मुस्ताङको हिमपहिरो जाने क्षेत्रमा वृक्षारोपण
जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरिकोट माथिको हिमपहिरो ग्रष्त क्षेत्रमा बृहत् वृक्षारोपण गरिएको छ।
थासाङ गाउँपालिका तथा डिभिजन वन कार्यालयको सहयोगमा नाउरिकोट जंगलमा १६ सय थान बिरुवा रोपण गरिएको हो।
पटक/पटक हिमपहिरोको जोखिममा रहेको थासाङ-२ नाउरिकोट, लार्जुङ, बोक्सीखोला, कोवाङ, खन्ती लगायतका गाउँहरूको संयुक्त जगंल क्षेत्र रहेको यो सो क्षेत्रमा हिमपहिरोले सयौं रुखहरू ढलेर क्षति पुगेको थियो।
२०७८ कार्तिक महिनामा धौलागिरि क्षेत्रको मानापाथी हिमालको फेंदबाट आएको हिमपहिरोले सो स्थानको जंगल क्षेत्र ढलेर उजाडिएका थिए। सो स्थानलाई पुन हरियाली गराई साविककै स्थानमा ल्याउन थासाङ गाउँपालिका र डिभिजन वन कार्यालयले पहल गरेको हो।
थासाङ गाउँपालिकाले हिमपहिरो ग्रष्त क्षेत्रको करिब १ हेक्टर क्षेत्रफलमा ४ लाख ५० हजार बजेट खर्च गरेर फलामे ट्रससहितको तारबार लगाएको छ। चरन क्षेत्रमा छाडिएका पशुचौपाया र अन्यबाट बिरुवालाई सुरक्षित राख्न थासाङ गाउँपालिकाले सुरक्षित वृक्षारोपण पूर्वाधार निर्माण गरेको बताइएको छ।
यसैगरी डिभिजन वन कार्यालय मुस्ताङले आफ्नो स्वामित्वमा रहेको थासाङ-३ लेतेस्थित नर्सरीबाट बिरुवा उपलब्ध गराएर स्थानीय उपभोक्ता समितिमार्फत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।
चालु वर्षको वार्षिक कार्यक्रम अनुसार डिभिजन वन कार्यालयले थासाङ-२ नाउरिकोट माथिको क्षेत्रमा १४ सय थान गोब्रे सल्ला र २ सय थान धुपी सल्लाका बिरुवा रोपण गरिएको डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए।
थासाङको मानापाथी हिमालबाट पटक/पटक हिमपहिरो खस्ने गर्दा त्यसक्षेत्र हिमपहिरोको उच्च जोखिममा छन्। हिमपहिरोले प्राकृतिक श्रोत साधनमा ठूलो क्षति हुने गरेको छ। पछिल्लो पटकको हिमपहिरोले उच्चलेकमा पालन गरिएका दर्जनौं याकचौरी हिमपहिरोमा बेपत्ता भएका थिए।
हिमपहिरो ग्रष्त क्षेत्रको एक तिहाइमा मात्र अहिले वृक्षारोपण गरिएको हो। हिमपहिरो ग्रष्त क्षेत्रमा अहिले पनि दर्जनौ सल्ला धुपी लगायतका रुखहरू ढलेर क्षति भएको देख्न सकिन्छ।