पोखराका ३ युवाले लिए मोरङबाट नागरिकता : लाहुरेको सन्तान बनेर बेलायत जान नक्कली बाबु खडा
विराटनगर : अवकाश प्राप्त (भूपू) बेलायती सैनिक मोरङको लेटाङ नगरपालिका-६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूका छोरा छैनन्।
ताप्लेजुङको साँघुबाट बसाइँ सरेर परिवारसहित लेटाङ आएका उनका सन्तान छोरी मात्रै छन्। ताप्लेजुङबाट २०३६ साल असोज २ गते १०३८/४० नम्बरको नागरिकता जारी भएपछि सूर्यहाङ ब्रिटिस लाहुरेमा भर्ती भए। भूतपूर्व ब्रिटिस गोर्खा सेना (आर्मी नम्बर २९१६३२८४) उनी लेटाङमै बस्थे।
सुनसरीको धरान उपमहानगरपालिका-११ का ६१ वर्षीय सूर्यबहादुर पयाङ्गु लिम्बू पनि बेलायतका अवकाश प्राप्त हुन्। तेह्रथुमको हात्तीसारदेखि धरान बसाइँ सरेका उनका नाममा तेह्रथुमबाट २०३६ साल असोज ३१ गते १०१४/७२२ नम्बरको नागरिकता जारी भएको देखिन्छ। सूर्यबहादुर पनि २०३६ सालमै ब्रिटिस गोर्खा सैनिकमा लागे।
सूर्यहाङभन्दा ३ महिनापछि सूर्यबहादुर (आर्मी नम्बर २११६३७९२) भर्ती भएका हुन्। बेलायती सेनामा रहँदा कोठामा सँगै बसेका दुवै जनाको पल्टन, कम्पनी र प्लाटुन एउटै थियो। धरानबाट पेन्सन थाप्दै आएका उनीहरूबीच बेलाबखत भेटघाट र फोन सम्पर्क भइरहन्थ्यो।
पेन्सन थाप्ने बेला प्रायः भेट हुने उनीहरूले स्वीकारेका छन्। सूर्यहाङको आर्मी नम्बरको अन्तिममा ८४ भएका कारण सूर्यबहादुर उनलाई चौरासी गुरुजी भनेर सम्बोधन गर्दा रहेछन्। सेवानिवृत्त भएपछि फुर्सदिला बनेका सूर्यहाङ २०७८ साल मंसिरको पहिलो साता सूर्यबहादुरसँग फोन सम्पर्क भएसँगै गैरकानुनी काममा संलग्न हुन पुगे। उनले हुँदै नभएका छोरा खडा गरेर पोखराका ३ जना युवालाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता दिलाए। त्यसवापत ५ लाख लिए। सर्त अनुसार ३० लाख पाउनै बाँकी थियो।
सूर्यहाङले नक्कली बाबु बनेर कास्कीको पोखरा उपमहानगरपालिका-१६ का २९ वर्षीय गणेश गुरुङ, पोखरा-१० का २१ वर्षीय रविन गुरुङ र पोखरा-१२ का १९ वर्षीय प्रशान्त मगरलाई मोरङबाट नागरिकता बनाइदिएको अनुसन्धानबाट खुलेको छ। गणेशलाई जेठो छोरो बनाएर सविन लिम्बू,रविनलाई माइलो बनाएर साजन लिम्बू र प्रशान्तलाई कान्छो बनाएर सुरज लिम्बूको नाममा उनले नागरिकता दिलाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
उनका अनुसार प्रशासनबाट सविनको नाममा ०५-०१-७८-१०७८२, साजनको ०५-०१-७८-१०७८३ र सुरजको नाममा ०५-०१-०७८-१०७८४ नम्बरको नागरिकता जारी भएको छ। नक्कली बाबु खडा गरेर एकै परिवारका दाजुभाइ बन्दै झुटो विवरण पेस गरेका उनीहरूले मोरङको बेलबारी नगरपालिका-११ ठेगाना राखेर एकैदिन अर्थात २०७८ माघ ४ गते नागरिकता लिएको रेकर्ड प्रशासनसँग छ।
