राष्ट्र निर्माणमा नागरिक

राष्ट्र निर्माणमा नागरिक

अब नेपाली नागरिक नै नेपाल निर्माणका संवाहक हुन्। तर उनीहरू दलीय घेराबाट निस्कनु पर्छ।

विश्व राजनीतिको इतिहासमा नागरिक मात्रैको शक्तिले ठूलाठूला परिवर्तनहरू सम्भव भएको थुप्रै उदाहरण छन्। नागरिककै उत्साह र ऊर्जाले कमजोर राष्ट्र शक्तिशाली भएका छन्। आजभन्दा करिब १० हजार वर्षपहिले जतिखेर यस धर्तीमा पहिलोपटक कृषि क्रान्ति हुँदै थियो, ठीक त्यही समय हाम्रा पुर्खा सिकार संकलित घुमन्ते जीवन छाडेर एक ठाउँमा स्थिर र एकत्रित हुँदै थिए। यो एकीकरण केवल भौतिकमात्र थिएन, भावना, विचार, मूल्य, मान्यता र संस्कृतिको पनि थियो। अर्थात् हामी सबै एकै हौं, हाम्रा विश्वास र विचारमा समानता र एकत्व छ भन्ने मनोभावको विकास उनीहरूमा हुँदै थियो। यो नै संसारमा पहिलोपटक राष्ट्र र राज्य निर्माणको बीजारोपण थियो।

‘सबैले त देशबाट लिन्छु केवल लिन्छु भने, तिमी चाहिँ देशलाई म त दिन्छु केही भन्देऊ न है’, गीतकार कालीप्रसाद रिजालका यी मार्मिक शब्द केही वर्षअघि लेखिए पनि आजसम्म आइपुग्दा यसको वजन र सान्दर्भिकता झनै बढेर गएको छ। ती शब्दले भनेझैं वर्षौंदेखि देश दुखिरहँदा हामी नागरिक भने देशलाई मलम लगाउनुको सट्टा उल्टै देशले मलाई के दियो भन्दै गाली गरिरहेका छौं। राष्ट्र र राज्य दुवै रूपमा आज यो देश कमजोर भइरहँदा हामी भने व्यक्तिगत घेराभन्दा माथि मुलुकसम्म पुग्नै सकेनौं।

एकातिर देशलाई दिने हैसियतमा पुर्‍याउन गर्नुपर्ने कर्तव्य र जिम्मेवारीबाट विमुख हुने अनि अर्कातिर देशभित्रै बसेर कस्तो देशमा जन्मिएछु भन्दै देशलाई नै सराप्ने नागरिकको पनि यहाँ कमी छैन। यतिमात्र होइन, देश छाडेर कुनै विकसित मुलुक जानेहरूले त यो देशमा बस्ने हरेक नेपालीको भविष्य नै अँध्यारो छ भनी चरम निराशा छरिरहेका छन्। तर आज यो राष्ट्रको यस्तो हविगत बनाउन नेता र नेतृत्वलाई मलजल गर्ने त हामी नागरिक नै होइनौं ? अनि यो राष्ट्रलाई सबल, सक्षम र समृद्ध बनाउन भूमिका खेल्न सक्ने पनि हामी नै होइनौं ?

सन् १९६५ को सिंगापुरलाई देशले मलाई के दियो भन्दै त्यहाँका नागरिकले छाडेर गएको भए आज सिंगापुर विश्वकै समृद्धमध्येको एक हुने थिएन। उनीहरूका सन्तान दरसन्तानहरूले विकसित सिंगापुर भोग्न पाउने थिएनन्। सन् १९४५ को जापानको पुनर्निर्माणमा जापानी नागरिकले पसिना नबगाएको भए २३ वर्षको छोटो अवधिमा जापान विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सक्ने थिएन। सन् १९४७ मा भारतीय नागरिक राष्ट्रका लागि एकत्रित नभएका भए सायद अर्को कति वर्षसम्म उनीहरू परतन्त्री भएर बाँच्नु पथ्र्यो भन्ने कुनै लेखाजोखा हुन्थेन। विश्वका धेरै देश जो आज समृद्ध र विकसित अवस्थामा छन्, त्यहाँका नागरिकलाई देशको माया हामीभन्दा बढी छ। किनकि उनीहरूलाई हिजो अरूले शासन गर्दाको पीडा थाहा छ।

