छन्दशास्त्रमा भानुका हस्तलिखित सामग्री

भानू जयन्ती विशेष

छन्दशास्त्रमा भानुका हस्तलिखित सामग्री

आदिकवि भानुभक्त आचार्यका प्राप्त लिखतमध्ये भानुकृत रामायण, वधूशिक्षा (खेस्रा) र चिठीपत्र भेटिन्छन्। रामायणसहित अन्य कविता विभिन्न छन्दमा लेखिएका छन्। अहिले पनि भानुभक्त आचार्यका हस्तलिखित साफी रामायण र वधूशिक्षाको खेस्रा भेटिन्छन्।

हस्ताक्षर तथा औंठाछाप विशेषज्ञ पद्मराज काफ्लेले २०६२ सालमा प्रकाशित वर्ष ३२ अंक १ पूर्णांक ७ को ‘भानु दर्शन’ पत्रिकाको पृष्ठ २८ मा बालकाण्डका पृष्ठ ९ का श्लोक र १३४ देखि १३६ सम्मका श्लोक र युद्धकाण्डका सुरुदेखि ७० सम्मका कविताबाहेक वधूशिक्षासहितका श्लोक आदिकवि भानुभक्त आचार्यकै हस्ताक्षर हुन् भन्ने प्रमाणित गरेका छन्। संक्षिप्ततः भानु हस्तलिखित कृतिभित्र भानुभक्त छन्दशास्त्रको अनुयायी हुन् कि होइन् भन्नेतर्फ लेखलाई केन्द्रित छ।

संस्कृतमा छन्दशास्त्रअनुसार श्लोक रचना पद्यमा गरिन्छ। श्लोक कि वार्णिक छन्दमा कि मात्राछन्दमा हुन्छ। छन्दका चार चरण हुन्छन्। वार्णिक छन्दमा प्रत्येक चरणका वर्णको संख्या र स्थितिले निर्धारित हुन्छ भने मात्राछन्द पनि प्रत्येक चरणका मात्राको गन्तीले निर्धारित हुन्छ। भानुभक्त वार्णिक छन्दका कवि हुन्। भानुभक्त छन्दमा श्लोकलाई काव्यात्मक सौन्दर्यले अभिव्यक्ति दिने प्रथम कवि हुन्। उनी संस्कृतका महाकाव्य, काव्य र स्तोत्र कण्ठ गरेर विभिन्न छन्द र लयमा प्रशिक्षित व्यक्ति हुन्। उनले आफ्ना श्लोकमा परिमार्जित छन्दको प्रयोग गरेका छन्। तर संस्कृतमा जस्तो व्यवस्थित व्याकरण नभएकाले नेपालीमा श्लोक लेख्दा भानुभक्तलाई शब्दको ह्रस्वदीर्घ मिलाएर कविता लेख्नुपर्ने अवस्था थिएन।

भानुकृत रामायणभित्र छन्दशास्त्रमा उल्लेख गरिएकामध्ये इन्द्रवज्रा, उपजाति, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, शिखरिणी, शार्दूलविव्रmीडित, स्रग्धरा र स्वागताजस्ता नौ छन्द पाइन्छन्। हस्तलिखित रूपमा नपाइने फुटकर श्लोक, भक्तमाला र प्रश्नोत्तर मालाका श्लोक छन्दमा छन्। छन्दका निर्धारित गण र वर्ण संख्या हुन्छन्। सोअनुसार ह्रस्वदीर्घमा भानुभक्त न त छन्दशास्त्रको पूरै अनुसरण गर्छन्, न त बहिष्कार। यिनी अनुसरण र बहिष्कारको दोसाँधमा छन्। छन्दशास्त्रका नियमको पालनातर्फ यिनको बढी झुकाउ त देखिन्छ तर बहिष्कारतिर पनि यिनको कम झुकाउ छैन।

भानुकृत रामायणलाई प्रकाशनमा ल्याउँदा सम्पादक वा प्रकाशकले छन्दशास्त्रीय मान्यताअनुसार ह्रस्वदीर्घ मिलाएका छन्। १९४१ सालमा प्रथम प्रकाशित बालकाण्डमा मोतीरामले भानुभक्त आचार्यका ह्रस्वदीर्घसम्बन्धी छन्दशास्त्रीय कसरमसर हटाएका छन्। उत्तरवर्ती प्रकाशनहरूले भानुभक्तलाई छन्दशास्त्रअनुसार श्लोक लेख्ने खाँटी पण्डित बनाएका छन्। तसर्थ प्रकाशित भानुकृत रामायण हेरेर भानुभक्तले छन्दमा देखाएको ह्रस्वदीर्घसम्बन्धी मान्यता स्पष्ट हुँदैन। यस लेखमा छन्दहरूमध्ये एउटा छन्दको उदाहरण दिएर भानुभक्तको हस्वदीर्घसम्बन्धी दृष्टिकोण के हो ? भन्ने प्रश्नको सांकेतिक र सोदाहरण उत्तर खोजिएको छ।

