साउन १ बाट हवाइभाडामा भ्याट, हवाइयात्रा महंगिने
काठमाडौं : मूल्य अभिवृद्धि कर(भ्याट) लाग्दा हवाइभाडादर करिब ६ प्रतिशतले महंगो हुने भएको छ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत् हवाइभाडामा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो। साउन १ गतेबाट लागु हुने गरी हवाइभाडामा भ्याट लगाइने वायुसेवा सञ्चालक संघले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
हाल आन्तरिकतर्फ नियमित उडान गर्दै आएका वायुसेवा कम्पनीहरूले फ्युल सरचार्ज, विमानस्थल सेवा शुल्क र हवाई भाडा दरलाई गाभेर शुल्क लिँदै आएका छन्।
अब हवाइभाडादरमा १३ प्रतिशत भ्याट पनि जोडिने भएको छ। १३ प्रतिशत भ्याट जोडिँदै हवाइभाडा सरदरमा ६ प्रतिशतले महंगो हुने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
अहिले बुद्ध, यती, सौर्य, श्री, गुण, तारा, सीता, समिट लगायत वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन्। बाह्य उडानको हकमा पनि हवाइभाडामा १३ प्रतिशत भ्याट जोडिने छ।