न्यारोबडी ग्राउन्डेड, एउटाको इन्जिन फेर्नुपर्ने
काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दुवै न्यारोबडी–३२० ग्राउन्डेड छन्। इन्जिनका कारण न्यारोबडी नाइन नोभेम्बर–अल्फा किलो स्की (सगरमाथा) र नाइन नोभेम्बर–अल्फा किलो एक्सरे (लुम्बिनी) ग्राउन्डेड भएका हुन्।
सगरमाथा नामको न्यारोबडीको इन्जिन मर्मत भइरहेको छ भने लुम्बिनीको इन्जिन नै फेर्नुपर्ने कारणले ग्राउन्डेड भएको निगम स्रोतले बताएको छ। दुवै न्यारोबडी ग्राउन्डेडपछि दिल्ली, बैंगलोर, मुम्बई, जापान, दोहा, दुबई, साउदी अरब, बैंकक, हङकङ तथा मलेसिया उडान प्रभावित भएका छन्।
‘गत हप्ताबाट ग्राउन्डेड भएको न्यारोबडी सगरमाथाको यहाँ नै मर्मत भइरहेको छ। आज/भोलिसम्ममा उडानका लागि योग्य हुन्छ। अर्को न्यारोबडी लुम्बिनीको भने इन्जिन नै फेर्नुपर्ने भएकोले केही समय लाग्छ,’ निगम स्रोत बताउँछ। एउटा न्यारोबडी बन्नेबित्तिकै उडान तालिका नबिग्रने भनाइ निगमको छ। यात्रुहरूलाई टिकट सार्न अनुरोध गरिएको छ भने अर्जेन्ट यात्रा गर्नुपर्नेको हकमा वाइडबडीबाट उडान गरिएको र कुनै पनि उडान रद्द नगरिएको बताइएको छ।
न्यारोबडी सगरमाथामा नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि ग्राउन्डेड भएको हो। यो जहाज गत जेठ २७ गते दुबई विमानस्थलमा चरा ठोक्किएपछि पनि ग्राउन्डेड भएको थियो। चरा ठोक्किएकै इन्जिनमा असार १४ गते फेरि समस्या देखिएपछि भारतमा लगेर मर्मत गरिएको थियो। उक्त विमानमा पुनः समस्या देखिएपछि भारतबाट नै प्राविधिज्ञ ल्याएर मर्मत भइरहेको निगमले बताएको छ। गत वर्ष पनि इन्जिनमा समस्या देखिएपछि यो विमान दोहामा तीन महिनासम्म थन्किएको थियो। भाडामा इन्जिन लगाएर उडाइएको थियो।
- ‘न्यारोबडी सगरमाथा नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि ग्राउन्डेड भएको हो।’
- ‘अर्को न्यारोबडी लुम्बिनीको भने इन्जिन नै फेर्नुपर्ने भएको छ।’
अर्को, न्यारोबडी लुम्बिनी भने उडान साइकल अभावका कारण ग्राउन्डेड भएको हो। इन्जिन फेर्नुपर्ने ठाउँसम्म जानका लागि पनि उडान साइकल अवधि चाहिने भएकाले अहिले ग्राउन्डेड गरिएको हो। जहाज एकपटक उड्ने र अवतरण गर्नेलाई एक साइकल भनिन्छ। उक्त विमानको चार साइकल उडान मात्रै बाँकी छ।
जहाजको अन्तिम पटक इन्जिनको जाँच गर्दा १० साइकल बाँकी रहेको थियो। एउटा इन्जिनको अवधि करिब १७ हजार साइकल हुने बताइन्छ। इन्जिन धेरै महँगो पर्ने भएकोले जगेडामा नराखिएको निगमको भनाइ छ। ‘५०–६० करोड रुपैयाँ पर्ने इन्जिन जगेडामा राख्न सकिँदैन र अन्य मुलुकमा पनि राख्ने गरिएको छैन,’ स्रोतको भनाइ छ। सरकारी सार्वजनिक खरिदअनुसार जानुपर्ने भएकोले केही समय लाग्ने बताइन्छ। इन्जिनमात्रै फेर्न दुई दिन मात्रै लाग्ने भए पनि खरिद प्रक्रियामा जाँदा समय बढी लाग्ने बताइएको छ।
इन्जिन खरिदका लागि जहाज मर्मत गर्ने कम्पनीहरू (एमआरओ)सँग कोटेसन माग्ने प्रक्रिया अघि बढेको जानकारी दिइएको छ। निगमले अहिले न्यारोबडी–३२० र वाइडबडी–३३० दुई वटाबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। आन्तरिकतर्फ भने दुई जहाज सञ्चालित छन्।