युद्धले देश बगरमा परिणत हुँदा खसेको प्रत्येक आँसुको मूल्य थाहा छ। त्यसैले ती देशहरू बने। तर हामीलाई त कसैले गुलाम नबनाउनु नै हाम्रो प्रगतिको ठूलो बाधक भएको देखियो। हामीसँग न कसैको बुट खाएको पीडा छ न त देश कुनै दिन बगर बनेको नै थाहा छ। हामीलाई फोकटमा आएको देश भयो नेपाल। नेपालमा केही वर्षयता हरेक क्षेत्रमा गरिएका निर्णय तथा कार्यहरू हेर्दा लाग्छ अब यो देशमा अर्को पुस्ता नै जन्मँदैन। हामी नै यहाँको सर्वेसर्वा हौं, जे जति स्रोतसाधन यो देशमा उपलब्ध छ, त्यसको उपभोग केवल हामीले मात्र गर्नुपर्छ। भोलिको पुस्ताको भविष्य जेसुकै होस् भन्ने यस्तै निकृष्ट विचारबाट ग्रस्त आजको पुस्ताले दीर्घकालीन प्रभाव पार्ने संवेदनशील निर्णय पनि क्षणिक फाइदालाई मात्र हेरेको छ।

नेतृत्वमा व्याप्त यो रोग विस्तारै नागरिकमा पनि फैलिँदै जानु आजको तीतो यथार्थ हो। यसैको परिणामस्वरूप नागरिकमा निजी स्वार्थका लागि राष्ट्रलाई नै दोहन गर्ने प्रवृत्तिदेखि थालेको छ। यस्तो प्रवृत्तिले यो राष्ट्र बन्ला त ? विश्वमा यस्ता थोरैमात्र देश छन्, जसको इतिहास मान र सानले भरिएको होस्। नेपाल त्यसैमध्येमा एक हो। नेपालको इतिहासमा यस्तो ताकत छ जसले सम्पूर्ण नेपालीलाई देशप्रति गर्व अनुभूत गराउँदै एकताको सूत्रमा बाँध्न सक्छ। राष्ट्र र राष्ट्रियतालाई जगैबाट बलियो बनाउन सक्छ। तर विडम्बना हामीले आजका पुस्तालाई हाम्रो इतिहास यथारूपमा बुझाउनै सकेनौं।

हाम्रा बुझाइ र मानसिकतामा भरिएका आग्रह पूर्वाग्रहबाट इतिहासको व्याख्यालाई चोखो राख्नै सकेनौं। इतिहासका जानकारहरू नै निजी स्वार्थमा विभक्त भयौं। ठूलो गल्ती यही भयो। यही कारण इतिहास आज बंग्याएरै भए पनि आफ्नो अनुकूल व्याख्या गर्ने साधन भइदियो। न कि बहुजाति, भाषा, धर्म, संस्कृति र वर्ग जोड्ने पुल। संस्कृतमा एउटा श्लोक छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात् जननी र जन्मभूमि स्वर्गभन्दा पनि श्रेष्ठ हुन्। हाम्रो देशको मूल नारा पनि हो यो। यो श्लोकले जन्मभूमिलाई त्यसै उच्च स्थानमा राखेको होइन।

हामी जुन भूमिमा जन्मन्छौं, हुर्कन्छौं, त्यसप्रति हाम्रो श्रद्धा, प्रेम, कर्तव्य र जिम्मेवारी हुनुपर्छ नै। नेपालको संविधान २०७२ को धारा ४८ ले पनि नागरिकका कर्तव्यको स्पष्ट उल्लेख गरेको छ। जसमा राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु छन्। लोकतान्त्रिक शासन व्यवस्थामा मात्र होइन, अन्य व्यवस्थामा समेत राष्ट्रको सर्वोच्च शक्ति नागरिकमा नै निहित हुन्छ। भलै त्यो बाहिर नदेखियोस्। विश्व राजनीतिको इतिहासमा नागरिक मात्रैको शक्तिले ठूलाठूला परिवर्तनहरू सम्भव भएको थुप्रै उदाहरणहरू छन्। नागरिककै उत्साह र ऊर्जाले कमजोर राष्ट्र शक्तिशाली भएका छन्।

तेस्रो विश्वबाट पहिलो विश्वमा उक्लिएका छन्। अनि फेरि नागरिककै लापरबाही र अकर्मण्यताको कारण कति देश विश्व मानचित्रबाटै बिलाएका पनि छन्। त्यसैले यो राष्ट्रलाई कता लैजाने भन्ने मुख्य जिम्मेवारी नेपाली नागरिककै हातमा छ। अब नेपाली नागरिक नै नेपाल निर्माणका संवाहक हुन्। तर यसका लागि नागरिक आफ्नो व्यक्तिगत स्वार्थ र दलीय घेराबन्दीबाट बाहिर निस्कनु पर्छ। शारीरिक र सांस्कृतिक विविधताका बीचबाट साझा राष्ट्रिय पहिचान निर्माण गर्नुपर्छ। हरनेपालीमा अनेकतामा एकता र विभिन्नतामा सहिष्णुताको भाव पलाउनु पर्छ। मनमा देश र शिरमा सगरमाथा सजिनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.