म्याग्दीको रुप्सेमा बेलिब्रिज स्थानान्तरण अन्तिम चरणमा
जोमसोम : राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण-३ रुप्सेमा बेलिब्रिज स्थानान्तरण अन्तिम चरण पुगेको छ।
गत फागुन ८ गते रुप्सेमा बेलिब्रिजसहित करिब २५० मिटर सडक स्तरोन्नति गर्न सडक विभागले मुक्तिनाथ निर्माण सेवासँग ३ करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौता भएसँगै कन्ट्रक्सनले ४ महिनाको अवधिमा बेलिब्रिज पुल स्थानान्तरण सम्पन्न गर्न लागेको हो।
राष्ट्रिय गौरवको सडक अन्तर्गत म्याग्दीको पोखरा बगरमा सञ्चालनमा रहेको ४८ मिटर लामो बेलिब्रिज त्यहाँ पक्की पुल बनेसँगै फाल्टु बनेको थियो। त्यही बेलिब्रिज पुललाई उप्काएर रुप्सेमा जडान गरिएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।सडक विभागको सम्झौता अनुसार बेलिब्रिजका लागि बेनीतर्फको क्षेत्रमा १० मिटर र जोमसोमतर्फको क्षेत्रमा ५ मिटरको ग्याविक वाल र आरसीसी वाल स्टक्चर निर्माण गरी बेलिब्रिज जडान गरिएको उनले जनाए। ‘बेलिब्रिज फिटिङ अन्तिम चरणमा छ,एप्रोज रोड र फिनिसिङका काम बाँकी छन्,’आयोजना प्रमुख प्रजापतिले भने,‘ अब दुई दिनभित्र बेलिब्रिज जडान सकिन्छ, सवारी आउजाउ गर्न योग्य हुन्छ।’
म्याग्दी रुप्सेमा सडक तथा बेलिब्रिज स्थानान्तरणका लागि निर्माण कन्ट्रक्सनले १ वर्षको सम्झौता गरेको हो। रुप्से सडकको काम तोकिएको अवधिमा स्तरोन्नति सकिने आयोजना प्रमुख प्रजापतिले बताए। आयोजनाले ३ वर्षअघि रुप्सेको सोही स्थानमा पक्की पुल निर्माणको योजना अघि बढाएको थियो।
तर, त्यहा निर्माणाधीन अवस्थामा रहेको पक्की पुलमा बर्खायामको बाढीले क्षति तुल्याएपछि सडक सास्ती बनेको थियो। रुप्सेमा पुल नहुँदा म्याग्दीबाट मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई बर्खायाममा निकै सास्ती हुने गरेको थियो। कमजोर भुवनोटका कारण म्याग्दीको मुख्य राजमार्ग सडकको संरचनामा क्षति हुने गर्छ।
बेनी-जोमसोम सडकको सबैभन्दा बढी सडक क्षति हुने स्थान रुप्सेमा पुल नहुँदा सडक आवागमनमा कठिनाइ हुने गरेकोमा अब केही दिन सो स्थानमा सवारी आवागमन सहज हुने सडक सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। उनले बेलिब्रिज स्थानान्तरण कार्य द्रुत गतिमा भइरहेकाले २/३ दिनमा पुल सम्पन्न हुने दावी गरे।