डीएसपी दाहाल नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजात पोखरा-१० का अन्दाजी ८० वर्षीय टेकबहादुर गुरुङ र पोखरा-१६ का अन्दाजी २५ वर्षीय विवेक गौचन थकालीले तयार पारेको अनुसन्धानबाट खुलेको बताउँछन्। ‘सुरुमा टेकबहादुरमार्फत सूर्यबहादुरले सूर्यहाङसँग सम्पर्क गरेको देखिन्छ,’ उनले भने, ‘सूर्यबहादुरले पोखरेली युवाको नागरिकता बनाउन टेकबहादुर र सूर्यहाङको बीचमा पुलको काम गरेका रहेछन्।’
सूर्यबहादुरमार्फत नागरिकता लिने ३ जना र त्यसका लागि कागजपत्र तयार पार्ने विवेक र टेकबहादुरको भेट सूर्यहाङसँग भएको अनुसन्धानबाट खुलेको छ। नक्कली छोरा बनाएर बेलायत पठाउने आश्वासनसहित सरकारी छाप दस्तखत किर्ते गरी कागजातहरू तयार पारेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाई रकम असुली गरेको पाइएको डीएसपी दाहालको भनाइ छ। सन्तान छोरी मात्रै रहेकाले पनि अरुलाई छोरा बनाएर नागरिकताको सनाखत गरिदिन सूर्यहाङलाई सहज भएको प्रहरीको निष्कर्ष छ।
रकम खर्चिएर नागरिकता बनाए पनि युवाहरू बेलायत जान नपाएपछि मोरङ प्रशासनमा मौखिक उजुरी पर्यो। प्रशासनकै जाहेरीका आधारमा मोरङ प्रहरीले अनुसन्धान अघि बढायो। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली खटाएर यस घटनाको अनुसन्धान अघि बढाए। पोखरेलको निर्देशनमा सुरु भएको अनुसन्धानबाट पोखराका ३ जनालाई नक्कली बाबु खडा गरेर नागरिकता दिलाएको पुष्टि भयो। नागरिकता प्राप्त गर्नेहरू सूर्यहाङका छोरा नभएको खुल्यो।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) विकाश थपलिया नेतृत्वको टोलीले असार ५ गते सूर्यहाङलाई पक्राउ गर्यो। सूर्यबहादुर पनि धरानबाट पक्राउ परे।
नागरिकता लिने, दिलाउने तथा दिलाउन भूमिका खेल्ने ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको छ। प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै यस प्रकरणमा संलग्नविरुद्ध झुटो नागरिकता बनाएको कसूरमा मुद्दा दायर गरेको हो।
अभियुक्तमध्ये सूर्यहाङ र सूर्यबहादुर मात्रै पक्राउ परेका छन्। उनीहरूलाई न्यायाधीश प्रकाश कोइरालाको इजलासले गत सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। आदेशपछि दुवै जनालाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
किर्ते गरेर नागरिकता लिने गणेश, रविन र प्रशान्त तथा झुटा विवरण तयार पारेर उनीहरूलाई नागरिकता दिलाउन भूमिका खेल्ने टेकबहादुर र विवेक फरार छन्। अदालतबाट उनीहरूलाई पक्राउ गर्नका लागि ३५ दिने पूर्जी जारी भइसकेको बुढाथोकीले बताए। नागरिकता बनाउने युवासँग टेकबहादुर र विवेकले कति पैसा लिए भन्ने खुल्न बाँकी छ।
सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ बमोजिमसमेत कारबाही अघि बढाउनुपर्ने राय प्रहरीले दिएको छ। साथै, यस मुद्दामा अन्य व्यक्तिको समेत संलग्नता देखिएमा कानुन बमोजिम गर्नुपर्ने प्रहरीको राय छ।
नक्कली कागजात बनाएर नागरिकता
सूर्यहाङको २०६५ असार २५ गते बेलबारी-११ मा बसाइँ सराई भएको तथा नागरिकता प्राप्त गर्ने तीनै जनाको असार २६ गते ९५, ९६ र ९७ नम्बरमा जन्मदर्ता गरिएको कागजात तयार पारिएको थियो। प्रहरीले त्यससँग सम्बन्धित कागजात झिकाउँदा वडा कार्यालयले सूर्यहाङका नामबाट २०७८ पुस २९ गतेसम्म बेलबारी-११ मा कुनै राजस्व दाखिला नभएको र बसाइँ सराईको अभिलेखमा कुनै विवरण दर्ता नभएको पत्र पठायो।
नागरिकता प्राप्तिपछि २०७८ फागुन ३० गते बेलबारी-११ बाटै नाता प्रमाणित गरेको किर्ते कागजात पनि तयार पारिएको थियो। प्रहरीका अनुसार बसाइँ सराई, नाता प्रमाणित तथा जन्मदर्ता प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिकारीका रूपमा वडा सचिव बाबुराम ढुंगानाको हस्तक्षर, स्टाम्प छाप र कार्यालयको छाप प्रयोग गरेको देखान्थ्यो। तर, हस्ताक्षर, स्टाम्प छाप आफ्नो नभएको तथा कार्यालयको छाप नक्कली रहेको बयान उनले दिएका छन्।
बेलबारीमा सूर्यहाङको जग्गा जमिन र बसोबास नदेखिएको तथा सबै कागजात किर्ते रहेको वडाध्यक्ष विक्रम राईले बताए। नागरिकता दिलाउने तथा प्राप्त गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने पत्र उनले प्रहरीलाई पठाएका छन्।
तत्कालीन वडाध्यक्ष यमबहादुर पोखरेलले नागरिकताका लागि अनुसूची फारमलगायतका कागजात आफूले सिफारिस नगरेको बयान दिएका छन्। पोखरेलले बेलबारी-११ बाट सिफारिस गरेको भनिएको नेपाली नागरिकताको प्रमाणपत्र पाउँ भन्ने विषयको अनुसूची फारममा भएको वडाध्यक्षको हस्ताक्षर तथा वडाको छापसमेत नक्कली रहेको उल्लेख गरेका छन्।
अनुसन्धानबाट सरकारी कार्यालयको छाप, लेटर प्याड तथा जनप्रतिनिधि र कर्मचारीको छाप एवं दस्तखतसमेत किर्ते गरेर नक्कली कागजात तयार पार्दै पेस गरेर नागरिकता लिएको पत्ता लागेको छ। ‘सक्कली हुन्भन्ने भान पर्ने गरिको कागजात तयार पारेर झुटो विवरण पेस गर्दै नागरिकता लिएकाले कसूर स्थापित भयो,’ सरकारी वकिलको अभियोगपत्रमा भनिएको छ, ‘सरकारी छाप, दस्तखत किर्ते गरेर बनाइएको नागरिकता रद्ध गरिपाउँ।’ प्रतिवादीले नागरिकता लिँदाका बखत भरेको अनुसूची फारम परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। परीक्षण प्रतिवेदन प्राप्त भइसकेको छैन।
लाहुरेको सन्तान बनेर बेलायत जाने सपना
