गलत दिशाबाट साइकल कुदाइएको भन्दै कुटपिट गर्नेविरुद्ध मुद्दा दायर

गलत दिशाबाट साइकल कुदाइएको भन्दै कुटपिट गर्नेविरुद्ध मुद्दा दायर

विराटनगर : विराटनगरमा भएको एउटा अमानवीय घटनामा संलग्नविरुद्ध आइतबार जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ। 

प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको हो। 

मुद्दामा विराटनगर महानगरपालिका–४ का १९ वर्षीय आयुष भेटुवाल र १७ वर्षीय किशोरलाई अभियुक्त बनाइएको छ। भेटुवालविरुद्ध ज्यान मार्ने उद्योग र किशोरविरुद्ध ज्यान मार्ने उद्योगको मतियारका रूपमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

घटनामा संलग्न भनिएका तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीविरुद्ध मुद्दा नचल्ने निर्णय सरकारी वकिलको कार्यालयबाट भएको छ। घटनापछि कार्की र १७ बर्से किशोर फरार छन्। भेटुवाल मात्रै पक्राउ परेका थिए। 

उनीसँग अदालतले सोमबार बयान लिने छ। बयान लिएर वादी नेपाल सरकार तथा प्रतिवादीका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि मुद्दाको हकमा अदालतबाट आदेश आउने सूचना अधिकारी बुढाथोकीले बताए। 

अदालतले भेटुवाललाई साधारण तारेख वा धरौटी लिएर छाड्ने अर्थात पूर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्ने छ। 

गत असार २० गते राति ८ बजे विराटनगर–४ दूध फारम चोकमा साइकल यात्रीमाथि अमानवीय व्यवहार भएको थियो। साइकलमा हिँडिरहेको अवस्थामा विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाईको अनुहारमा भेटुवालले मुक्का प्रहार गरेका थिए। गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटुवालले दौडिएर आउँदै मुक्काले हानेपछि साह साइकलबाट सडकमै ढलेका थिए। 

त्यसपछि बेहोस भएका साहको अनुहारबाट रगत बगेको थियो। घोप्टो परिरहेको रक्ताम्य अवस्थामा अमानवीय शैलीमा दुवै खुट्टा समातेर घिसार्दै उनलाई सडकको किनारमा छाडेर भेटुवाल हिँडेका थिए। लडिरहेको साहको साइकल १७ वर्षीय किशोरले सडकको छेउमा ल्याएर फ्यालिदिएका हुन्। 

कारका चालक कार्कीले कारको ढोका खोलेर घटना हेरिरहे। प्रत्यक्षदर्शी उनले घटना हुन नदिन कुनै भूमिका खेलेनन्। त्यसपछि घटनामा संलग्न दुवै जनालाई उनले भगाए। कारसहित तीनै जना फरार बनेका थिए। घाइतेलाई उपचारका लागि लगेनन्। 

गलत दिशाबाट साइकलमा आइरहेका साहले अपशब्दसहित गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटुवालले स्वीकार गरेका छन्। मुक्का प्रहारबाट साह ढलेपछि मरेको ठानेर किनारमा उनलाई छाडेर आफूहरु भागेको बयान अनुसन्धानका क्रममा भेटुवालले दिएका छन्। 

प्रहरीको अनुसन्धानबाट भेटुवालसहितले मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको पुष्टि भएको छ। दफा १८३ (२) बमोजिम सजायको माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। पक्राउ परेका भेटुवालसहित दुई जना फरार रहेको देखाएर प्रहरीले मिसिल बुझाएको हो। प्रहरीले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवानाको मागदावी लिएको छ। 

प्रहरीको सक्रियताले बच्यो ज्यान 

घटनासँग सम्बन्धित एउटा सीसी क्यामेरा फुटेज बाहिरिएको छ। साह आरती स्ट्रिप्स उद्योगमा कार्यरत मजदुर हुन्। उद्योगबाट छुट्टी भएपछि असार २० गते राति ८ बजेतिर उनी साइकलमा घरतर्फ आउँदै थिए। उत्तरबाट दक्षिणतर्फ आउने क्रममा उनले सडकको गलत ‘साइड’ प्रयोग गरेको सीसी टिभी फुटेजमा देख्न सकिन्छ। 

