संखुवासभामा सुरक्षा घेराभित्र कैदीको मृत्यु : प्रहरीको भूमिका शंकास्पद,घटनालाई तोडमोड गरिँदै
विराटनगर/संखुवासभा : संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुईजना कैदीको मृत्यु भएको घटनामा वास्तविकता लुकाउने हिसाबले तथ्यलाई बङ्ग्याउन चलखेल सुरू भएको छ । घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।
प्रहरीको कुटाइबाट कैदीको मृत्यु भएको आरोप लागेको छ । केही तथ्यले समेत प्रहरीको प्रत्यक्ष संलग्नतामा घटना भएको देखाउँछ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले पनि प्रहरीले कुटेर कैदीलाई मारेको बताइरहेका छन् ।
तर,स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा घटनालाई तोडमोड गर्दै कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा दुईजनाको मृत्यु भएको भनेर सार्वजनिक गरिएको छ । कारागारको अवस्था हेर्दा कैदीबन्दीबीच झडप र हानाहान भएजस्तो देखिँदैन ।
अन्य कैदीबन्दीले पनि झडप नभएको र प्रहरीकै कुटाइले घटना भएको बताइरहेका छन् । प्रहरीविरुद्ध कारागारभित्रका अन्य कैदी बन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । सुरक्षा घेराभित्र कारागारमा बसेका आफूहरू प्रहरीबाटै असुरक्षित बन्नु परेको गुनासो उनीहरूको छ । कैदीको मृत्यु भएपछि उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न कारागार आसपासमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग राखेर कैदी बन्दीले आधा घण्टाजति नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । त्यसक्रममा सुरक्षाकर्मीलाई लक्षित गर्दै कारागारभित्रबाट ढुंगा तथा विभिन्न सामान (मुढा बनाउन, अल्लोको कपडा तथा टोपी बुन्न प्रयोग गरिने सामान) प्रहार गरियो । सुरक्षामा खटिएका प्रहरीमाथि नै कैदी मारेको आरोप लागेपछि र कारागारभित्र बन्दीबीच झडप भएको पुष्टि हुन नसकेपछि शंकास्पद घटनाले अर्को रूप लिएको छ ।
प्रहरीविरुद्ध नाराबाजी र प्रदर्शन तथा ढुंगामुडा गर्ने नौजना कैदीबन्दीलाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । उनीहरूको विवरण सार्वजनिक गरिएको छैन । संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारको निर्देशनमा उनीहरूलाई जिल्ला प्रहरीमा पुर्याइएको एक प्रहरीले बताए ।
संखुवासभा जिल्ला कारागार खाँदबारी । तस्बिर : अनिष विष्ट
उनका अनुसार ढाकछोप गर्न र घटनामा प्रहरीको संलग्नता नदेखाउन गोदार बिहानैदेखि सक्रिय छन् । मृत्यु प्रकरणमा प्रहरी मुछिने भयले घटनालाई सामसुम पार्न खोजिएको आरोप अन्य कैदीबन्दीले पनि लगाएका छन् । ‘हामीसँगै कैद भुक्तान गरिरहेका साथीहरूलाई आँखैअगाडि प्रहरीले कुटपिट गरेर मार्यो । हामी विरोधमा उत्रियौं,’एक कैदीले भने,‘घटनापछि अक्रोशित बनेकामध्ये केही साथीहरूलाई निकालेर बाहिर लगिएको छ । उनीहरूको अवस्था अज्ञात छ ।’उनका अनुसार कारागार तोडेर भाग्न खोजेको भन्दै सादा पोशाकमा चार/पाँचजनाको संख्यामा रहेका प्रहरीले दुईजनालाई कारागारको कम्पाउण्डभित्रै मंगलबार रातिनिर्घात कुटपिट गरेका हुन् ।
बुधबार बिहान लगभग ५ बजेसम्म निरन्तर कुटपिट गरिएपछि दुवैजनाको कारागारभित्रै मृत्यु भएको उनले दावी गरे। भने,‘कारागारभित्रै मृत्यु भइसकेपछि उपचारका लागि भनेर अस्पताल लगियो । कारागारमा झडपसडप केही पनि भएको हैन । यहीं आएर हेर्दा थाहा भइहाल्छ । हामी सबै मिलेरै बसेका छौं । कैदीको मृत्यु भएपछि वास्तविकता लुकाएर आफू बाँच्ने बाटो पहिल्याउन घटनालाई बङ्ग्याउने काम प्रहरीले गरेको हुनसक्छ ।’