हस्तलिखित रामायणका संस्कृत तत्सम शब्दलाई छन्दले मागेअनुसार ह्रस्व वा दीर्घ दुवै लेख्न सकिने भानुभक्तको मान्यता देखिन्छ। यो मान्यता तद्भव र आगन्तुक शब्दमा पनि लागू छ। त्यस कारण छन्दले ह्रस्व वर्ण मागेको ठाउँमा उनले तत्सम शब्दको दीर्घ वर्णलाई ह्रस्व बनाएका छन् भने दीर्घ मागेको ठाउँमा ह्रस्व वर्णलाई दीर्घ पनि बनाएका छन्। यस्तो स्थिति सबै छन्दमा देख्न सकिन्छ। छन्दले मागे पनि कतिपय श्लोकमा उनले ह्रस्वदीर्घलाई वास्ता गरेका छैनन्। बेवास्ताले छन्दशास्त्रको ह्रस्वदीर्घसम्बन्धी मान्यताको बहिष्कार पनि देखाउँछ। यसलाई भानुभक्तको हस्तलिखित एउटा शार्दूलविक्रीडित छन्दको उतारबाट सोदाहरण प्रस्ट पार्न सकिन्छ, जस्तै :
एक् दीन् नारद सत्य लोक् पुगिगया लोक्को गर हीत् भनी।
ब्रह्मा ताहिँ थिया पर्‍या चरणमा षूसी बनाया पनी।।१।। 
क्या सोध्छौ तिमि सोध भन्छु म भनि मर्जी भएथ्यो जसै। 
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ति गर्‍या यो तसै।।२।। 
कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ। 
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैँ तहाँ।।३।।

यी पंक्तिमा भानुभक्त आचार्यले दिन, हित, पशुजस्ता ह्रस्व हुने तत्सम शब्द दीर्घ लेखेका छन्। छन्दको गणअनुसार दीर्घ चाहिने भएकाले दीन्, हीत्, पशू आदि दीर्घ लेखिएको हो। छन्दशास्त्रले दिन्, हित् जस्ता हलन्त हुने शब्दकोे अघिल्लो वर्णलाई दीर्घ मान्छ। यो नियमलाई भानुभक्तले पालना गरेका छैनन्, बरु छन्दको गणअनुसार दीर्घ वर्ण चाहिने र दीर्घ नै लेख्दा फरक नपर्ने हुँदा दीन्, हीत्लाई दीर्घ लेखेका छन्। यहाँ ह्रस्व लेखिनु पर्ने तत्सम वर्ण दीर्घ लेखिएका छन्।

त्यस्तै छन्दशास्त्रअनुसार दीर्घ चाहिने बिन्ती शब्द ह्रस्व छ भने तत्सम शब्दमा ह्रस्व लेखिने पशुको उकारलाई छन्दको नियमअनुसार पशू अर्थात् दीर्घ शू लेखिएको छ। दीर्घ लेख्नुपर्ने परस्त्री शब्दमा पनि छन्दको गणअनुसार ह्रस्व आवश्यक पर्ने हुँदा परस्त्रि लेखेको पाइन्छ। पंक्तिको अन्त्यमा दीर्घ लेख्नुपर्ने नियम भएका छन्दमा पनि छन्दशास्त्रका नियमले ह्रस्व समेत लेख्न सकिने वैकल्पिक व्यवस्था गरेको छ। रामायणभित्रका कवितामा कविले छन्दको अवाश्यकताअनुसार कतै सीता र सिता, कतै ऋषि र ऋषी आदि लेखेका छन् भने कतै छन्दका गणको बेवास्ता गर्दैै तत्सम शब्दलाई जस्ताको तस्तै प्रयोग गरेका छन्। तत्सम शब्दमा मात्र होइन, तद्भव र आगन्तुक शब्दलाई पनि
 छन्दको आवश्यकताअनुसार ह्रस्व वा दीर्घ पनि लेखेको देखिन्छ।

