विद्युत् निर्यातभन्दा आयात झन्डै दोब्बर
प्राधिकरणले १० अर्ब ४५ करोडको विद्युत् बेचेको छ भने १९ अर्ब ४४ करोड रुपैयाँको बिजुली किनेको हो।
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा विद्युत् निर्यातभन्दा झन्डै दोब्बरले आयात गरेको छ। प्राधिकरणले १० अर्ब ४५ करोडको विद्युत् बेचेको छ भने १९ अर्ब ४४ करोड रुपैयाँको बिजुली किनेको हो।
गत आवमा प्राधिकरणको नाफा १ अर्ब रुपैयाँले खुम्चिएको छ। प्राधिकरणका अनुसार आव २०७९/०८० मा खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। जबकि अघिल्लो आव २०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो। अघिल्लो आर्थिक वर्षमा विद्युत् आयात बढ्दा नाफा प्रभावित भएको प्राधिकरणको भनाइ छ।
अघिल्लो वर्ष सुक्खायाम लामो समयसम्म रहिरहँदा खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा ह्रास आएकोले आन्तरिक माग धान्नकै लागि बढी विद्युत् आयात गर्नु परेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको नाफा आव २०७७/०७८ मा ६ अर्ब १० करोड रुपैयाँ थियो। प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिएको छ।
विद्युत् निर्यात
नेपालले २०७८ कात्तिकदेखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरेको थियो। हाल करिब ४५० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतको मन्त्रालयसँग करिब ६ सय मेगावाट विद्युत् निर्यातको लागि सहमतिको प्रक्रियामा अघि बढिरहेको प्राधिकरणले जनाएको छ।
- १० अर्ब ४५ करोडको विद्युत् बेचियो भने १९ अर्ब ४४ करोडको किनियो।
- दुई वर्षअघिबाट विद्युत् निर्यात थालिएकोमा हाल करिब ४५० मेगावाट भारत पठाइँदै।
- हालसम्म करिब ८०५२ मेगावाट विद्युत् खरिद बिक्री सम्झौता।
बिहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ केभी प्रसारण लाइनबाट बिहारको ग्रिड हुँदै भारतको केन्द्रीय ग्रिड प्रणालीबाट करिब ३०० मेगावाट विद्युत् बिक्री गर्न पीटीसी इन्डिया, बिहार स्टेट पावर कर्पोरेसन र प्राधिकरणबीच त्रिपक्षीय सहमति भएको छ। भारतको हरियाणा राज्यलाई विद्युत् सप्लाई गर्ने गरी भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनसँग पाँच वर्षको लागि २०० मेगावाटको मध्यकालीन विद्युत् बिक्री सम्झौता सम्पन्न भएको छ। सो को समहतिको लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको छ।
जडित क्षमता २८२२ मेगावाट
हालसम्म प्रणालीको जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ। हालसम्म जलविद्युत् तथा सौर्य आयोजनाबाट ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा १३८३.३७ मेगावाटका उत्पादन सुरु भएको प्राधिकरणले बताएको छ। हालसम्म करिब ८ हजार ५२ मेगावाट विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएकोमा गत दुई वर्षमा मात्र करिब १ हजार ७ सय ७४ मेगावाटको विद्युत् खरिद बिक्री सम्पन्न भएको छ। यसको अलावा प्राधिकरणले करिब २ हजार २ सय ९० मेगावाटको मस्यौदा विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ।
सौर्य विद्युत्को आधार मूल्य ५.९४ रुपैयाँ पैसा तोकी पहिलोपल्ट बोलपत्रमार्फत प्रतिस्पर्धा गरी करिब १०० मेगावाटको सौर्य विद्युत्को खरिद सम्झौता गर्ने चरणमा रहेको प्राधिकरणले जनाएको छ।
चुहावट घट्यो
आर्थिक वर्ष २०७७/०७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट ३.९२ प्रतिशतले घटेको छ। हाल विद्युत् चुहावट १३.४६ प्रतिशतमा रहेको छ। वितरणतर्फको विद्युत् चुहावट ९.७६ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ।
करिब दुई वर्षअघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण लाइनको विद्युत्् पाएकोमा अहिले ९५ प्रतिशत पुगेको छ। मधेस, बागमती र गण्डकी प्रदेशमा सारभूतरूपमा पूर्ण विद्युतीकरण भएका छन्। कोसी प्रदेशमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६७ र सुदूरपश्चिममा ८२ प्रतिशत विद्युतीकरण भएको छ।
७ सय ५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ सारभूतरूपमा पूर्ण विद्युतीकरण, २ सय २७ स्थानीय तहहरूका अधिकांश स्थानमा र २१ स्थानीय तहका अधिकांश स्थानमा सोलार, साना तथा लघु जलविद्युत्मार्फत विद्युतीकरण भएका छन्। प्रतिव्यक्ति ऊर्जा खपत करिब २ सय ३५ युनिट रहेकोमा अहिले बढेर ३ सय ८० पुगेको छ। विगत दुई वर्षमा उद्योगको ८०० एमभीए विद्युत् लोड स्वीकृत गरिएको छ।