मुस्ताङमा स्याउ ग्रेडिङ तथा कोल्ड स्टोर निर्माण

मुस्ताङमा स्याउ ग्रेडिङ तथा कोल्ड स्टोर निर्माण
सुन्नुहोस्

जोमसोम : स्याउको राजधानी मानिएको मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा स्याउ ग्रेडिङ र स्याउलाई साबिक जस्तै ताजा राख्न कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ।

चालु आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित संघीय सरकारको सशर्त अनुदान ९५ लाख ५९ हजार लागतमा जोमसोममा २० टन क्षमताको कोल्ड स्टोरसहित स्याउ ग्रेडिङ उपकरणको व्यवस्था गरिएको हो।

जोमसोममा संघीयताअघि साविक शहरी विकास तथा भवन डिभिजन बाग्लुङले निर्माण गरेको पुरानो भवनमा कोल्ड स्टोर तथा ग्रेडिङ उपकरण लगायतका भौतिक संरचना निर्माण गरिएको घरपझोङ गाउँपालिकाका सकलदेव शर्माले जानकारी दिए। 

शर्माका अनुसार कुल बजेट मध्येबाटै खर्च गर्ने गरी जीर्ण भवनको स्तरोन्नति गरी कोल्ड स्टोर स्थापना गरिएको हो। कोल्ड स्टोर रहेको क्षेत्र सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म नजिकै दक्षिणतर्फ कम्पाण्डसहित तीन रोपनी क्षेत्रफलमा कोल्ड स्टोर पूर्वाधार निर्माण गरिएको उनले बताए।

घरपझोङ-४ जोमसोममा निर्माण गरिएको कोल्ड स्टोर तथा ग्रेडिङ उपकरणको निर्माण गर्ने जिम्मा बिआर कन्ट्रक्सन दिक्तेलले लिएको थियो। निर्माण गरिएको कोल्ड स्टोरको ग्रडिङ तथा वासिङ मेसिन उपकरणले प्रतिघण्टा ५ सय केजी स्याउलाई ग्रेडिङ र वासिङ गर्ने क्षमता रहेको शर्माको भनाइ छ।

जोमसोममा स्याउ भण्डार गर्ने कोल्ड स्टोर निर्माण भएसँगै जोमसोमका कृषकहरू उत्साहित भएका छन्। घरपझोङ गाउँपालिकाको समन्वयमा निर्माण गरिएको कोल्डले बेमौसममा समेत मुस्ताङ आउने पर्यटकले ताजा स्याउको स्वाद चाख्न पाउने जोमसोमका किसान अजित थकालीले जानकारी दिए। 

शनिबार जोमसोमका स्याउ किसान, समूह, सहकारी र फार्महरूलाई कोल्ड स्टोरका बारेमा जानकारी गराइएको थियो। गाउँपालिकाको अनुगमनपछि पालिकालाई हस्तान्तरण हुने बताइएको छ।

चालु आर्थिक वर्ष नै २०७९/०८० का लागि विनियोजित गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ‘स्याउ विशेष कार्यक्रम अन्तर्गत मुस्ताङको घरपझोङ–२ मार्फा र थासाङ–१ टुकुचेमा सय/सय टन क्षमताको दुई वटा बृहत् कोल्ड स्टोर निर्माणको काम अघि बढाएको छ।

कृषि विकास निर्देशनालयको स्याउ विशेष कार्यक्रम अन्तर्गत मुस्ताङको मार्फास्थित मार्फा कृषि सहकारी संस्था र टुकुचेको स्यालमा बहुद्देश्यीय सहकारी संस्थालाई ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी बृहत् कोल्ड स्टोर निर्माणको पूर्वाधार भइरहेको कृषि विकास निर्देशनालय पोखराका निर्देशक बासुदेव रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार कोल्ड स्टोरलाई चाहिने सबै पूर्वाधार निर्माण गर्न एक कोल्ड स्टोर निर्माण गर्न अधिकतम १ करोड २५ लाख रुपैयाँसम्म अनुदान दिइने र यो अहिलेसम्मकै ठूलो लगानीमा निर्माण गर्न लागिएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.