लम्पी स्किनमा संवेदनशीलता खै ?

इजलास

लम्पी स्किनमा संवेदनशीलता खै ?
फाइल तस्बिर।
सुन्नुहोस्

गत वर्ष पनि लम्पी स्किन रोग फैलिएको थियो। तर, त्यतिबेला ‘सिरियसली’ हेरिएन। यो वर्ष त महामारीकै रूप लियो।

लम्पी स्किन रोगले महामारीको रूप लिएको छ। गाई र गोरुमा मात्र होइन, भेडाबाख्रामा पनि यो रोग लाग्न सक्छ। यो रोगबाट हालसम्म ६० प्रतिशत पशु संक्रमित भएको अनुमान गरिएको छ। यसैकारण मुलुकभर आतंक मच्चिएको छ। सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा यो रोगबाट धेरै नै पशुहरू संक्रमित भएका छन्।

पशु सेवा विभागकै तथ्यांकअनुसार लम्पी स्किनबाट यस वर्ष १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित बनेका छन्। ५० हजार ८ सय २६ पशु मरे। संक्रमितमध्ये २ लाख ४८ हजार ३ सय ५ निको भएको तथ्यांक सार्वजनिक भएको छ। अझै २ लाख ४८ हजार ३ सय ५ पशु सक्रिय संक्रमित छन्। ३ लाख ५० हजार ९ सय २६ पशुमा खोप लगाइएको छ। तर, संक्रमण दर भने अझै बढ्दै गएको छ। 

पशुको जीउमा खटिरा आउने, ज्वरो आउने, मुख खुट्टामा घाउ हुनेलगायत यो रोगका मुख्य लक्षण हुन्। रोग नियन्त्रणका लागि भ्याक्सिन लगाउन थालेको करिब डेढ वर्ष भइसकेको छ। गत वर्ष पनि यसको संक्रमण फैलिएको थियो। तर, त्यतिबेला ‘सिरियसली’ हेरिएन। यो वर्ष त महामारीकै रूप लियो। विषालु भाइरसबाट हुने यो रोगको ठ्याक्कै उपचार हुँदैन। तर, यसको लक्षणअनुसार उपचार गर्ने हो। यसबाट पशुलाई बचाउन समयमै भ्याक्सिन लगाउनुपर्छ। समयमै सबैलाई भ्याक्सिन लगाउन पाएको भए केही हदसम्म नियन्त्रण गर्न सकिन्थ्यो होला। 

साउन ५ देखि मात्रै पशु सेवा विभागले लम्पी स्किन रोगको नियन्त्रणका लागि पहल गरेको थियो। ७ सय ५३ वटै स्थानीय तहमा रोगको अवस्थाबारे सरकारले जानकारी लिइसकेको छ। यसैले अब सरकारले ती स्थानमा तुरुन्तै खोपको व्यवस्था गर्नुपर्‍यो। रोग नपुगेका ठाउँमा त खोपका लागि ढिलाइ नै गर्नुहुँदैन। किनभने रोग लागिसकेकालाई भ्याक्सिन लगाउन मिल्दैन। केवल उपचार गरेर निको पार्ने हो। तर, यसको उपचारमा प्रयोग हुने औषधिहरूको बजारमा उपलब्धता कम छ भन्ने गुनासो छ। सयवटा रोग लागेका वस्तुको उपचार गर्दा ५ वटा मरिरहेका छन्। 

रोग लागेका पशुलाई किसान आफैंले पनि उपचार गर्न सक्छन्। पारासिटामोल सुई, एन्टिएलर्जी सुई र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि र भिटामिनहरू पशुमा प्रयोग गर्न सक्छन्। यस्ता सामान्य औषधिहरू स्थानीय तहले वडा र किसानको घरसम्मै व्यवस्था गरी दियो भने धेरै पशु बचाउन सकिन्छ। रोग लागेका पशुलाई अरू बेलाभन्दा बढी खाना खुवाउनुपर्छ। खानामा जोड दियो भने पनि पशुलाई रोगसँग लड्ने क्षमतामा सहयोग मिल्छ। अहिले बर्खाको बेला छ। प्रसस्तै हरियो घाँस पाइन्छ। घाँसका साथै दाना पनि खुवाउनुपर्छ। 

यो रोगबाट गर्भिणी र दूध खाने साना पशु बढी मरेका देखिन्छन्। यो रोग लागेपछि पशुको शरीरमा खटिरा आउँछन्। त्यसपछि भोजन नली र श्वास नलीमा पनि खटिरा आयो भने पशुमा निमोनिया हुन्छ। निमोनिया भएपछि वस्तु मर्ने गर्छन्। यो रोगमा ‘सेकेन्डरी इन्फेक्सन’ भयो भने मृत्यु हुन्छ। समयमै औषधि दिन सकियो भने रोग निको हुन्छ। यसैले उपचारमा लापरबाही गर्नुभएन। रोग लागेमा किसानले तुरुन्तै प्राविधिकको सहयोग लिइहाल्नुपर्छ।

पशु सेवा विभाग र अन्य संघ–संस्था पनि यसलाई नियन्त्रण गर्न लागि रहेका छन्। यसको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहले भ्याक्सिन र औषधिको प्रबन्ध गर्नुपर्छ। अर्कोतिर भ्याक्सिन महँगो भएकाले पनि कतिपय किसानलाई गाह्रो भएको सुनिन्छ। तर, यसमा सहयोग पनि जुटिरहेको छ। सरकार पनि नियन्त्रणमा लागि परेको देखिन्छ। खोपमा जोड दियौं भने ३–४ महिनामा यो रोग नियन्त्रणमा आउन सक्छ। 

(श्रेष्ठ, पशुसेवा विभागका पूर्ववरिष्ठ भेटिनरी हुन् )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.