मुस्ताङ भित्रिए ७१ हजार विदेशी पर्यटक
गतवर्ष २०७९/०८० मा सार्क देशका ५९ हजार ३१० जना र विदेशी फरेनर पर्यटक ६ हजार ७४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । यसको अघिल्लो वर्ष सार्क देशका ३६ हजार १५३ जना र विदेशी फरेनर २ हजार ७४३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।
जोमसोम : आर्थिक वर्ष २०७९/०८० को १२ महिनामा कुल ७१ हजार ७०७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । यो संख्या कोभिड अघि र पछिको पर्यटकीय तथ्यांकमा अहिलेसम्मकै उच्च वृद्धि हो ।
आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि असारसम्मको १२ महिनामा कुल ३८ हजार ८९६ जना विदेशी पर्यटक भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ३२ हजार ८११ जना अर्थात (४५.७५) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयले जनाएको छ ।
गतवर्ष २०७९/०८० मा सार्क देशका ५९ हजार ३१० जना र विदेशी फरेनर पर्यटक ६ हजार ७४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । यसको अघिल्लो वर्ष सार्क देशका ३६ हजार १५३ जना र विदेशी फरेनर २ हजार ७४३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।
मुस्ताङमा कुल भित्रिएका पर्यटक संख्याको ६६ हजार ५९ विदेशी पर्यटकले सिधैं मुस्ताङको भ्रमण गरे भने राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मुस्ताङ भित्रिने पर्यटकको संख्या ५ हजार ६४८ जना रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण पदमार्गको मनाङ हुँदै मुस्ताङ भित्रिनेमा ५६० जना सार्क मुलुक र ५ हजार ८८ जना विदेशी पर्यटक तेस्रो मुलुकका छन् ।
गत आर्थिक वर्षमा ५ हजार ६४८ जना सार्क र तेस्रो मुलुकका पर्यटकले राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मुस्ताङ भित्रिएकोमा यसको अघिल्लो वर्ष जम्मा ७४३ जना सार्क र तेस्रो मुलुकका पर्यटक राउण्ड हुँदै मुस्ताङ भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा ४ हजार ९०५ अर्थात ८७ प्रतिशतले राृउण्ड गर्ने पर्यटक वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सबै भन्दा बढी सार्क मुलुकका पर्यटक बैशाख महिनामा भित्रिएका थिए भने कार्तिकमा तेस्रो मुलुकका पर्यटक भित्रिएका हुन् । बैशाखमा सार्कका १४ हजार ७४५ जना भित्रिदा कार्तिक महिनामा तेस्रो मुलुकका १ हजार ३९२ जना फरेनर पर्यटक मुस्ताङ भित्रिएको कार्यालय प्रमुख अशोक सुवेदीले उल्लेख गरे । सबै भन्दा कम ५२७ जना माघ महिनामा भित्रिदा माघ महिनामै सबैभन्दा कम ९३ जना तेस्रो मुलुकमा फरेनर मुस्ताङ भित्रिएका हुन् ।
राउण्ड अन्पूर्ण हुँदै सबै भन्दा बढी कार्तिक महिनामा १ हजार ४५२ फरेनर पर्यटक मुस्ताङ भित्रिदा सबैभन्दा बढी बैशाखमा ३३१ जना सार्क पर्यटक मनाङ हुँदै मुस्ताङ भित्रिएको एक्यापले जनाएको छ ।
यसैगरी सबै भन्दा कम माघ महिनामा सार्क पर्यटक शून्य पर्यटक भित्रिएका थिए भने साउन महिनामै सबैभन्दा कम ५६ जना तेस्रो मुलुक फरेनर पर्यटकले राउण्ड गरेका थिए ।