ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल र पिकअप हस्तान्तरण
विराटनगर : कोसी प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकालाई सोमबार दमकल (वारुणयन्त्र) र पिकअप भ्यान हस्तान्तरण गरेको छ।
विपद्को जोखिम कम गर्न सेवा केन्द्रमार्फत प्रदेश सरकारले काम गरिरहेको छ। अत्यावस्यक केन्द्रमार्फत प्रदेशका १४ जिल्लामै सेवा प्रदान गर्ने सरकारको योजना रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुरेश राउतले बताए।
उनका अनुसार मन्त्रालयले खरिद गरेर फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप उपलब्ध गराएको हो। सचिव राउतले ७३ लाख ७५ हजारमा दमकल र ३७ लाख रूपैयाँमा पिकअप खरिद गरिएको जानकारी दिए। हालसम्म १६ ठाउँमा दमकल हस्तान्तरण गरिसकिएको उनको भनाइ छ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एक कार्यक्रमका बीच दमकल र पिकअपको चाबी फुङलिङ नगरपालिकाका मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझालाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा बोल्दै थापाले हालसम्म प्रदेश सरकार कामचलाउ अवस्थामै रहेको बताए।
उनले प्रदेशमा स्थिर सरकार बनाउन र राजनीतिक तरलता अन्त्य गर्न दलहरू मिल्न आवश्यक रहेको पनि बताएका छन्। राजनीतिक स्थिरताका लागि दलहरु एक ठाउँमा उभिनुको विकल्प नभएको उनको भनाइ छ।
‘प्रदेश सरकारले पूर्णता पाउन सककेको छैन,’ थापाले भने, ‘कामचलाउ सरकारकै रूपमा अहिले जनताको सेवामा खटिएका छौं।’ पछिल्लो समय प्राकृतिक विपद्, डेंगु संक्रमण, पशुमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले स्थानीय तहलाई निरन्तर सहयोग गर्ने मुख्यमन्त्री थापाले बताए।
डेंगु फैलिइरहेको प्रति सरकार सचेत रहेको भन्दै उनले नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गरे। डेंगुको संक्रमणसँगै विपद् जोखिम न्यूनीकरणका लागि सरकार सक्रिय रहेको थापाको भनाइ छ। ‘प्रदेशमा विपद् जोखिम कम गर्न अझ धेरै काम गर्न बाँकी छ,’ उनले भने, ‘स्थानीय तहलाई साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले निरन्तर सहयोग गरिरहन्छ।’