कोरला नाकामा भू-प्राविधिक अध्ययन सुरु
जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाकाको सीमा क्षेत्रमा भू-प्राविधिक अध्ययन अर्थात् माटो परीक्षण सुरु गरिएको छ। कोरला नाकाको दशगजा दक्षिण नेपालतर्फको भूभागमा सरकारले भू-प्राविधिक अध्ययन सुरु गरेको हो।
कोरला नाकामा सरकारले दीर्घकालीन उद्देश्यले भन्सार, अध्यागमन,सुरक्षा पोस्ट,क्वारेन्टाइन र सुख्खा बन्दरगाह लगायतका संरचना निर्माण गर्न भूप्राविधिक अध्ययन अध्ययन अघि बढाएको हो।
कोरलानाका क्षेत्रमा भवन संरचना लगायतका पूर्वाधार निर्माण गर्नका लागि भू-प्राविधिक अध्ययन सुरु गरिएको हो। भू-प्राविधिक अध्ययन अर्थात् माटो परीक्षणको अध्ययन गर्ने जिम्मा ट्रेसेवल मेजरमैंट कम्पनीले लिएको हो। यसका लागि गत असार १३ गते मुस्ताङका प्रजिअ अनुप केसीलाई माटो परीक्षण अध्ययन विषयमा जानकारी गराएको थियो।
असार १४ गते कोरला नाका सीमाक्षेत्रको लोमान्थाङ र लोघेकर दाामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोप्साङ छोम्फेल विष्टको समन्वयमा छिमेकी देश चीनका प्रतिनिधिलाई भू-प्राविधिक अध्ययन कार्यक्रमका बारेमा विस्तृत जानकारी गराएको थियो।
मुस्ताङ प्रशासन र स्थानीय पालिकाको समन्वयमा चीन पक्षलाई जानकारी गराइएपछि गत असार १५ गतेदेखि कोरला नाकामा पूर्वाधार निर्माण गर्न भू-प्राविधिक अध्ययन अर्थात् माटो परीक्षण गर्ने कार्य अघि बढाइएको कम्पनी अन्तर्गत माटो परीक्षणमा खटिएका सिनियर इन्जिनियर हरिकुमार अधिकारीले जानकारी दिए।