लोमान्थाङ-कोरला जोड्ने ४ पुलको काम धमाधम
जोमसोम : राष्ट्रिय गौरवको उत्तरी कोरला सडकखण्ड अन्तर्गत लोमान्थाङ-कोरलानाका जोड्ने चारवटा मोटरेबल पुलको काम द्रुत गतिमा अघि बढेको छ।
करिडोर अन्तर्गत जोमसोम-कोरलाखण्डको लोमान्थाङदेखि कोरला जोड्ने पुलको कामले गति लिएको (बेनी-जोमसोम-कोरला)सडक आयोजनाले जनाएको छ।
कोरला सडकअन्तर्गत लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलामा चारवटा पुल निर्माणाधीन अवस्थामा छन्। २०७६ साल असार ३१ गते सम्झौता भएको लोमान्थाङ-कोरला सडकको ठेक्का एउटै समयमा एकै निर्माण कम्पनीलाई परेको थियो।
सम्झौता अवधि २०८० असोज ३० गतेसम्म रहेको यी ४ वटा पुल निर्माण गर्न आयोजनाले मुक्तिनाथ अमित जेभीसँग ठेक्का सम्झौता भएको थियो।
सम्झौता अवधि ३ महिना बाँकी रहँदा अन्य योजनाको तुलनामा चार पुलको भौतिक प्रगति सन्तोषजनक रहेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।
कोरला जोड्ने लोमान्थाङ पुलको सम्झौता रकम ४ करोड ६८ लाख छ। २० मिटरको एक स्पान रहेको लोमान्थाङ खोला पुलको लम्बाइ २० मिटरको हो। निर्माणको अन्तिम चरणमा रहेको लोमान्थाङ खोला पुलको भौतिक ८९ प्रतिशत छ।
लोमान्थाङदेखि कोरला जोड्ने किम्लिङ खोला पुलको सम्झौता लागत ६ करोड ३० लाख छ। २५ मिटरको २ स्पान रहेको किम्लिङ खोला पुलको लम्बाई ५० मिटरको छ। पुलको भौतिक प्रगति ५३ प्रतिशत छ।
लोमान्थाङदेखि उत्तर कोरला जोड्ने नाम्डोक पुलको सम्झौता लागत ६ करोड ३७ लाख छ। २५ मिटरको २ स्पानको पुलको लम्बाइ ५० मिटल लामो हुनेछ। पुलको पछिल्लो भौतिक प्रगति ५५ प्रतिशत छ।
यस्तै, कोरला जोड्ने भर्मा खोला पुलको सम्झौता लागत ६ करोड ८५ लाख छ। ४० मिटरको २ स्पान पुलको लम्बाइ ४० मिटरको हुनेछ। पुलको भौतिक प्रगति ६० प्रतिशत रहेको छ।
लोमान्थाङसहितको उत्तरतर्फका चारवटा पुलको काम अहिले जनशक्ति, उपकरण र निर्माण सामग्री परिचालन भएकाले चाँडै पुलको सम्पन्न हुने आयोजना प्रमुख प्रजापतिको भनाइ छ।