मुस्ताङमा प्रदेश कार्यालयहरूको पुँजीगत खर्च ४५ करोड ८४ लाख
जोमसोम : गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका मुस्ताङका ११ वटा कार्यालयले ४५ करोड ८४ लाख बजेट खर्च गरेका छन्।
चालु आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित कुल ६० करोड ७६ लाख बजेटमा ७५ दशमलव ४३ प्रतिशत बजेट पुँजीगत बजेट खर्च गरेका हुन्।
गण्डकी प्रदेश अन्तर्गतका कार्यालयहरूका लागि चालु खर्चतर्फ ३८ करोड ६९ लाख बजेट विनियोजन भएकोमा २९ करोड १७ लाख अर्थात ७५ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको हो।
मुस्ताङमा प्रदेश कार्यालयहरूको कुल चालु र पुँजीगत खर्च प्रतिशत करिब समान रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए।
मुस्ताङमा गतवर्षको तुलनामा चालु वर्ष पुँजीगत बजेट खर्च बढेको छ भने बजेट खर्चको प्रतिशत भने घटेको छ। मुस्ताङमा गत वर्षभन्दा चालु वर्ष यहाँका प्रदेश कार्यालयहरूलाई १६ करोड पुँजीगत बजेट बढेर आएकोमा चालु वर्ष गत वर्षको भन्दा ८ करोड बढी पुँजीगत खर्च वृद्धि भएको हो।
गत वर्ष ४४ करोड ७ लाख पुँजीगत बजेट विनियोजन भएकोमा ३७ लाख ९८ करोड अर्थात ८६ दशमलव १८ प्रतिशत खर्च भएको थियो।
गत वर्ष प्रदेश कार्यालयको चालु बजेट ३८ करोड ५६ लाखमा २७ करोड ८५ लाख अर्थात् ७२ प्रतिशत बजेट खर्च भएको थियो। चालुतर्फ २ करोड अर्थात ३ प्रतिशत बजेट बढी खर्च भएको छ।
गण्डकी प्रदेश अन्तर्गत बढी बजेट विनियोजन हुने पूर्वाधार विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०७९/०८० को असारसम्ममा ६८ दशमलव ८७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ।
पूर्वाधार विकासले कुल पुँजीगत बजेट २६ करोड ३४ लाखमा १८ करोड १४ लाख बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ।
यसैगरी खानेपानी, जलश्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालयले ८७ दशमलव ८८ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ। कार्यालयको कुल पुँजीगत बजेट २२ करोड ९७ लाख रहेकामा २० करोड १९ लाख पुँजीगत बजेट खर्च गरेको हो।