आरएमसी फुड्स विरुद्ध आन्दोलन

सिरहा : आरएमसी फुड्स प्राली बारा सिमराले लहानका व्यवसायी पवन मुन्धडा र मुन्धडा इन्टरप्राइजेजमाथि अनुचित मुद्दा चलाएपछि लहानका व्यवसायीहरू आन्दोलित हुने भएका छन्।
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले विज्ञप्ति जारी गर्दै छलफलको माध्यमबाट समस्यालाई किनारा लगाउन र मुन्धडामाथि गैरकानूनी काम नगर्न आग्रह गरेको छ। फुड्स प्रालीले नमाने थप आन्दोलनमा जाने वाणिज्य संघका अध्यक्ष विकास शारदाले जानकारी दिएको छ।
मुन्धडाले आरएमसी फुड्स प्रालीसँग ७० लाख रुपैयाँको चेक धरौटी राखेर व्यावसायिक कारोबार गर्दै आएका थिए। कारोबारको सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि चेक फिर्ता नदिएर उल्टै ‘बन्स’ गराएर फसाउन खोजेको मुन्धडाले बताए। ‘तिर्नुपर्ने सबै रकम तिरिसकेका छौँ। जसको स्टेटमेन्ट पनि छ। तैपनि बैँकमा कालो सुचीमा मेरो फर्मलाई राख्न लगाएको छ,’मुन्धडाले भने,‘आफूले अदालतबाट पनि असार २९ गते अल्पकालीन अन्तरिम आदेश ल्याएका छौँ। आदेश विपरीत पनि कालो सूचीमा राख्ने कार्य भएको छ।’ न्यायका लागि उद्योग वाणिज्य संघ गुहारेको उनले बताए।
‘फुड्स प्रालीका सञ्चालकद्वय विष्णु अग्रवाल र एस अग्रवाल हामीले वाणिज्य संघको रोहबरमा बसेर पटक पटक हिसाब गर्न आग्रह गरेका छौँ,‘वाणिज्य संघ अध्यक्ष शारदाले भने,‘धरौटी राखेको चेकलाई गलत तरिकाले प्रयोग गरेर प्रतिष्ठित व्यवसायीमाथि मुद्दा चलाउन हुँदैन। लेनदेन बाँकी छ भने देखाउनुपर्छ।’ कुनै व्यवसायीको जीवनमा आँच आउने कार्य तत्कालै रोक्नुपर्ने उनले सुनाए। मुद्दामा गए मुन्धडाको तर्फबाट वाणिज्य संघले नै मुद्दा लड्ने उनले जानकारी गराए।
यता, आरएमसीका सञ्चालक एस अग्रवालले आफ्नो रुपैयाँ लिनु बाँकी रहेको दाबी गरेका छन्। ‘लेनदेनको हिसाब फाइनल भएको छैन,‘उनले भने,‘बाँकी कुरा यहाँ भन्न मिल्दैन।’
प्रतिक्रिया दिनुहोस !
