धरानबाट मोटरसाइकल चोरेर भारत लैजाँदै गर्दा मोरङमा पक्राउ
विराटनगर : सुनसरीको धरानबाट मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाँदै गर्दा मोटरसाइकलसहित बुधबार बिहान मोरङमा एक जना पक्राउ परेका छन् । कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–२ टंकी चोकबाट प्रहरीले मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–८ का २१ वर्षीय सुमन विक रहेका छन् । लोकमार्गमा चेकजाँचका लागि खटिएको इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक (सइ) उज्वल शाक्य नेतृत्वको टोलीले चोरी गरेको मोटरसाइकलसहित बिहान १० बजेतिर उनलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ८६ प ६०८ नम्बरको २ सय सीसीको एनएस मोटरसाइकल शंका लागेपछि चेकजाँचका लागि प्रहरीले रोकेको थियो । मोटसाइकल चालक विकको साथमा ब्लुबुक फेला परेन । नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनले मोटरसाइकल चोरी गरेको पत्ता लागेको दाहालले बताए ।
उनका अनुसार धरानबाट चोरी गरेको मोटरसाइकल भारत लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो । धरान–७ का सुजन राईले घरमै पार्किङ गरेर राखेको मोटरसाइकल बिहान २:३० बजेतिर चोरी भएको थियो । पक्राउ परेका विकको साथबाट प्रहरीले आई फोन सेभेन मोबाइल पनि बरामद गरेको छ ।
उक्त मोबाइल मोटरसाइकल धनी राईकै रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । राईको घरबाटै चोरी गरेको मोटरसाइकल र मोबाइल बिक्रीका लागि भारततर्फ लिएर जाँदै गर्दा विक प्रहरीको फन्दामा परेका हुन् ।
पक्राउ परेका विकलाई साथबाट बरामद भएको मोटरसाइकल र मोबाइलसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको डीएसपी दाहालले बताए ।