मोरङ कारागारबाट कैदीको चामल बिक्रीको आशंका, कर्मचारीमाथि छानबिन हुँदै

मोरङ कारागारबाट कैदीको चामल बिक्रीको आशंका, कर्मचारीमाथि छानबिन हुँदै

विराटनगर : जिल्ला कारागार मोरङमा रासनवापत कैदीबन्दीका लागि उपलब्ध गराइएको चामल कर्मचारीकै मिलेमतोमा बिक्री हुने गरेको आशंका गरिएको छ। 

कारागार प्रशासनले वितरण गरिसकेपछि चामल बिक्री गर्ने गरेको आशंकामा छानबिन अघि बढाइएको छ। कैदीबन्दीहरुले चौकीदार र कर्मचारीको मिलेमतोमा चामल बाहिर लगेर बिक्री गर्ने गरिएको गुनासो गरेका छन्। कारागारले कैदीबन्दीलाई सिदावापत प्रतिव्यक्ति दैनिक सात सय ग्राम चामल र ८० रूपैयाँ नगद उपलब्ध गराउँछ। 

मोरङ कारागारमा १० दिनका लागि एकैपटक चामल वितरण गर्ने गरिएको छ। नेपाल खाद्य संस्थानबाट ल्याएर कान्छी मन्सुली (अरुवा) चामल कैदीबन्दीलाई उपलब्ध गराउने गरिएको हो। महिला र पुरुष गरेर तीन सय क्षमताको कारागारमा सोमबार एक हजार ५३ जना कैदीबन्दी रहेको जेलर कृष्ण खड्काले बताए। 

उनका अनुसार कारागारमा दैनिक सात सय किलोग्रामभन्दा बढी चामल खपत हुने गरेको छ।
‘दैनिक सम्भव नहुने हुँदा कारागार प्रशासनका तर्फबाट कैदीबन्दीलाई १० दिनका लागि एकैपटक चामल उपलब्ध गराउने गरिन्छ। त्यो चामल कैदीबन्दीकै हो। उनीहरुका लागि चामल राख्न कारागारभित्र एउटा गोदामकै व्यवस्था छ। त्यहाँबाटै निकालेर प्रयोग गर्ने हुन्। गोदामको चाबी चौकीदारसँग हुन्छ,’ खड्काले भने। उनका अनुसार एक जना बराबर सात सय ग्रामभन्दा अलिकति पनि तलमाथि गरेर चामल दिन पाइँदैन। 

त्यसो हुँदा एक जना कैदीले १० दिनका लागि सात किलोग्राम चामल एकैपटक पाउँछन्। चामल चौकीदारको मातहतमा हुने गरी गोदामभित्र राखिन्छ। त्यहाँबाट निकालेर कर्मचारीकै मिलेमतोमा चामल बिक्री गर्ने गरिएको कैदीबन्दीको गुनासो छ। 

तर, केही कैदीबन्दीले कारागारले उपलब्ध गराएको नखाएर अर्को चामलको भात खाने तथा कसैले रोटीका लागि चामलसँग साटेर पिठो एवं फलफूलसमेत ल्याउने गरेको जेलर खड्का बताउँछन्। 
‘कारागार प्रशासनले सबैलाई एउटै गुणस्तरको चामल उपलब्ध गराउने हो। तर, सबै जनाले भात खाँदैनन्। कसैले अरु नै चामलको भात तथा रोटी एवं फलफूल खान्छन्,’ उनले भने, ‘कारागारले दिएको चामल नखानेले बाहिरबाट सट्टापट्टा गर्ने गरेका छन्। व्यवहारिक समस्या हेरेर आवश्यकता अनुसार साट्नलाई कारागार प्रशासनले सहजीकरण गरिदिन्छ। कैदीबन्दीलाई कारागारले नै दिएको चामल तिमिहरुले खानुपर्छ भनेर बाध्य बनाउन सकिँदैन।’ 

तर, कैदीबन्दीका लागि भनेर उपलब्ध गराइएको चामल बजारमा बिक्री गर्ने गरेको आशंकामा छानबिन एवं अनुसन्धान अघि बढाइएको जेलर खड्काले बताए। प्रक्रिया पूरा नगरिकन गोदामबाट चामल बाहिर लैजान खोजेको पाइएपछि कर्मचारीको भूमिका शंकास्पद एवं विवादास्पद देखिएको उनको भनाइ छ। यस प्रकरणमा कारागारका कार्यालय सहयोगी शिवचरण सिंह मुछिएका छन्। 

करारमा कार्यरत सिंह कारागारका पुराना कर्मचारी हुन्। २० वर्षदेखि कारागारमा काम गरिरहेका उनको समयसमयमा करार नवीकरण हुने गरेको छ। राजनीतिक दबाबका आधारमा नियुक्ति लिएर २०६० सालदेखि काम गरिरहेका सिंह पटकपटक विवादमा आइरहने कर्मचारी हुन्। तर, राजनीतिक आडभरोसाले उनको विवादित व्यवहारलाई छोपिदिने गरेको छ। 

चौकीदार र केही कैदीबन्दीसँग मिलेर कारागारभित्र प्रतिबन्धित वस्तुसमेत पुर्‍याइदिने गरेको आरोप उनीमाथि छ। ‘प्रतिबन्धित वस्तु ल्याइदिएवापत कैदीबन्दीसँग पैसा लिन्छन्। चौकीदारसँग मिलेर तास, मदिरा, चुरोट, खैनीलगायतका वस्तु ल्याइदिने गरेका हुन्,’ कैद भुक्तान गरेर मोरङ कारागारबाट भर्खरै निस्किएका एक जनाले भने, ‘अविश्वास गरेर सुरक्षाकर्मीले कर्मचारीमाथि नै निगरानी एवं चेकजाँच गर्ने कुरा भएन। त्यसको फाइदा उठाउँदै प्रतिबन्धित वस्तु कारागारभित्र छिराइदिन मद्धत र सहजीकरण गरिदिने तथा त्यसवापत पैसा लिने गरेका छन्।’ 