गोर्खा सैनिकको सुविधा बढाउँदै बेलायत सरकारले सन् २००८ देखि आवासीय भिसा दिने निर्णय गर्यो। भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र आश्रित परिवारलाई आवासीय भिसा दिन थालिएपछि लाहुरेहरू स्थायी रूपमै बसोबासका लागि बेलायत जाने क्रम बढ्यो। लाहुरेले पत्नीसहित सन्तानलाई पनि उतै लैजान थाले।
तर, छोराविहीन सूर्यहाङ अवकाशपछि पनि नेपालमै थिए। उनकै छोरा बनी बेलायत जाने सपना बोकेर पोखराका युवाले किर्ते नागरिकता लिएको प्रहरी अधिकारीको भनाइ छ। ‘लाहुरेको सन्तान भएपछि उता (बेलायत) सहज रूपमा जान पाइन्छ। गइसकेपछि उतैको बासिन्दा बनेर बस्न मिल्छ,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘बेलायतले नेपाली लाहुरे र उनीहरूसँग आश्रितलाई आवासीय भिसाको व्यवस्था गरेको छ। बेलायत जाने सपना पाल्दै पोखराका युवाले मोरङबाट नागरिकता बनाएको देखिन्छ।’
उनका अनुसार लाहुरेको सन्तान बनेर बेलायत जान ठूलो धनराशि खर्च गर्दै नक्कली बाबु खडा गरेर किर्ते नागरिकता बनाउन युवाहरू तयार भएको यकिन भएको छ। बेलायत पुर्याउने आश्वासन दिँदै पैसा असुलेर भूपू लाहुरेले नक्कली बाबु बनी उनीहरूलाई नागरिकता दिलाइदिएको प्रहरीको भनाइ छ।
नागरिकतामा प्रशासनको हेलचेक्राइँ
नागरिकताको प्रमाणपत्र वितरणजस्तो संवेदनशील विषयमा मोरङ प्रशासनले हेलचेक्राइँ गरिरहेको पाइएको छ। जन्मस्थान ताप्लेजुङ राखी परिवारभित्रकै दाजुभाइ बनेर पुगेकालाई एकै दिन नागरिकता उपलब्ध गराएको रेकर्ड प्रशासनमा छ। नागरिकतामा प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत चेतनाथ पोखरेलको हस्ताक्षर छ। मोरङबाट सरुवा भइसकेका पोखरेल हाल लोकसेवा आयोगको कार्यालय पोखरामा कार्यरत रहेको प्रशासनले जनाएको छ।
गणेश (सविन)ले २०५२ फागुन २४ गते, रविन (साजन) ले २०५५ साउन ९ र प्रशान्त (सुरज)ले २०६० पुस २० गतेको जन्ममिति राखेर नागरिकता लिएका छन्। उनीहरूको जन्मदर्ता नै एकै दिन भएको छ। जन्ममिति अनुसार गणेशले २६, रविनले २३ र प्रशान्तले १८ वर्षको उमेरमा नागरिकता लिएको देखिन्छ। ‘प्रशासनबाट २६ र २३ वर्षको उमेरसम्म नागरिकता किन बनाइएनभन्ने कुराको खोजी नै गरेको पाइएन,’ एक कर्मचारी भन्छन्, ‘नागरिकताका लागि कागजात पूर्ण भएकाले पनि त्यसतर्फ ध्यान नदिएको हुनसक्छ।’
तर, जन्ममिति अस्वभाविक देखिँदासमेत ध्यान नदिएकाले कर्मचारीको भूमिका पनि शंकास्पद देखिने उनको भनाइ छ। ‘नागरिकता लिनेको उमेर धेरै थियो। त्यहाँमाथि १ जनाले बाबु बनेर एकै दिन ३ छोराको नागरिकतामा सनाखत गरिदिएका छन्,’ उनले भने, ‘राम्ररी छानबिन नगरेको पाइयो। फाँटकै ‘सेटिङ’ पनि हुनसक्छ।’
उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेल यस घटनाले प्रशासनको भूमिकामा प्रश्न उठेको बताउँछन्। ‘२६ वर्षको उमेरमा नागरिकता लिनलाई मान्छे आउँदा प्रशासन चनाखो भएको देखिएन। जन्ममिति हेरेर पनि चासो राख्नुपर्ने थियो,’ ढुंगेल भन्छन्, ‘मिलिभगत नै हुनसक्छ। प्रशासनको भूमिका शंकास्पद छ।’
