सबै भ्रष्टाचारका विषयमा उच्चस्तरीय छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
प्रधानमन्त्रीकै विरुद्धमै छानबिन भएछ भने पनि छानबिनका लागि तयार हुनुपर्ने उनले बताए। ‘सबै प्रकरणको उच्चस्तरीय छानबिन हुनुपर्छ, म त्यसका लागि तयार छु’, उनले भने।
बुटवल : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारका विषयमा उच्चस्तरीय छानबिन समिति आवश्यक हुने बताएका छन्। सुन काण्डमा नेकपा एमालेले छानबिन समितिको विषयमा गरेको माग सैद्धान्तिक रूपमा सही भएको भन्दै अन्य विषयमा पनि छानबिन समिति आवश्यक रहेको बताए।
भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने भन्दै संरचनागत रूपमा परिवर्तन आवश्यक रहेको उनले बताए। ‘देशको विकासका लागि स्पष्ट मार्गचित्र आवश्यक छ, सुशासनका विषयमा सरकार दृढ हुनुपर्छ, शुक्रबार बुटवलमा बोल्दै उनले भने, ‘वैचारिक आधारबिनाका चुनाव जित्ने दलीय गठबन्धनले मुलुकमा परिवर्तन हुँदैन। समाजवाद केन्द्रित वैकल्पिक शक्ति आवश्यक छ।’
ललिता निवास, जहाज खरिदका घोटला, परियोजना निर्माणका घोटलामा निष्पक्ष छानबिन हुनुपर्छ उनले बताए। यस्ता समितिले राष्ट्रपति र प्रधानमन्त्रीमाथि पनि छानबिन गर्ने हैसियत राख्नुपर्ने उनले बताए। ललिता निवास प्रकरणमा आफूले छानबिनमा सघाउने भन्दै त्यो निर्णय आफ्नो व्यक्तिगत स्वार्थमा नभएको उनको जिकिर थियो। ‘छानबिनको स्वागत गर्छु, मबाटै उच्चस्तरीय छानबिन सुरु हुन्छ भने म सघाउन तयार छु’, उनले भने।
प्रधानमन्त्रीकै विरुद्धमै छानबिन भएछ भने पनि छानबिनका लागि तयार हुनुपर्ने उनले बताए। ‘सबै प्रकरणको उच्चस्तरीय छानबिन हुनुपर्छ, म त्यसका लागि तयार छु’, उनले भने।