वर्णविन्यासका दृष्टिले आदिकवि भानुभक्त आचार्यले नेपाली श्लोकलाई पूर्णतः छन्दशास्त्रका नियममा बाँध्न चाहेको देखिँदैन। कवितामा प्रयोग हुने तत्सम शब्द पनि छन्दशास्त्रको नियमअनुसार ह्रस्वदीर्घ दुबै लेखेको र कतै नियमलाई बेवास्ता गरेकाले छन्दशास्त्रको नियममा श्लोक कठोरतासँग बाँधिएको देखिन्न। रामायणमा मात्र होइन, फुटकर कवितामा छन्दशास्त्रीय कठोरता छैन। जस्तै ‘म भानुभक्त धनि भैकन आज यस्तो’ र ‘जागिर् छैन धनी म छैन घरको ‘खान्थें कोदालो खनी’ जस्ता पङ्क्तिमा दीर्घ चाहिने ठाउँमा ह्रस्व म र ह्रस्व चाहिने ठाउँमा कोदालो लेखेर दीर्घ प्रयोग गरेका छन्।

सम्पादकहरूले छन्दशास्त्रको आड लागेर मलाई मैं, वा मो गराएका छन् भने कोदालोलाई कुदालो पनि बनाएका छन्। छन्दशास्त्रअनुसार भन्ने हो भने भानुभक्त आचार्यले म भानुभक्त र खान्थें कोदालो खनी लेखेर नेपाली भाषामा अकार दीर्घ र ओकार ह्रस्व पनि छ भन्ने संकेत गरेका छन्। हुन पनि कथ्य नेपालीमा अ दीर्घ, ह्रस्व र अतिह्रस्व र ए, ओ ह्रस्व र दीर्घ उच्चारण पाइन्छ। संस्कृत भाषामा अ ह्रस्व र ए, ओ दीर्घ नै हनुपर्ने नियमबाट भानुभक्त आचार्यले नेपाली श्लोकलाई मुक्त गर्न खोजेका छन्। हस्तलिखित रामायणभित्र यस्ता धेरै उदाहरण पाइन्छन्। 

छन्दशास्त्र संस्कृत भाषामा कविता लेख्न बनाइएको थियो, न कि नेपाली भाषामा कविता लेख्न। त्यसकारण यिनले कविताहरूलाई कतै छन्दशास्त्रले बाँध्दै र कतै नेपाली विशेषतालाई अँगाल्दै श्लोक लेखेका छन्। कवि हरेक छन्दको लय र शब्द संख्यामा छन्दशास्त्रकै अनुसरण गरी श्लोकलाई बन्धनभित्र राख्छन्। तर ह्रस्वदीर्घका बारेमा उनी लचिला छन्, नेपाली कथ्य निकट रहेर श्लोक लेख्छन्। नेपालीमा इकार उकारको स्वाभाविक उच्चारण ह्रस्व मानिएको छ। नेपाली कोश र व्याकरणले वर्ण विन्यासका नियम पनि लगभग स्थापित गरेका छन्। यो नियमअनुसार इकार–उकारका ह्रस्वदीर्घलाई यथावत् राखी छन्दमा श्लोक लेख्न सकिन्छ।

अचेल आदिकवि भानुभक्तले झैं दोसाँधमा बसेर छन्दमा कविता लेख्नुपर्ने स्थिति छैन। छन्दशास्त्रको अन्धानुकरण गरी श्लोक लेख्दा नेपाली भाषिक विशेषता प्रकट हुँदैनन् भने छन्दको गण मिलाउन इकार उकारको बेथितिको प्रयोगले वर्ण विन्यासका नियम पालन हुन सक्दैन। यसर्थ नेपाली विशेषतायुक्त पद्य लेख्न छन्दशास्त्रले देखाएको वर्णसंख्या र लय समातेर भानुभक्तले झैं पद्य वा श्लोक लेख्न सकिन्छ। संस्कृत पद्यलाई छन्दशास्त्रको बन्धनमा बाँधे जस्तै कथ्य नेपालीका विशेषता अलग गरी नेपाली पद्यलाई पनि छन्दशास्त्रीय बन्धनले बाँध्नु भानुभक्तप्रति न्याय गरेको ठहरिँदैन।

संस्कृत भाषामा अ ह्रस्व र ए, ओ दीर्घ नै हनुपर्ने नियमबाट भानुभक्त आचार्यले नेपाली श्लोकलाई मुक्त गर्न खोजेका छन्। हस्तलिखित रामायणभित्र यस्ता धेरै उदाहरण पाइन्छन्।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.