उनी नागरिकता लिनेले नै प्रश्न उठाउन नसक्ने गरी प्रक्रिया पूरा गर्दै सबै कागजात पेस गरेकाले पनि प्रशासनले शंका गर्ने ठाउँ नपाएको हुनसक्ने बताउँछन्। भन्छन्, ‘नागरिकता वितरण गर्ने कर्माचारीमाथि पनि छानबिन एवं अनुसन्धान हुनुपर्छ।’
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रकरण अदालतले गइसकेकाले आफूले केही नबोल्ने बताए। ‘मुद्दामा दोषी देखिएकाहरूलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘यसको अनुसन्धान गर्न प्रशासनले नै प्रहरीलाई लेखेर पठाएको हो।’
यस्तो छ पक्राउ परेकाको बयानको सारांश
सूर्यहाङले हुँदै नभएका छोरालाई नागरिकता बनाइदिएको सहजै स्वीकार गरेका छन्। ‘सूर्यबहादुरले फोनमा छोरा बनाउँदै नागरिकता दिलाएर ३० वर्षमुनिका २/३ जनालाई यूके (बेलायत) लैजान सक्यो भने राम्रो हुनेभन्दै ‘सेटिङ’ मिलाउने मान्छे सम्पर्कमा भएकाले भेटाइदिन्छु भने। मेरा छोरा नभएकाले मैले पनि हुन्छ भनिदिएँ,’ अनुसन्धानका क्रममा लिइएको बयानमा सूर्यहाङले भनेका छन्, ‘सल्लाह बमोजिम २ हप्तापछि धरान गएर दुवै जनाले यूकेको ‘सेटिङ’ मिलाउने मान्छे (टेकबहादुर गुरुङ)लाई भेट्यौं। उनी धरान आएर चतरा लाइनको पूर्वी स्टार होटलमा बसेका रहेछन्।’
टेकबहादुरले ३ जना केटालाई नक्कली छोरा बनाएर यूके लैजानसक्ने कुरा सुनाउँदै मञ्जुरी भएमा आफूले त्यसको ‘सेटिङ’ मिलाउने भनेर ३५ लाख रूपैयाँको ‘अफर’ गरेको सूर्यहाङ बताउँछन्।
‘मेरा छोरा हुन् भनेर ३ जनालाई नागरिकता दिलाउन म तयार भएँ। सनाखत गरेर नक्कली नागरिकता बनाइदिउँ,’ उनले भनेका छन्, ‘आवश्यक कागजपत्र म (टेकबहादुर) र मेरो साथी विवेकले मिलाउँछौं भनेका थिए। त्यसपछि मेरो नागरिकताको फोटोकपी दिएर हामी छुट्यौं।’ त्यसपछि टेकबहादुरसँग भेटघाट तथा फोन सम्पर्क भइरहेको उनले स्वीकारेका छन्। धरानकै पूर्वी स्टार होटलमा २०७८ माघ ३ गते भेट भएपछि टेकबहादुरले भोलि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकताको सनाखतका लागि जानुपर्छ भनेको सूर्यहाङको बयानमा उल्लेख छ।
टेकबहादुर बिनानै माघ ४ गते आफू, सूर्यबहादुर र विवेकसहित मोरङ प्रशासनमा आएर ३ जनालाई नागरिकता बनाइदिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘विवेकले अरु केही गर्नु पर्दैन भनेर मलाई साइन (हस्तक्षर) मात्रै गर्न लगाए। नक्कली छोराहरूसँग त्यसअघि मेरो भेट भएको थिएन।’
