कोसी प्रदेशमा लम्पी स्किन भयावह, नियन्त्रणमा सरकार उदासिन

कोसी प्रदेशमा लम्पी स्किन भयावह, नियन्त्रणमा सरकार उदासिन
विराटनगरमा लम्पी स्किनबाट संक्रमित बनेको गाई। तस्बिर : अन्नपूर्ण

विराटनगर : पशु चौपायामा लाग्ने संक्रामक रोग लम्पी स्किनले कोसी प्रदेशमा भयावह रूप लिएको छ। किसानका गोठ नै रित्तिने गरी संक्रमणले महामारीको रूप लिँदा पनि नियन्त्रणका लागि सरकार उदासिन देखिएको छ। 

रोग नियन्त्रण गर्न तीनै तहका सरकार असफल देखिएका छन्। लम्पी स्किनले पशु संक्रमित हुँदा कोसी प्रदेशमा हजारौं किसान प्रभावित बनेका छन्। 

कोसीमा हालसम्म २ लाख १४ हजार ६ सय ४५ भन्दा बढी पशु संक्रमित भएका छन्। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार हालसम्म २ लाख १२ हजार ८ सय ५७ गाई गोरु र १ लाख ७ हजार ८८ भन्दा धेरै भैंसी राँगामा यसको संक्रमण पुष्टि भइसकेको छ। लम्पी स्किनकै कारण ४ हजार ८ सय १४ वटाभन्दा बढी पशु मरिसकेका छन्। 

मृत्यु हुनेमा ४ हजार ७ सय ५७ गाई गोरु र ६२ वटा राँगा छन्। यो असार अन्तिमसम्मको तथ्यांक हो। प्रदेशमा हालसम्म १ लाख ३ हजार ७ सय ७१ पशुलाई संक्रमणविरुद्धको खोप लगाइएको छ। संखुवासभा, तेह्रथुम र भोजपुरमा खोप कार्यक्रम पुग्न सकेको छैन। खोप पुगेका स्थानमा पनि पर्याप्त छैन। प्रदेशका १४ वटै जिल्ला लम्पी स्किनबाट प्रभावित छन्। 

प्रदेशभरि हालसम्म २ लाख १४ हजार ६ सय ४५ पशु संक्रमित हुँदा १ लाख ३ हजार ७ सय ७१ पशुलाई मात्रै खोप लगाइएको हो। संक्रमितमध्ये आधा पनि पशुले खोप पाएका छैनन्। खोपको उपलब्धताको अवस्थाले पनि संक्रमण नियन्त्रण प्रभावकारी हुन नसकेको देखाउँछ। 

पाँचथरमा सबैभन्दा धेरै पशु संक्रमित भएका छन्। ३२ हजार ९ सय ६२ पशु संक्रमित हुँदा पाँचथरमा ३ सय ७६ वटाको मृत्यु भइसकेको छ। संक्रमणका कारण मृत्यु हुने पशुको संख्या इलाममा धेरै छ। इलाममा हालसम्म १ हजार ३ सय ८२ पशु मरिसकेका छन्। ३१ हजार ३ सय ४९ वटा पशुमा संक्रमण पुष्टि भइसकेको छ। 

धनकुटामा २१ हजार ५ सय ५८, झापामा २० हजार ९ सय २५, उदयपुरमा २० हजार ८ सय ९९, मोरङमा १९ हजार ८ सय ६९, सुनसरीमा १६ हजार २ सय ४४, तेह्रथुममा १५ हजार ९ सय ८६, संखुवासभा १३ हजार, खोटाङमा १० हजार ३ सय २४, ताप्लेजुङमा ६ हजार ९ सय २, भोजपुरमा ६ हजार ६ सय १९, ओखलढुंगामा ६ हजार ३ सय ३ र सोलुखुम्बुमा ७ सय ५ वटा पशुमा संक्रमण यकिन भइसकेको छ।  

संक्रमणले झापामा ५ सय ४, मोरङमा ४ सय २९, उदयपुरमा ३ सय ७६, सुनसरीमा ३ सय ४३, खोटाङमा २ सय ७९, धनकुटामा २ सय ७५, संखुवासभामा २ सय ७२, ओखलढुंगामा २ सय २, तेह्रथुममा १ सय ४४, ताप्लेजुङमा १ सय २५, भोजपुरमा ७२ र सोलुखुम्बुमा ३५ पशु मरिसकेका छन्। 