उनी आउँदै गर्दा कार (बा १५ च ३४४५ नम्बर)ले सडक पार गर्‍यो। साइकलमा उनी दक्षिणतर्फ लाग्दैगर्दा कारबाट हत्तपत्त ओर्लिएर दौडिदै आएका एक युवक (आयुष भेटुवाल)ले साहलाई अनुहारको अगाडिको भागमा कस्सिएर मुक्का प्रहार गर्छन्। मुक्का प्रहार हुनसाथ घोप्टो परेर उनी साइकलबाट ढल्छन्। 

त्यसलगत्तै रक्ताम्य अवस्थाका साहलाई खुट्टामा घिसारेर भेटुवालले सडकको किनारमा छाडिदिन्छन्। घटनास्थलमा रगत लतपतिएको र अनुहारको भाग सडकमा मज्जाले रगडिएको फुटेजमा देख्न सकिन्छ। त्यत्तिकैमा अर्का किशोर आएर साह चढेको साइकललाई सडकको किनारमा फ्यालिदिन्छन्। त्यो बेला कार चालक रोशन कार्की ढोका खोलेर हेरिरहेका हुन्छन्। तर, उनले कुनै प्रतिक्रिया जनाएजस्तो देखिँदैन। 

प्रहरीले ‘कन्ट्रोल रुम’बाट सीसी क्यामेराको निगरानी गरिरहेको थियो। घटना थाहा हुनसाथ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनामा संलग्नको पहिचान र खोजी तथा पीडितको उद्धारका लागि विशेष टोली परिचालन गरे। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालको नेतृत्वमा खटिएको टोलीले घाइतेलाई सडकबाट उद्धार गर्दै उपचारका लागि कोसी अस्पताल पुर्‍याएर अमानवीय घटनामा संलग्नको खोजी सुरु गर्‍यो। 

रातभर खोजी गर्दा फेला नपरेका भेटुवाललाई भोलिपल्ट बिहान पक्राउ गर्न प्रहरी सफल भयो। अरू दुई जना फरार बने। ‘प्रहरीले उद्धार गरी तत्काल उपचारका लागि अस्पताल नपुर्‍याएको भए घाइतेको सोही स्थानमा नै मृत्यु हुने अवस्था थियो। तत्काल प्रहरी टोलीले फेला पारी उद्धार गरी अस्पतालमा भर्ना गरेका कारण साहको ज्यान बचेको हो,’ प्रहरीले अनुसन्धान प्रतिवेदनमै खुलाएको छ। 

सडकमा ढलेपछि साह उठ्न सकेनन्। अर्थात, प्रहरीले उद्धार गरेर उपचारका लागि पुर्‍याउँदै उनको ज्यान बचाएको हो। बेलैमा उद्धार गर्न नसकेको भए मृत्यु हुने अवस्था रहेको प्रहरीको भनाइ छ। 

भेटुवालका बुवा कृष्णप्रसाद भेटुवाल जग्गाको कारोबार गर्छन्। नेपाली कांग्रेसमा आवद्ध रहेका उनले यो घटनामा संलग्न छोरा छुटाउन ठूलो दबाब सिर्जना गराए। प्रहरी कार्यालयमै पुगेर प्रहरी अधिकारीलाई सरुवा गर्नेसम्मको धम्की दिए। ‘भेटुवाललाई छाड्न मन्त्री, नेता, अग्रजदेखि समाजसेवी भनिएकाहरुको ठूलो दबाब आएको थियो। यति गम्भीर अवस्थाको अमानवीय घटनामा संलग्नलाई छाड्न सकिँदैन भनेपछि उनीहरु रिसाए,’ एक प्रहरी भन्छन्, ‘प्रहरीका हाकिमको तत्काल सरुवा गर्छौंभन्ने धम्की पनि दिए। तर, हामीले हाम्रो कर्तव्य छाडेनौं।’ 
चौतर्फी दबाब र ठूलो चुनौतीबीच गम्भीर अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल भएको उनले बताए। 

उनका अनुसार विभिन्न प्रलोभन देखाएर पीडितलाई समेत प्रभावमा पार्ने काम भएको थियो। तर, दबाबको प्रवाह नगरिकन अघि बढ्दै घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता गराउन सफल भएपछि प्रहरीको चौतर्फी प्रशंसा भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.