वटा बैठकहरू भएका छन्। 

तीन वर्षे कार्यकालमा अस्पताल सुधार र सेवा विस्तारका २२ वटा काम गरिएको प्रगति विवरण समितिले सार्वजनिक गरेको छ। भौतिक संरचनाको विकासका लागि गुरु योजना तयार पार्ने, भवन निर्माण गर्ने र सेवालाई नियमित एवं प्रभावकारी बनाउन ‘ओएनएम सर्भे’ गरी एक हजार एक सय ४४ जना कर्मचारीको दरबन्दी कायम गराउन सफल भइएको समिति सदस्य मुकेश बुढाथोकीले बताए। प्रगति विवरण सार्वजनिक गर्दै उनले अक्सिजन प्लान्ट, एचडीयू सेवा, आईसीयू र भेन्टिलेटर सेवा सुरु गरिएको जानकारी दिए।

अस्पतालको उठ्न बाँकी सटर भाडा ८० लाखमध्ये ५५ लाख उठाइएको, मेडिकल कजेज सञ्चालन प्रक्रिया अघि बढाइएको, ३ अर्ब ३३ करोडमा १० तले भवन निर्माण कार्य सुरु गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ। अस्पतालको जग्गा खाली गराएर नयाँ भवन निर्माण सुरु गरिएको जानकारी उनले दिए। 

विकास समितिबाट भएका सबै निर्णय कार्यान्वयन गरिएको समिति सदस्य देवा यादवले जानकारी दिए। अस्पताल सुधारमा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै नागरिक दैनिकका पत्रकार चुमन बस्नेतलाई नगद १० हजारसहित सम्मान तथा पुरस्कृत गरिएको छ। त्यस्तै, अस्पतालका चिकित्सक चन्द्रप्रकाश यादवसहितलाई सम्मान गरिएको छ। 

कोसी अस्पताल विक्रम संवत १९४७ सालमा स्थापना गरिएको हो। मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको यो अस्पताल १९७१ सालमा विराटनगर सारिएको थियो। ‘अस्पतालबाट सम्पूर्ण नागरिकलाई सर्वसुलभ एवं गुणस्तीय स्वास्थ्य सेवा दिने वातावरण बनाइएको छ,’ सदस्य बुढाथोकीले भने, ‘सबैमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन अस्पताललाई भौतिक सुविधा सम्पन्न बनाउँदै लगिएको छ।’ कोरोनाको जटिल परिस्थितिमा आइसोलेसन वार्ड सञ्चालनदेखि एम्बुलेन्स भाडामा लिएर कोरोनाका बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउने काममा समितिले महत्वपूर्ण भूमिका खलेको उनको भनाइ छ। 

साथै, पीसीआर मेसिन व्यवस्थापन, सटरको भाडा असुली तथा सटर खाली, आईसीयू र आकस्मिक भवन निर्माण, विभिन्न भवन निर्माणका लागि गुरु योजना तयार, कोरोनाका बिरामीको उपचार, आईसीयू, एनआईसीयू, भेन्टिलेटर, युरो र न्यूरो सर्जरी सेवा सञ्चालन, कर्मचारीलाई श्रम ऐन अनुसार तलबको व्यवस्था, ज्यालादारी कर्मचारीको तलब वृद्धि, भवन निर्माणका लागि जग्गाको व्यवस्थापन, नयाँ भवनको शीलान्यास, पूर्वाञ्चाल विश्वविद्यालयमा एमबीबीएस सञ्चालनका लागि कोसी अस्पताल र विश्वविद्यालयबीच सम्झौतालगायतका काम गरिएको बुढाथोकीले बताए। 

