विराटनगरमा सुधार केन्द्रका सञ्चालकलाई भेट्न पुगेका युवाको मृत्यु
विराटनगर : सुधार केन्द्रका सञ्चालकलाई भेट्न पुगेका एक जना युवाको विराटनगरमा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–११ का अन्दाजी ३५ वर्षीय विकी भनिने अभिषेक थापाको मृत्यु भएको हो।
उनी बिहीबार दिउँसो ३:३० बजेतिर विराटनगर–४ स्थित नवज्योति सुधार केन्द्रका सञ्चालक सुशील रिजाललाई भेट्न पुगेका थिए। थापा र रिजाल चिनजानका साथी रहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार भेटघाट भएपछि दुवै जनाले दही चिउरा खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दही चिउरा खाएर सुधार केन्द्रमै सुतेका थापा नउठेको र बेहोस अवस्थामा भेटिएपछि राति ९:१० बजेतिर उपचारका लागि विराटनगरको लाइफ गार्ड अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले जानकारी दिए। प्रहरीले घटनाका बारेमा राति १०:३० बजेतिर मात्रै जानकारी पाएको हो। शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको दाहालले बताए।