मुस्ताङ अदालतमा मुद्दाको संख्या बढ्दै
जोमसोम : मुस्ताङ जिल्ला अदालतमा बर्सेनि मुद्दाको संख्या बढ्दो क्रममा रहेको पाइएको छ। चार वर्षअघि अदालतमा जम्मा १८ थान मुद्दा रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा मुद्दाको संख्या ४५ पुग्यो।
अदालतमा अहिलेसम्मकै धेरै ३५ थान मुद्दा फर्छ्यौट भएको छ। यसको अघिल्लो आर्थिक वर्ष ३२ थान मुद्दा फर्छ्यौट भएका थिए। मुद्दा संख्या बढ्दै जाँदा सोही अनुपातमा मुद्दा फर्छ्यौट हुने क्रम पनि बढेको देखिएको छ।
मुस्ताङका ९६ वटा गाउँवस्तीमा मुखिया प्रथा विद्यमान छ। यद्यपि यहाँको मुखियाप्रथा पछिल्लो समय सामाजिक रुपान्तरण हुँदै गइरहेको र स्थानीय जनतामा चेतनाको स्तरवृद्धि हुँदै गईरहेकाले पनि अदालतमा मुद्दा दर्ता हुने क्रम बढेको अनुमान गरिएको छ।
अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेले विगतको तुलनामा मुद्दाको संख्या थपिने क्रम बढेको जानकारी दिए। उनका अनुसार मुस्ताङ जिल्ला अदालतमा २०७६/०७७ मा १८ मुद्दा,२०७७/०७८ मा ३५ थान मुद्दा, २०७८/०७९ मा ४३ थान मुद्दा र २०७९/०८० मा ४५ थान मुद्दा रहेको थियो। यीमध्ये कतिपय मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका थिए।
आर्थिक वर्ष २०७८/०७९ बाट जिम्मेवारी सरिआएका ९ मुद्दा र आर्थिक वर्ष २०७९/०८० का ३६ मुद्दा गरी ४५ मुद्दा मुस्ताङ अदालतमा मौजुद थिए। त्यसमध्ये ३५ थान मुद्दा फर्छ्यौट भइसकेको र १० थान मुद्दा बाँकी रहेको श्रेस्तेदार दिव्यराज घिमिरेले जानकारी दिए। मुस्ताङ अदालतमा सम्बन्ध बिच्छेद १,कर्तव्य ज्यान २,चोरी २,लिखित सम्बन्ध कसुर (किर्ते) २ र सवारी ज्यान मुद्दा ३ गरी १० थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेको श्रेस्तेदार घिमिरेले बताए।