ओझेलमा हेटौंडाको संस्कृत विद्यालय
हेटौंडा : आधुनिकीकरण र बदलिँदो शिक्षा प्रणालीका बीच नेपालको पुरानो गुरुकुल शिक्षा अर्थात् संस्कृत विद्यालयहरू ओझेलमा पर्न थालेका छन्।
हेटौंडा-१० स्थित गोरक्षेस्वर तटमा रहेको संस्कृत वेद विद्यालय पनि त्यसैगरी ओझेलमा परेको छ। २०५६ सालमा स्थापना भई निरन्तर संस्कृत पठनपाठन हुँदै आएको विद्यालयमा दरबन्दी अनुरुपको शिक्षक र विद्यार्थी बस्ने छात्रावास राम्रो नहुँदा विद्यार्थीहरू समस्या भोग्न बाध्य छन्।
बागमती प्रदेशको राजधानीमा रहेको उक्त संस्कृत विद्यालय मकवानपुरको एक मात्र विद्यालयका रूपमा रहे तापनि प्रदेश सरकार र स्थानीय सरकारहरूले खासै चासो दिएको देखिदैन।
विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्यययन अध्यापन गर्न सकिने भए तापनि आवश्यकता अनुरुपको विद्यार्थी छात्रावास र शिक्षकको अभावले गर्दा विद्यालयमा २७ जना विद्यार्थीहरू मात्र अध्ययन गर्दै आएका छन्।
प्रदेश सरकार र हेटौंडा उपमहानगरले बासस्थानका लागि भन्दै बनाएको भवनको कोठाहरू पूर्ण रूपले निर्माण सम्पन्न भएका छैनन् भने एउटै कोठामा विद्याथीहरू बस्न बाध्य रहेका छन्।
विद्यालयमा निजी स्रोतबाट विष्णुप्रसाद भट्टराई,राहत शिक्षकबाट राजु लामिछाने र स्थायी शिक्षकका रूपमा गोपाल अधिकारी गरी ३ जना मात्र शिक्षक छन्।
विद्यालयमा संस्कृत विषयका लागि २ जना शिक्षकको दरबन्दी भए पनि हालसम्म सरकारले शिक्षक पदपूर्ति गर्न सकेको छैन। विद्यालयका प्राध्यापक गोपाल अधिकारीले भने, ‘२ वटा कोठा छ, २७ जना च्यापिएर सुत्नु तथा बस्नुपर्ने बाध्यता छ।’ प्राचीनकालदेखि चलिआएको संस्कृत शिक्षाप्रति सरकारको खासै चासो नदेखाएको उनले बताए।
विद्यालय ढलपल–ढलपल गर्दै सञ्चालन भइरहेको उनले बताए। यस्तै संस्कृत विद्यालय अन्य विद्यालय जस्तो नरहेको र यसको आफ्नै छुट्टै मूल्य मान्यता एवं नियम रहेकाले विद्यालयको छात्रावासमै बस्नुपर्ने भएता पनि छात्रावासको अभाव हुँदा पढ्न आएका विद्यार्थीहरू पनि फर्केर जाने गरेको विद्यालयका शिक्षक विष्णुप्रसाद भट्टराईले बताए।
विद्यालयमा संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँगै सामाजिक, अंग्रेजी, गणित लगायतका ८ विषय पढाइ हुँदै आए तापनि विद्यालय समयमा शिक्षक अनुपस्थित धेरै हुने गरेको भन्दै विद्यार्थीको अभिभावक सूर्यप्रसाद नेपालले गुनासो गरे।
उनले भने 'विशेष गरेर अंग्रेजी पढाउने शिक्षक धेरै अनुपस्थित हुनुहुन्छ। मेरो नाती यही पढ्छ।' यस्तै अर्को अभिभावक अंकित पुडासैनीले पनि आवश्यकता अनुरुपको शिक्षक नभएको र भएका शिक्षकले ख्याल नगर्दा विद्यार्थीको भविस्य नै डामाडोल हुने हो कि भन्दै गुनासो पोखे।
विद्यालयमा छिमेकी जिल्लाहरू पर्सा, सर्लाही,झापा लगायतबाट अध्ययनका लागि आउने गर्दछन्।