उनले प्रदर्शनको नेतृत्व गर्नेहरूलाई कारागारबाट निकालेर लगिएको र कुटाइबाट आफूहरूसँगै रहेकाको मृत्यु भएपछि अन्य कैदीबन्दी पनि त्रसित बनेको जानकारी दिए । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयमा राखिएका नौजनालाई कारागारभित्र बन्दीबीच झडप भएर घटना भएको हो भन्नलाई बाध्य पार्ने काम भइरहेको छ ।
‘उनीहरुलाई हामी (कैदी बन्दी)बीच झडप भएको हो भन्नु भनेर बाध्य पारिँदै छ । घटनामा प्रहरीको संलग्नता छैन भन्नु भनेर डीएसपी गोदारसहितले दबाब दिइरहेका छन्,’एक प्रहरीले भने,‘तर,उनीहरु यस विषयमा मौन छन् । मानसिक तथा शारीरिक यातना दिने र धम्क्याउने काम भइरहेको छ ।’
घटनालाई मोडेर उनीहरुलाई स्वीकार्न बाध्य पार्ने काम भइरहेको उनले बताए । कारागारका निमित्त जेलर राजेन्द्र घिमिरेले भने कैदीको मृत्यु भएपछि कारागारको अन्तरिक सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको बताए । ‘जेल तोडेर भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिएर प्रहरीले कैदीलाई कुटेको कुरा आएको छ,’उनले भने,‘तर, हेर्दाखेरी बन्दीबीच कारागारभित्र झडप भएर घटना भएजस्तो देखिन्छ ।’
कैदीबन्दीको हत्या भएको भनेर कारागारभित्र आन्दोलन र भित्रबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि नौजनालाई बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको घिमिरेले बताए । खाँदबारी बजारको बस्तीभन्दा कारागार तल पर्छ । माथिका घरहरूबाट कारागारको कम्पाउण्डभित्र भएका गतिविधि प्रष्टसँग देख्न सकिन्छ । स्थानीय सारदा बजगाईंले बुधबार राति १:३० बजेतिर कारागारको कम्पाउण्डबाट ऐया–ऐया भनेर कराएको आवाज आएपछि हेर्दा सादा पोसाकका ४–५ जना प्रहरीले दुईजनालाई निर्घात कुटपिट गरिरहेको आफूले देखेको बताइन् ।
‘निर्वस्त्र बनाएर कम्पाउण्डभित्र कुटपिट भइरहेको थियो । त्यो दृष्य मैले निक्कै बेरसम्म हेरिरहें । कुटाइ खाने दुईजना पीडा सहन नसकेर चिच्याइरहेका थिए,’बजगाईंले भनिन्,‘खुट्टामा हान,खुट्टामा हान भनेर शरीरमा जहाँ पायो त्यहाँ कुटपिट गर्ने काम भइरहेको थियो । एक घण्टापछिदेखि होहल्ला अलि कम हुँदै गयो । अहिले बन्दबीच झडप भएर दुईजनाको मृत्यु भएको गलत हल्ला फैलाउन सुरु गरिएछ ।’
कारागारभित्रबाट नाराबाजी र प्रदर्शन गर्दै कैदीबन्दीले प्रहरीविरुद्ध ढुंगामुडासमेत गरेको आफूले देखेको उनले बताइन् । ‘चरम यातना दिँदै कुटेर कैदीलाई मारिएको भनेर कारागारभित्रबाट कैदीबन्दीले आन्दोलन र ढुंगामुडा गरेका हुन्,’बजगाईं भन्छिन्, ‘घटना प्रत्यक्ष देखेका हामीले डर र त्रासका कारण अहिलेसम्म खाना खान सकिरहेका छैनौं ।’
उनले आँखा वरिपरि घुमिरहेको घटनाले शरीर नै जिरिङ्ग बनाइहेको बताइन् । कारागारभित्र प्रहरीले गरेको हर्कतपछि वरपरका बासिन्दासमेत त्रसित बनेको बजगाईंको भनाइ छ । खाँदबारी कारागारमा कैदी भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको हो । अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना १ वर्षदेखि कारागारमा थिए ।