उनका अनुसार चौकीदारसँग मिल्दै डर र त्रासमा पारेर कैदीबन्दीका आफन्तसँग समेत सिंहले पैसा उठाउने गरेका छन्। ‘कैदीबन्दी भेट्न कारागार आएका आफन्तलाई डर र त्रास देखाउँदै पैसा लिने गरेका छन्। नत्र आफन्तसँग भेटघाट नै गर्न दिँदैनन्। मलाई भेट्न आउने मान्छेसँग पनि पटकपटक पैसा लिएको पाइयो,’ उनले भने, ‘कारागार प्रशासनसँग गुनासो गर्दा पनि सुनुवाइ भएको थिएन। चौकीदारसँगै मिलेपछि अरु कैदीबन्दीले विरोध गर्न सक्दैनन्। मोरङ कारागार नै कार्यालय सहयोगी (सिंह)को अधिनमा चल्थ्योभन्दा पनि हुन्छ।’ 

सिंहको सक्रियतामा चामल बिक्री गरिने र कारागारभित्र भने चामल सकियो भनेर कैदीबन्दीलाई चिउरा तथा भुजा खुवाउने गरिएको उनले बताए। उनका अनुसार कारागारमा कैदीबन्दीलाई खानाको प्रबन्ध गर्न सातवटा अलगअलग मेस छन्। एउटा मेसमा सय जनाभन्दा बढीले खाना खाने जानकारी उनले दिए। 

उनका अनुसार यसअघि कारागारभित्र सिंहले जे भन्यो त्यही हुन्थ्यो। चौकीदारसँगको मिलेमतोमा सिंहले चामल बिक्री गरिरहेको र आफूहरु भोकभोकै परेको गुनासो कैदीबन्दीले पटकपटक कारागार प्रशासनलाई गरेका थिए। तर, उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको थिएन। न त छानबिन एवं अनुसन्धान नै भएको थियो। 

सट्टापट्टा गर्ने बहानामा कारागार प्रशासनलाई थाहा नदिइकन चामल बाहिर लैजान खोजेपछि बिक्री गर्ने गरेको आशंकामा सिंहलाई जिम्मेवारीबाट हटाएर साउन २४ गतेबाट छानबिन अघि बढाइएको जेलर खड्काले बताए। ‘चामल बाहिर लैजान खोजेको कुरा कारागार प्रशासनलाई जानकारी नै थिएन। बिना अनुमति लैजान लागेका रहेछन्,’ उनले भने, ‘चामल लैजान कारागारभित्र पिकअप गाडी छिराएको पाइयो। कति चामल लैजान खोजेका थिएभन्ने यकिन हुन बाँकी छ।’ 

खड्काले कर्मचारीको आचरणविपरीतको यस कार्यमा अरु कर्मचारीको पनि संलग्नता हुनसक्ने भएकाले छानबिनको दायरालाई फराकिलो पारिएको बाताए। ‘सिंहविरुद्ध यसअघि पनि धेरै गुनासा आएका थिए। बदमासी गरेका केही प्रमाणहरु पनि फेला परेका छन्,’ उनले भने, ‘अहिले कार्यालय प्रवेश र हाजिरीमा रोक लगाएर छानबिन अघि बढाइएको हो। कारबाहीको प्रक्रिया चलिरहेकाले यसमा अरुको संलग्नता यकिन भइसकेको छैन।’ उनका अनुसार चामल किनबेच हुने ठाउँ वा पसल खुलेको छैन। तर, सिंहसँगै अरु कर्मचारीमाथि पनि छानबिन हुन आवश्यक रहेको कैदीबन्दी बताउँछन्। 

सिंहले भने चामल बिक्री गर्नेलगायतका अवैध धन्दामा आफ्नो संलग्नता नरहेको बताएका छन्। ‘म एउटा कामले बाहिर छु। केही दिनदेखि कारागार गएको छैन,’ उनले भने, ‘कैदीलाई बाँड्ने चामल मैले कसरी भेट्नु ? प्रतिबन्धित वस्तु कारागार छिराउने कुरा आरोप मात्रै हो।’  

विराटनगरमा रहेको बालसुधार गृहका लागि पनि मोरङ कारागारबाटै चामल उपलब्ध गराइन्छ। बालसुधार गृह र सट्टापट्टाका लागि भनेर बाहिर निकाल्दै चामल बिक्री गर्ने गरिएको कारागार स्रोतले बतायो। ‘कैदीलाई दिएको चामलको बोरामा खाद्य संस्थानकै ट्याग हुन्छ। बाहिर भने बोरा परिवर्तन गरेर चामल बिक्री गरिन्छ। कारागारले कैदीलाई चामलबाहेक अरू खाद्यान्न दिन मिल्दैन,’ स्रोतले भन्यो, ‘आर्थिक रूपमा सबल रहेका कैदीबन्दीले त्यो चामल खाँदैनन्। बाहिरबाट किनेर खान्छन्। नखानेको चामल लगेर बिक्री गरिन्छ।’ 

मोरङ कारागारमा अहिले सौगात आचार्य चौकीदार छन्। आचार्य अपराधिक पृष्ठभूमिका गुन्डानाइके अभिषेक गिरीका सालो रहेको कारागारले जनाएको छ। सजाय भुक्तान गरेर गिरी कैदमुक्त भएपछि उनले चौकीदारको जिम्मेवारी पाएको कारागारले जनाएको छ। त्यसअघि गिरी नै कारागारको चौकीदार थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.