कैदीको मृत्यु प्रकरणमा गृहले बनायो छानबिन समिति, पाण्डे तोकिए संयोजक
विराटनगर/ संखुवासभा : संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुई जना कैदीको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पनि छानबिन समिति बनाएको छ।
कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डे समितिको संयोजक तोकिएका छन्। मन्त्रालयले पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो।
समितिमा नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डीएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत (नाम तोकिएको छैन) सदस्य छन्।
गृह प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन पेस गर्न समय उपलब्ध गराइएको जानकारी दिए। ‘सबै कुराको अध्ययन गर्दै घटनाको छानबिन गरेर समितिले सत्य तथ्य रिपोर्ट दिने छ,’ उनले भने, ‘समितिको प्रतिवेदन प्राप्त भइसकेपछि घटनासँग सम्बन्धित सबै कुरा प्रष्ट हुन्छ।’
प्रवक्ता भट्टराईका अनुसार कारागारबाट भाग्न खोजेका दुई कैदीलाई प्रहरीले नियन्त्रणमा लिएर बन्दीगृहभित्र राखेको र अरु कैदीबन्दीले उनीहरुमाथि कुटपिट गर्दा घटना हुन पुगेको जानकारी प्राप्त भएको छ। ‘घटना शंकास्पद देखिएका कारण वास्तविकता पत्ता लगाउन छानबिन समिति बनाइएको हो,’ उनले भने, ‘घटनाका सम्बन्धमा अहिले धेरै बोल्न मिल्दैन।’
समितिका सदस्यले शुक्रबार संखुवासभा पुगेर घटनास्थलको अध्ययन सुरु गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घटनास्थल पुगेर अनुगमन गरेपछि छानबिन एवं अनुसन्धानले कसरी सही बाटो लिन सक्छ भन्ने यकिन हुने छ।
यही घटनाको छानबिन गर्न कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा अलग्गै समिति बनाएको छ। चार सदस्यीय समितिमा इन्सपेक्टर (प्रहरी निरीक्षक) जितेश दाहाल, सइ (प्रहरी नायव निरीक्षक) रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्। समितिका सदस्यहरु बिहीबार संखुवासभा पुगिसकेका छन्।
त्यस्तै, जिल्ला सुरक्षा समिति संखुवासभाले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ। समितिमा इन्सपेक्टर सरोज खनाल र प्रशासन कार्यालयका शुब्बा तारणी घिमिरे सदस्य छन्। घिमिरे नेतृत्वको समितिले भने छानबिन सुरु गरिसकेको बताइएको छ।
कारागारबाट भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै र यातना दिँदै कैदीलाई मारेको आरोप प्रहरीमाथि लागेको छ। कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरु संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुको बुधबार बिहान मृत्यु भएको हो।
कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको छ। झडप तथा कुटपिटका कारण दुई जनाको मृत्यु भएको भनिए पनि अन्य कैदीबन्दी तथा स्थानीय प्रत्यक्षदर्शीले भने सादा पोसाकमा चार/पाँच जनाको संख्यामा रहेका प्रहरीकै कुटाइले कैदीको ज्यान गएको बताइरहेका छन्।