डीएसपी गोदारले भने उपचारका क्रममा खाँदबारी अस्पतालमा दुवैजनाको मृत्यु भएको बताए । भाग्नलाई राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर उनीहरु कम्पाउण्डमा निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ । ‘कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएछन् । प्रहरीले उद्धार गरेर उपचारका लागि लगेको हो,’गोदारले भने, ‘उपचारका क्रममा मृत्यु भयो । शव अस्पतालकै शवगृहमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’
कारागारको सुरक्षामा असइ (सहायक निरीक्षक)को नेतृत्वमा टोली परिचालित रहेको उनको भनाइ छ । तर,असइको नाम भने आफूले बिर्सिएको उनले बताए । अर्कोतर्फ मृतकका आफन्त एवं परिवारका सदस्य नआइकन प्रहरीले शवको पोस्टमार्टम गराउने प्रयास गरेको थियो । ‘प्रहरीले अस्पताल पुर्याउनेवित्तिकै पोस्टमार्टमको हतारो गर्यो । सबैले विरोध गरेपछि पोस्टमार्टम भने रोकियो,’ कारागार स्रोतले भन्यो, ‘प्रहरीकै कुटपिटबाट मृत्यु भएपछि तोडमोड गरेर तथ्य बङ्ग्याउँदै घटनालाई ढाकछोपको प्रयास भइरहेको छ । कारागारभित्र झडप भएको गलत हल्ला बाहिर ल्याइएको छ ।’
घटनापछि मृतकका केही आफन्त पनि खाँदबारी पुगिसकेका छन् ।
अस्पताल स्रोतका अनुसार अस्पताल ल्याइपुर्याउँदा एकजनाको ढुकढुकी मात्रै थियो । एकजनाको मृत्यु भइसकेको थियो । तर,प्रहरीले भने उपचारका क्रममा उनीहरूको मृत्यु भएको झुटो कुरो बताइरहेको अस्पतालका एक स्वास्थ्यकर्मी बताउँछन् । ‘कैदी बन्दीबीच झडप हुँदा प्रहरीले छुट्याउन भूमिका खेल्न सक्थ्यो । अचेत अवस्थामा मात्रै फेला पारिएको भन्नुले घटना त्यसै शंकास्पद छ,’एक प्रहरी भन्छन्,‘कारागारभित्र झडप भएकै छैन । कुटपिटबाट मृत्यु भएपछि घटनालाई अर्कोतर्फ मोड्ने प्रयास गरिएको हो ।’
उनका अनुसार कारागारको सुरक्षामा खटिएको प्रहरीले दुईजना भाग्न खोजेको जानकारी राति नै डीएसपी गोदारलाई गराएको थियो । गोदारकै निर्देशनमा उनीहरूमाथि कुटपिट भएको आरोप पनि लागेको छ । कारागारभित्र झडप नै भएको भएपनि घटना रोक्नलाई बेलैमा किन भूमिका खेल्न सकेन भनेर सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्नसमेत उठेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले भाग्न खोजेका बन्दीलाई नियन्त्रणमा लिएपनि प्रहरीले कुटपिट गरेको जानकारी नआएको बताए । ‘भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको कुरा आएको छ । त्यसपछि बिहान ५ बजेतिर कैदी बन्दीले होहल्ला गरेछन्,’उनले भने, ‘गएर हेर्दा दुईजनालाई अचेत अवस्थामा भेटिएको भनिएको छ । उपचारका लागि अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको जानकारी आएको छ ।’
भाग्न खोजेको विषयलाई लिएर कैदी बन्दीबीच नै कुटाकुट भएको हुनसक्ने कँडेलले बताए । तर, घटनामा प्रहरीको लापरबाही र कमजोरी देखिए कारबाही हुने उनको भनाइ छ ।
सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति
शंकास्पद घटनाको छानबिनका लागि जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको छ । छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका नायब शुब्बा तारणी घिमिरे सदस्य छन् ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले छानबिनबाट सत्यतथ्य पत्ता लाग्ने दाबी गरे । ‘घटना शंकास्पद देखिएकाले छानबिनका लागि समिति बनाइएको हो,’उनले भने,‘सत्यतथ्य पत्ता लगाएर बाहिर ल्याउँछौं ।’
कारागारमा हाल ८ जना महिलासहित १ सय ३८ जना कैदीबन्दी छन् ।