सभामुख भन्छन्- राजीनामा दिनेबारे बोल्ने कुरा केही छैन
कोसीको मुख्यमन्त्रीमा उद्धव थापाले नै दाबी पेस गर्ने गठबन्धनमा सहमति
विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले नै दाबी पेस गर्ने सहमति गठबन्धनमा जुटेको छ । नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार गठबन्धनका तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् ।
बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिने सहमति भएको उनले बताए । प्रदेश प्रमुख पर्शुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।
असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई कांग्रेसका २९, सभामुखले राजीनामा दिएमा माओवादी केन्द्रका १३,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एकजना गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहनेछ ।
मेरो बोल्ने कुरा केही छैन : सभामुख
कोसी प्रदेशमा सभामुख बाबुराम गौतमले भने अहिलेको अवस्थामा आफूसँग बोल्ने कुरा नै केही नभएको र बताएका छन् । काठमाडौंबाट विराटनगर फर्कने क्रममा सभामुख गौतमले राजीनामा दिने विषयमा आफूसँग बोल्ने कुरा केही नभएको बताएका हुन्।
केहीदिनदेखि काठमाडौंमा रहेका सभामुख गौतम मंगलबार विराटनगर फर्किदैछन् । राजीनामा दिन तयार हुनु भएको भन्ने प्रश्नमा सभामुख गौतमले भने,‘अहिले, छैन-छैन, अहिले राजीनामा भन्दापनि बोल्ने कुरै छैन । अहिले त बोल्ने कुरा छैन है मसँग।’
सभामुख विराटनगर आएपछि राजीनामा दिएर सरकार गठनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।