गोठका गाईवस्तु मरेर किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आइरहँदा तीनै तहका सरकार संक्रमण नियन्त्रणमा उदासिन देखिएका छन्। कृषकको गोठ नै रित्तिने अवस्था आउँदा पनि सरकारमा एकअर्काबीच प्रभावकारी समन्वयको अभाव देखिएको छ। पीडाले किसान छटपटाइरहँदा सरकार रमिते बनेको छ। 

भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले लम्पी स्किन नियन्त्रणमा केन्द्र र प्रदेश सरकारको कुनै भूमिका नदेखिएको बताए। ‘माथिका सरकारले कुनै सहयोग नगरेपछि स्थानीय स्तरमै नियन्त्रणको प्रयास गर्‍यौं। सीमित स्रोत हुने हुँदा पालिकाको प्रयासले मात्रै नियन्त्रण सम्भव हुन सकेन,’ उदासले भने, ‘सुरुमा महामारीको रूप लिएको संक्रमण अहिले केही मत्थर भएजस्तो छ। तर, पूर्ण रूपमा नियन्त्रण हुन सकिरहेको छैन।’ 

प्रदेशले बाँड्नुपर्ने औषधि र खोप अहिलेसम्म नपठाएको उनले बताए। ‘नगरपालिकाबाटै १६ लाखको औषधि किनेर वितरण गरियो। ग्रामीण स्वास्थ्य कार्यकर्ताको तालिम लिएकालाई औषधि वितरणमा परिचालन गरियो,’ उदासले भने, ‘प्रदेशबाट अहिलेसम्म १ डोज खोप पनि उपलब्ध भएन। संक्रमणको मारले किसान संकटमा परेका छन्।’ 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका सूचना अधिकारी एवं पशु चिकित्सक विनोदकुमार साह संक्रमण नियन्त्रणका लागि औषधि वितरण गर्ने र खोप लगाउने काम भइरहेको दाबी गर्छन। ‘संक्रमण धेरै देखिएको स्थानलाई लक्षित गरेर खोप कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय तहहरूमा खोप पठाइएको छ,’ उनले भने, ‘प्रदेशमा १ सय ३७ वटा पालिकाहरू छन्। सबैमा पुर्‍याउन भने सकिएको छैन।’ 

बजेट, स्रोधसाधन र जनशक्ति अभावकै कारण लम्पी स्किन नियन्त्रणलाई प्रभावकारी बनाउन नसकिएको साह स्वीकार्छन्। उनका अनुसार हालसम्म २३ लाख रूपैयाँ बढीको औषधि खरिद गरेर वितरण गरिसकिएको छ। साहले रकमको अभाव भएकाले खोप र औषधिको अभाव झेल्नु परेको बताए। 

‘संक्रमण नियन्त्रणमा सक्दो प्रयास गरिरहेका छौं। संघीय सरकारले अधिकारसहित बजेट स्थानीय तहलाई पठाएको छ,’ उनले भने,  ‘धेरै गर्ननसक्ने अवस्थाका बीच हामीबाट सहजीकरण भइरहेको छ। त्यहाँमाथि सबै कुराको अभाव छ।’ साह आफूहरूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउँछन्। 

पशुमा संक्रमण नदेखिएका बेला पशुसेवाका दरबन्दी कटौती गरिएकाले पनि समस्या भएको उनले बताए। ११ जनासम्म दरबन्दी भएको ठाउँमा अहिले ३ जनासम्मले काम गर्नुपर्ने अवस्था रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ। २ वटा जिल्ला हेर्ने गरी प्रदेश सरकारको एउटा पशु अस्पताल छ। अस्पतालमा ५ जनासम्म मात्रै कर्मचारी छन्। उनीहरूले दुईवटा जिल्लामा सेवा पुर्‍याउन समस्या हुने निर्देशनालयको भनाइ छ। 

पशु चिकित्सकका अनुसार लामखुट्टे (मच्छर), झिँगा, किर्नाजस्ता कीराको टोकाइबाट पशुमा यो रोग सर्छ। संक्रमण भएपछि पशु चौपायालाई ज्वरो आउने, गाईंभैंसीले दूध कम दिने, तौल घट्ने हुँदै अन्तमा मृत्यु हुने समस्या छ। संक्रमित पशुको छालामा १ देखि ५ सेन्टिमिटरसम्मका गोला र साह्रा गाँठा देखिने, थुतुनो, मुख एवं नाकमा घाउ आउने तथा आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ बग्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.