ढल्केवर आइपुग्यो दोभानको पानी

ढल्केवर आइपुग्यो दोभानको पानी
नयाँ पाइपलाइन विस्तारमा श्रमदानमा खटएका युवाहरू। तस्बिर : विजय कुमार सिंह
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–७ स्थित औरही खोलाको दोभान क्षेत्रको मुहानबाट ढल्केवरमा पानी ल्याइएको छ। 

ढल्केवरमा खानेपानीको अभाव भइरहेको बेला स्थानीय युवाहरूको सक्रियतामा ट्रायलका रूपमा करिब सात किलोमिटर दूरीमा रहेको दोभानबाट पानी ल्याइएको हो।

यसअघि पाइपलाइन रहेको झण्डै चार किलोमिटर मर्मत सम्भार गरेर र करिब तीन किलोमिटर नयाँ पाइप लाइन गरेर पानी ल्याइएको बताइएको छ।

नवगठित ढल्केवर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले स्थानीय युवाहरूको सहयोगमा चुरेमा अवस्थित दोभानबाट पानी ल्याउन सफल भएका हुन्। बिहीबार राति १० बजेर १० मिनेटमा दोभानको पानी ढल्केवर खानेपानीमा झरेको हो।

स्थानीय सचेत युवाहरूको श्रमदानबाट एउटा ट्रायलका रूपमा २ इन्च पाइपको माध्यमबाट पानी ल्याउन सफल भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण बास्तोलाले बताए। उनले दोभानबाट ल्याइएको पानीले ढल्केवरमा खानेपानी वितरणमा केही सहज हुने उल्लेख गरे।

अहिले झरेको पानीले आफूहरूलाई हिम्मत बढाएको समितिका कोषाध्यक्ष सुनीलकुमार सिंहले बताए। युवाहरूको झण्डै सात दिनको अथक मिहिनेत र श्रमदान सफल भएको भन्दै उनले खुशी व्यक्त गरे। ‘यो एउटा ट्रायलका रूपमा हामीले लिएका छौं। अब एउटा ठोस योजना बनाएर हामी अघि बढ्छौं,’ कोषाध्यक्ष सिंहले भने।

दोभानको पानी झरेसँगै ढल्केवरवासीले वर्षौदेखि बोकेको खानेपानीको सपना साकार हुने विश्वास बढेको खानेपानी ल्याउने अभियानमा सक्रिय भूमिका खेलेका युवा अगुवा सर्वनाथ महतोले बताए। ‘यो धेरै दिनदेखिको सपना थियो। अहिले समितिको अगुवाइमा हामी युवाहरूले तत्काल एउटा परीक्षणका रूपमा यो पानी झारेका हौं,’ उनले भने ‘यो ट्रायलमा हामी सफल भएका छौं। ढल्केवरवासीको लागि यो खुशीको विषय हो।’

दोभानको पानी युवाहरूले चाहे जुनसुकै अभियान सफल हुने एउटा उदाहरण भएको मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष कुमार महतोले बताए। ‘यो अभियानमा युवाहरूको साथ र भूमिका अद्भुत छ,’ अध्यक्ष महतोले भने ‘समाजको विकासप्रति अग्रमत राख्ने पक्षधरलाई सदैव हाम्रो साथ र सहयोग रहन्छ।’

विभिन्न बाधा अवरोधका बाबजुद चुरेबाट पानी झार्न खानेपानी समिति र युवा टिमले देखाएको आँट र हिम्मत अविस्मरणीय रहेको मिथिला नगरपालिकाका कार्यपालिका सदस्य विशेश्वर साहले बताए। 

खानेपानी ल्याउन प्रत्यक्ष रुपमा सहयोगी भूमिका निर्वाह गरेका उनले पानीको दीर्घकालीन समस्याका लागि कार्यपालिकामा आवाज उठाउने बताए। ‘अहिले डेढ इन्च पानी आउन सुरु गरेको छ। विस्तारै पाइपको एयर हट्दै गएपछि पुरै दुई इन्च पानी आउँछ,’ उनले भने ‘यो पानीले केही हदसम्म खानेपानी वितरणमा सहज हुने विश्वास लिएका छौं।’ 

यो परीक्षण सफल भएसँगै अब ५ इन्च बढी पानी ल्याउने योजनाका साथ सशक्त रुपले अघि बढ्ने उनले उल्लेख गरे। ढल्केवरमा खानेपानीको समस्या समाधानका लागि दीर्घकालीन उपाय मध्येको एक हो, चुरेको पानी। 

खोलाको मुहान संरक्षण गरेर पानी ल्याउने यहाँका बासिन्दाको वर्षौदेखिको सपना छ। भित्री चुरेमा खोलाको मुहानबाट पानी ल्याए खानेपानीको समस्या समाधान हुने विश्वास यहाँका बासिन्दामा रहँदै आएको छ। सोही सपनालाई साकार पार्न गरिएको ट्रायल सफल भएको युवा रुद्र घिमिरेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.