त्यस्तै, सामाजिक इकाईको व्यवस्थापन, आँखाको उपचारका लागि उपकरण खरिद, पुराना र जोखिमपूर्ण भवन भत्काएर नयाँ निर्माण, अस्पतालको फोहोर व्यवस्थापन, आईसीयू वार्डमा कर्मचारी व्यवस्थापन, सटर भाडाको यथार्थ विवरण संकलन, ओपीडी सेवाको समय वृद्धि, स्थानीय तहहरूसँग समन्वय तथा सरसफाई अभियान, हेल्प डेस्क र फार्मेसी सञ्चालन एवं कर्मचारीको हाजिरी व्यवस्थापन, अस्पतालमा तालिम हलको व्यवस्थापन, जनशक्ति व्यवस्थापनको अध्ययन,  इन्टर्नसीप शुल्क निर्धारण, प्लान्ट निर्माण गरी २४ घण्टा नै अक्सिजनको उपलब्धता, विभिन्न सेवा विस्तार, पार्किङ व्यवस्थापनलगायतका कामहरू गरिएको जानकारी उनले दिए। 

नियमित विद्युत सेवाका लागि ट्रान्सफर्मर जडान, आँखाको शल्यक्रिया सेवा सञ्चालन, प्रभावकारी एवं छिटोछरितो सेवाका लागि अस्पतालको स्तरोन्नति, बिमा काउन्टर र फार्मेसी व्यवस्थापन, विभिन्न संघ संस्थाले ६१ वर्षदेखि अनधिकृत रूपले ओगटेको जग्गा खाली गराउने समेतका काम समितिले गरेको छ। ‘सबै निकायबीच समन्वय गरे सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाइएको छ,’ बुढाथोकी भन्छन्, ‘अस्पतालाई भौतिक हिसाबले सुविधा सम्पन्न बनाउँदै लगिएको छ।’ 

कोसीमा ३ वर्षको अवधिमा ५ जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन्। डा. चुमनलाल दास, यज्ञराज खरेल, लक्ष्मीनारायण यादव, रविनराज सिंह यसअघि मेसु थिए। उनीहरूका पालामा अस्पताल सुधारतर्फ उल्लेख्य काम भएको बताइन्छ। अहिले डा. चन्द्रभाल झा मेसु छन्। 

विकास समितिले अस्पतालमा कम्पाउण्ड वाल नहुँदा सुरक्षामा समस्या भएको, बच्चा विभागको भवन जीर्ण हुँदापनि पुनःनिर्माण गर्न नसकिएकाले नियमित सेवा सञ्चालनमा कठिनाइ भएको, विभिन्न संघ संस्थाले अस्पतालको जग्गा अनधिकृत रूपमा ओगटेर व्यवसायिक हिसाबले संरचना निर्माण गरेको, अस्पतालको नाममा रहेका जग्गा खाली गर्न अटेर गर्ने गरिएको लगायतका चुनौती औंल्याएको छ। 

‘पछिल्लो तीन वर्षको अवधिमा सरकारी अस्पताल सुधारका निम्ति महत्वपूर्ण कामहरू भएका छन्। आमजनमानसमा सरकारी अस्पातालबाट प्रभावकारी र गुणस्तरीय सेवा पाइन्छ भन्ने छाप बसाइएको छ,’ पूर्वमेसु डा. यज्ञराज खरेलले भने, ‘यसलाई निरन्तरता दिएर आगामी दिनमा पनि धेरै कामहरू गर्नुपर्ने हुन्छ। अब आउने विकास समितिको ध्यान यसतर्फ जान जरुरी छ।’ उनले इच्छा शक्ति हुँदा अस्पतालको विकासका लागि काम गर्न सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेर यसअघिको विकास समिति बिदा भएको जानकारी दिए। 

अस्पताल सुधारका लागि समितिले बिना स्वार्थ काम गरेको र आगामी दिनमा अस्पतालमाथि हुने विभिन्न हस्तक्षेप बन्द गरिनुपर्ने डा. खरेलको भनाइ छ। राजनीतिक हस्तक्षेपका कारण सरकारी अस्पताल लथालिंग भइरहेकोतर्फ सबै सरोकारवालाको ध्यान जान जरुरी रहेको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.