समाजको बनोट आरम्भदेखि मध्यकालसम्मको सीमाबद्ध अध्ययन चिन्तनको उपज हो, देन हो यो कृति।
मिश्रित जातजाति हामी नेपाली’, नेपाली समाजको बनोट : आरम्भदेखि मध्यकालसम्म। ऐतिहासिक पद्धति–परम्परामा मध्यकालले मल्लकालीन नेपाललाई इंगित गर्छ। सबैसबैलाई ज्ञात तथ्य। मित्रवर– मान्यवर खेमराज नेपाल, अध्ययन अनुशिक्षणले विशुद्ध समाजशास्त्री। प्रशिक्षण केन्द्रकेन्द्रहरूमा सहकार्य गर्दाका अनुभूति ओकलिरहेछु। सत्कर्मले सदाविचार प्रजनन गर्दो हुँदोछ। गर्दैछु त्यही त म...।
नेपालको यो पुस्तक समाजशास्त्रीय विश्लेषण विवेचना... ! विश्लेषण विवेचना आफैंमा एक्लिन्न। तान्दछ अर्का अर्कै प्रसंग नि। स्मृतिपटका पल्टिन्छ पाना अनेक...। ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली... जय जय नेपाल !’ ब्याकुल माइलाको सिर्जना यो। बन्यो राष्ट्रिय गाथा। तोते बोलीदेखि प्रबुद्ध नेपाली आत्माले लयबद्ध गाउने आधुनिक राष्ट्रगान यो। चाहे द्रोही– विद्रोही दलीय स्वार्थग्रस्त राजभारा अठ्याउनेहरूका ओठमा लेब्राइरहँदो राष्ट्रियगानको बोल रहेको यो बेला...।
मिश्रित जातजाति हामी नेपाली। नेपाली समाजको बनोट आरम्भदेखि मध्यकालसम्म छ सीमाबद्ध। यथार्थमा नेपाल एकीकरण पछिको आधुनिक नेपाल सीमान्तकारी हुन सकेको कहाँ छ र अझै ? क्रमभंग नारा छैन एकछत्र ! एकछत्र हुन गर्न समाजमै आवश्यक हुन्छ समान व्यवहार। आफ्ना र पराइ सोच सिद्धान्तवादीहरू नै सिद्धान्त परिपालक बनेको उदाहरणले व्याप्तिनु पर्दो हो कि ? पाठक जगत्का आम नरनारीले पर्दो हो भए छ भन्न। हात हालेर छातीमा होला नि हँ भनेर...?
समाजको बनोट आरम्भदेखि मध्यकालसम्मको सीमाबद्ध अध्ययन चिन्तनको उपज हो, देन हो यो कृति। जीवनभर भोगेर पनि भोगरस टप्टपाउन बाँकी हामीलाई स्वादन गराउने बेलफल जस्तै। माझिएको पुख्र्यौली रस बटाउँछ...। कागलाई बेल पाकेर हर्ष र विस्माद ! कागलाई नरम नरम फल स्पृहनीय। शारीरिक बनोटअनुसार भोजन पदार्थ स्वीकार्य हुनु
प्रकृति– पर्यावरणकै देन बन्छ। बस्छ, अनुराग तिनमै सरासर। बेरोकटोक...! पर्यावरणअनुसार स्थान विशेषको वातावरण। वातावरणले प्राणीमात्रको शारीरिक आकृतिअनुसार रूप–स्वभाव–रुचि। यी सब हुन्– विधिका विधान !
भाषिक संरचना : वंशानुगत संरचनाका दृष्टिले आफैं काठमाडौं उपत्यका नेवार समुदाय प्रधान स्थान। केही दशकअघिसम्म नेवार सम्प्रदाय नेपाल भाषामात्र बोल्दथे। बाहिरफेराबाट आएकाले नेपाली राष्ट्रभाषा बोल्दा ‘भाय् मस्यु’ भन्ने गर्थे। ध्वन्यात्मकताको आधारमा अझै पनि अग्रज पुस्तेनीहरू नेवारी लवज–ध्वनिमा नेवार समुदायिहरू आफ्नै पारामा बोल्छन्। आफैं नेवार समुदायको प्राणी भएरै पनि बेलाबखत ‘भनी पठाउन’ ‘गरी पठाउन’ गर्दै जिस्कने गर्छु।
त्यसो त नेपाली भाषाभाषीहरू प्रदेश, जिल्ला, गाउँठाउँमा बोलिने भाषिक तौरतरिका आफ्नै छन्। मिश्रित जातजाति हामी नेपाली नेपाली समाजको बनोट आरम्भदेखि मध्यकालसम्मका स्वहस्त– सिद्ध खेमराज नेपालज्यू पूर्वी नेपाल इलामका सपूत भएर भाषिक अनुरागका आधारमा आफ्नापनका विन्यासका महक महकिन्छ। भाषिक अनुरागी भएरै यसो छनक छर्कन मन पराएँ। अनुरागीका विवेचकीय पद्धतिले डोर्याइयून् भन्छु। अर्को प्रासंगिक लर्को ‘नेपालजी’ समाजशास्त्री भएर भाषिक विश्लेषणमा समाजशास्त्रीय पारा महकिनु महनीय लाग्दो अनुभूति यो पाठकको अनुभूतिका तर मारेको छु। जुजुधौका तरको स्वाद विशेष लाग्छ, आजन्मजात तेजेश्वरबाबु ग्वंगः बकबकाउँछ।
अनुसन्धान अनुसन्धाताका : अन्तत्वगत्वाः रचनाकार यस पुस्तकका हस्ती नेपालका आकलन मनगढन्ते झाँक्रीका फुकफाक मन्त्रमात्र रहेको छैन। उनले मिश्रित जातजाति हामी नेपाली समाजको बनोटका आधारस्तम्भ प्रचूर खोजतलासको आधारमा स्तम्भित गरेका छन्। त्यसमाथि सञ्चारकर्मी एवं साहित्यकार
गोपीकृष्ण ढुंगानाले सम्पादनमा सीप पोखेका छन् । विभिन्न नेपाली समाजको बनोट माथि मनज्ञ खोज अनुसन्धान गरेरै प्रकाशन गर्न जमर्किएकै छन्। प्रत्येक जस्तो परिच्छेद–अनुच्छेदका पुच्छरमा अध्ययन सामग्रीहरूका फेहरिस्त प्रस्तुत छन्। समाजशास्त्रीका शास्त्रीय इमान्दारिताका साक्षी प्रमाण भन्ठान्छु। धन्यवाद धन्यकार्य–कर्मका लागि ! अस्तु... !