काठमाडौं–रक्सौल रेल लागत ४ खर्ब

काठमाडौं–रक्सौल रेल लागत ४ खर्ब
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौंबाट सीधा रक्सौल जोड्ने विद्युतीय ब्रोडगेज रेलको फाइनल लोकेसन सर्भेको प्रतिवेदन भारतले नेपाल सरकारलाई बुझायो।

 काठमाडौं : काठमाडौं–रक्सौल विद्युतीय रेलको निर्माण लागत करिब ४ खर्ब लाग्ने अध्ययनले देखाएको छ। भारतले तयार गरेको फाइनल लोकेसन सर्भे (एफएलएस) को प्रतिवेदनले उक्त रेलको लागत ४ खर्ब रुपैयाँ देखाएको हो। भारतले काठमाडौंबाट सीधा रक्सौल जोड्ने गरी विद्युतीय ब्रोडगेज रेलको फाइनल लोकेसन सर्भेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। 

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सर्भे सम्पन्न भएको हो। २०७८ सालको असोजमा १८ महिनाभित्र सकाउने गरी नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको थियो। यसअघि भारतको आर्थिक सहयोगमै सन् २०१९ मा रेलमार्गको ‘प्रिलिमिनरी इन्जिनियरिङ कम ट्राफिक’ (पीईटी) सर्वेक्षण सम्पन्न गरी नेपाललाई बुझाएको थियो। उक्त प्रतिवेदनले रेलमार्गको लागत करिब साढे २ खर्ब रुपैयाँको अनुमान गरेको थियो।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसियल)ले नै रेलमार्गको पीईटी र एफएलएस अध्ययन गरेको हो। भारतको विदेश मन्त्रालयले केआरसियलमार्फत रेलमार्गको अध्ययन गराएर प्रतिवेदन नेपाललाई बुझाएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकार बताउँछन्।

पहिलाको पीईटी सर्भेले काठमाडौंदेखि रक्सौलको कुल लम्बाइ १ सय ३६ किलोमिटर हुने ठहर गरेकोमा एफएलएसले भने १ सय ४० किलोमिटर लम्बाइ हुने देखाएको उनी बताउँछन्। ‘निजगढ विमानस्थल बनाउने सरकारको निर्णयपछि विमानस्थलको मध्य वा छेउबाट रेल जान मिलेन। त्यसलाई अलिकति डिटुर गर्दा १ सय ४० किलोमिटरको हाराहारीमा आउने देखिन्छ,’ प्रवक्ता चित्रकारले भने। काठमाडौंदेखि रक्सौलको बीचमा १३ स्टेसन हुने पनि अध्ययनले देखाएको छ। रक्सौलबाट आउने क्रममा रेल बारा, पर्सा, मकवानपुर हुँदै काठमाडौंको चोभारमा अन्तिम स्टेसन हुनेछ।

तराई हुँदै पहाडमा पनि रेल कुदाउनुपर्ने भएकाले टनेल र पुलहरू धेरै बनाउनुपर्ने अध्ययनले देखाएको छ। रेलमार्गको कुल लम्बाइमा करिब ४१ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययनमा उल्लेख छ। ब्रोडगेज रेल भएकोले अधिकतम गति १ सय २० किलोमिटर प्रतिघण्टा हुने बताइएको छ। भारतीय पक्षबाट प्रतिवेदन हस्तान्तरण भइसकेको हुँदा अब सरकारले यसमा परामर्श लिने काम सरकारले गर्नेछ। निर्माणको चरणमा जानका लागि लगानीको मोडालिटी के हुने सम्बन्धमा दुई देशबीच छलफल हुन सक्ने बताइएको छ। 

विश्वमा प्रचलित स्ट्यान्डर्ड गेजको रेल बनाउने नेपालको प्रस्ताव अस्वीकार गरेको भारतले काठमाडौं–रक्सौललाई ब्रोडगेजमा नै बनाउने अडान कसेको होे। भारत सरकारले आर्थिक तथा प्राविधिक सहयोगमा ब्रोडगेजको सम्भावना त देखायो तर रेल निर्माणपछि सञ्चालनमा कठिनाइ हुने विज्ञहरूले बताउँदै आएका छन्। नेपालले आफ्नै लगानी अध्ययन गरेको पूर्व–पश्चिम रेलमार्ग र चीनको केरुङबाट काठमाडौं जोड्ने रेल दुवै नै स्ट्यान्डर्ड गेजमा बनाउने भनिएको छ। अहिले स्ट्यान्डर्ड गेजलाई नवीनतम प्रविधि मानिन्छ भने भारतले नै पछिल्लो समयमा निर्माण गरेका नयाँ रेलमार्ग स्ट्यान्डर्ड गेजमा बनाइरहेको प्रवक्ता चित्रकारले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.