नक्कली बाबु बनेर नागरिकतामा सनाखत र सहीछाप (ल्याप्चे) गरिदिएपछि सूर्यबहादुरमार्फत आफूले ५ लाख रूपैयाँ नगद नै पाएको सूर्यहाङको बयानमा उल्लेख छ। टेकबहादुरले चेक दिएको बैंकबाट रकम निकालेर सूर्यबहादुरले उनको हातमा नगद थमाएका हुन्। ‘अरु बाँकी (३० लाख) रकमका लागि टेकबहादुरलाई मैले ताकेता गरिरहें। उनले केटाहरूलाई यूके पठाउने प्रोसेस (प्रक्रिया) चलिरहेकाले काम भइसकेपछि दिन्छु भनेर ढुक्क पारेका थिए,’ सूर्यहाङले बयानमा भनेका छन्, ‘तर, मलाई प्रहरीले पक्राउ गर्यो। सूर्यबहादुरमार्फत सम्पर्क भएर मैले नागरिकता बनाइदिएको कुरा प्रहरीलाई सुनाएँ।’
नक्कली बाबु बनी ३ जनालाई दिलाएको नेपाली नागरिकता किर्ते रहेको उनको भनाइ छ। सूर्यहाङले नागरिकता बनाउन आवश्यक पर्ने कागजात टेकबहादुर र विवेकले तयार पारेको बताएका छन्।
सूर्यबहादुरले पनि नागरिकता बनाउन सहयोगीको भूमिका खेलेको स्वीकारेका छन्। पोखराका टेकबहादुरले २०७८ कात्तिक अन्तिमतिर प्रस्ताव ल्याएको र आफूले सूर्यहाङसँग समन्वय गराइदिएको बयान उनले दिएका छन्। ‘तपाईंहरू बेलायतमा अरुको ३० वर्षमुनिका नानी बच्चालाई आफ्नो बनाएर लैजान सक्नुहुन्छ, त्यसको ‘सेटिङ’ मिलाउने काम म गर्छु, छोराछोरी बनेर जाने मान्छेको तर्फबाट तपाईंजस्ता ‘ब्रिटिसको रिटायर्ड’लाई राम्रै पैसा हुन्छ भनेर टेकबहादुरले आश्वस्त पारे,’ सूर्यबहादुरले बयानमा भनेका छन्, ‘मेरा त छोराछोरी छन्, मेरा साथी चौरासी (सूर्यहाङ)का छोरा नभएकाले म उनलाई सोधेर मात्रै भन्नसक्छु भनिदिएँ, त्यसपछि टेकबहादुरले मलाई फोनमार्फत ताकेका गरिरहे।’
आफूले टेकबहादुरले भनेका सबै कुरा सुनाएपछि सूर्यहाङ नक्कली नागरिकता दिलाउन तयार भएको उनको भनाइ छ। उनले त्यसको २ सातापछि धरानमा आएर बसेका टेकबहादुरलाई भेट्न सूर्यहाङलाई लिएर आफू गएको स्वीकार गरेका छन्। ‘टेकबहादुरसँग ३५ लाखमा कुरा मिलिसकेपछि सूर्यहाङ नक्कली बाबु बन्न तयार भए। त्यहाँबाट छुटेपछि टेकबहादुरसँग मेरो सम्पर्क भएन,’ सूर्यबहादुर भन्छन्, ‘एक्कासि माघ ३ गते धरानमा भेट भयो। नागरिकता बनिसकेपछि सूर्यहाङलाई पैसा झिकेर दिनुभन्दै टेकबहादुरले मलाई सिद्धार्थ बैंकको ५ लाखको चेक थमाए।’
माघ ४ गते टेकबहादुरबाहेक सबै जना मोरङ आएर नागरिकता बनाइदिएको र भोलिपल्ट चेकबाट पैसा निकालेर सूर्यहाङलाई दिएको सूर्यबहादुरको बयानमा उल्लेख छ। नागरिकता बनाउन करिब डेढ घण्टा लागेको र त्यसअवधिमा आफू प्रशासन बाहिरै बसेको उनले बताएका छन्। नियमित सम्पर्कमा रहने क्रममा नागरिकता लिएका ३ जनालाई ‘प्रोसेस’ सकिएर यूके पठाएपछि सूर्यहाङलाई बाँकी पैसा उपलब्ध गराउने भनेर टेकबहादुरले आश्वस्त पार्ने गरेको उनले बयानमा खुलाएका छन्।
‘नागरिकता बनाउने विषयमा उल्लेखित व्यक्तिबाहेक अरुको संलग्नता थाहा भएन,’ सूर्यबहादुरले भनेका छन्, ‘मैले नागरिकता बनाउने र दिलाउने बीचमा सहजीकरण मात्रै गरिदिएको हुँ।’