नदीजन्य पदार्थको सतह बढ्दै जाँदा मुस्ताङका तटीय बस्ती जोखिममा
जोमसोम : कालिगण्डकी नदीको सतह बर्सेनि वृद्धि हुँदै जाँदा मुस्ताङका तटीय बस्तीहरू उच्च जोखिम परेको सरोकारवालाहरूले बताएका छन्।
नदीजन्य पदार्थको उत्खनन् तथा व्यवस्थापन हुन नसक्दा मुस्ताङको वारागुङ मूक्तिक्षेत्र देखि थासाङ गाउँपालिकाको पैरोथाप्लासम्मको एक दर्जन तटीय बस्तीहरू नदी कटानको उच्च जोखिममा रहेको बताइएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङको मंगलबार बसेको सरोकारवाला निकाय सम्मिलित बैठकमा सरोकारवालाहरूले कालिगण्डकी नदीको तटीय बस्ती संरक्षण गर्न नदीजन्य पदार्थको उत्खनन् तथा व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन्।
प्रजिअ अनुप केसीको अध्यक्षमा बसेको बैठकमा मुस्ताङका ५ स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला कार्यालय,सुरक्षा निकाय,गैसस र पत्रकारहरूको संयुक्त बैठकमा विपद् जोखिम न्यूनिकरण गर्न कालिगण्डकी नदीजन्य पदार्थलाई व्यवस्थापन र मार्ग खोज्न आवश्यक रहेको औल्याएको छ।
मुस्ताङको छुसाङकागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ,छैरो,मार्फा,टुकुचे,कोवाङ, लेते , सौरु, खन्ती, सिर्खुम, लेते,घाँसा र पैरोथाप्लासम्मका तटीय बस्ती कालिगण्डकी कटानको जोखिम परेको सरोकारवालाहरूले बताएका छन्।
मुस्ताङको छुसाङदेखि थासाङको पैरोथाप्लासम्मको कालिगण्डकी तटीय क्षेत्रमा बर्सेनि नदीजन्य पदार्थ,ढुङ्गा, गिट्टी, बालुवा र गेग्रानहरू थुप्रिदै जाँदा तटीय बस्तीको लेवलमा कालिगण्डकीको माथि उठ्न थालेका उनीहरूले बताए।
बस्तीकै लेवलमा कालिगण्डकीको सतह माथि उठ्दै जाँदा कालिगण्डकी नदीका करिब एक दर्जन बढी भविष्यमा डुवानमा पर्ने अवस्था रहेको विपद् व्यवस्थापन समितिको बैठकमा उल्लेख गरिएको छ।