मिथिला नगरपालिकाले खुलायो जग्गाको कित्ताकाट
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ। जिल्लामा चौथो पालिकाका रुपमा मिथिला नगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रको जग्गाको कित्ताकाट खुलाएको हो।
नगरपालिकाले भूउपयोग वर्गीकरण क्षेत्रको फाइल जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत कार्यालयलाई हस्तान्तरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको हो।
लामो प्रयासपछि नगरपालिका क्षेत्रभित्रको कित्ताकाट खुलाउन सफल भएको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए। ‘अथक प्रयासपछि नगरपालिका क्षेत्रभित्र कित्ताकाट खुला भएको छ। वडा कार्यालयबाट जग्गा वर्गीकरणको सिफारिस लिएर मात्रै कित्ताकाट हुन्छ,’ मेयर महतोले भने ‘यस कार्यमा सहयोग गर्नु भएका सम्पूर्णलाई धन्यवाद।’केही दिनअघि मात्रै बटेश्वर गाउँपालिकाले कित्ताकाट खुलाएको थियो।