पढ्न र तालिम लिन चाहन्छन् कैदीबन्दी
गोरखा : चोरी–डकैती, काटमार, बलात्कारी तथा तस्करहरूले कारागार भरिएको हुन्छ भन्ने आम सोचाइ हुन्छ। त्यसैले मानिसहरू सिधा आँखाले कारागार क्षेत्रतिर सितिमिति हेर्दैनन्। झुक्किएर नजर पर्यो भने हत्तपत्त हटाउँछन्।
तर, कारागारभित्र आमधारणा जस्तो मात्रै पनि हुँदैन। कानुनको नजरमा दोषी ठहर भएर कैद सजाय भोगिरहे पनि रिहा भएपछि सज्जन बनेका कैयौँ तथ्यहरू छन्। त्यसैले कैद अपराधीहरूले भरिएको ‘नरक’ मात्र होइन, सुधारगृह पनि हो भन्ने मान्यता विकास भइरहेको छ।
गोरखा कारागारमा अहिले ११२ जना कैदीबन्दीहरू छन्। उनीहरूमध्ये पुरुष ९७ र महिला १५ जना छन्। मान्छे काटमार गरेर कैद परेका ११ जना, सोही आरोपका सात जना, बलात्कार गरेर सजाय भोग्न आएका २६, सोही आरोपका १६ जना कारागारमा छन्। त्यस्तै चोरी, डकैती, ठगी गर्ने, लागुऔषध, जिउ मास्ने बेच्नेलगायतका अपराध गर्नेहरू अहिले सजाय भोगिरहेका छन्। उनीहरू जतिसक्दो छिटो सजाय भुक्तान गर्न मात्र होइन, बाँकी जिन्दगीलार्ई सुमधुर बनाउन पनि चाहन्छन्।
‘हाम्रो यहाँँ धेरै वर्ष पहिले स्थापना गरेको पुस्तकालय छ। धेरै पुराना सय थानजति किताब छन्’, कारागारभित्रका चौकीदार ओमबहादुर बयलकोटी भन्छन्, ‘अक्षर पढ्न सक्ने जति सबै किताब पढ्छन्। तर, किताब थोरै छन्। एउटै किताब कतिपटक दोहोर्याएर पढ्ने ?’ भएका किताब पनि धेरै पुरानो जमानाको मात्र रहेको उनको भनाइ छ। ‘जमाना फेरिएको छ, बाहिरी दुनियाँ बदलिएको होला। जमानाअनुसार किताब पनि नयाँ–नयाँ आएका होलान्’, बयलकोटी भन्छन्, ‘तर हाम्रो पुस्तकालयमा धेरै पुरानो जमानाको किताब मात्रै छन्। धेरै भन्दा धेरै किताब पढ्न पाए हामी पनि असल कुरा सिक्न पाउँथ्यौं।’
विभिन्न सिप सिकेर कारागारको समय सदुपयोग गर्न सके कैदमुक्त भएपछिको जीवनलार्ई केही सुन्दर बनाउन सकिने कारागारका नाइके इल्लाफबाबु ठकुराईको अभिलाशा छ। ‘हामीभन्दा पहिले आएकाले मुढा बुन्न सिक्नुभएको रहेछ। उहाँँहरूले हामीलार्ई सिकाउनु भयो। हामीले नयाँ आउनेलार्ई सिकाउँदैछौं’, ठकुराई भन्छन्, ‘मुढा बेचेर अलिअलि पैसाको मुख देख्न पाइएको छ। अरु पनि तालिम पाउन पाए भित्र पनि राम्रो हुने थियो। यहाँँबाट निस्किएपछि पनि राम्रो हुने थियो।’ कपाल काट्ने, चोयाको सामान, ऊनीका सामान, कुकिङ, बेकिङसम्बन्धी तालिम पाउन सके राम्रो हुने उनको चाहना छ। ‘यहाँँभित्र एउटा संस्थाले दिएको सिलाई मेसिन छ। त्यसले च्यातिएको, उध्रिएको कपडा जानी नजानी सिलाउने काम मात्र गर्छौं’, उनी भन्छन्, ‘सिलाई तालिम सिक्न पाए पनि हुन्थ्यो। यहाँँभित्र क्यान्टिन छ। साथीहरूले जानी नजानी, चिया, खाजा बनाएर बेच्नुहुन्छ। कुकिङ, बेकिङ तालिम पाउन पाए यहाँँभित्र बस्दा पनि काम लाग्थ्यो, बाहिर निस्किएपछि पनि सानोतिनो लगानी गरेर चिया खाजा पसल गरेर पनि जीवन बताउन सकिन्थ्यो।’
यहाँँका महिला बन्दीहरू मात्र समय कटाउँदैछन्। बाहिरको संसार फराकिलो छ। तर, उनीहरू कारागारका चार भित्ताभित्रको साँघुरो जिन्दगी बिताउँदैछन्। कैद भुक्तान गरी बाहिर निस्किएपछि पनि यसोउसो गर्छु भनेर कुनै कल्पना गर्न उनीहरूसँग तालिम छैन।
‘जानअन्जानमा भूल भयो। त्यसको सजाय त भोग्नैपर्यो। तर, त्यो गल्तीले जिन्दगी नै बिगार्नु पनि हुँदैन’, महिला कारागारकी नाइके कोपिला गुरुङ भन्छिन्, ‘बाहिर निस्किएपछि पनि त जिन्दगी बिताउनै पर्छ। यहाँँ तालिम सिकेर निस्किन पाए बाँकी जिन्दगी केही गरेर जहान परिवार पाल्न सकिन्थ्यो।’ यहाँँ आफूहरू पहिले घरमै जानेको ऊनीको टोपी, झोला, मोजा बनाएर र बत्ती कातेर समय कटाइरहेको बताउँछिन्।
‘हामीले बनाएको ऊनीको टोपी, झोला, मोजाले खासै बजार पाएको छैन। हामीले कातेको बत्तीचाहिँ राम्रैसँग बिक्छ’, उनी भन्छिन् ।
महिला कारागारको सौचालयमा पानीको व्यवस्था छैन। मनोरञ्जन र शारीरिक कसरतका लागि खेल्ने सामग्रीहरू पनि छैनन्। ‘धेरै वर्ष पहिले त नर्स हुनुहुन्थ्यो। अलि सजिलो भएको थियो’, महिला चौकीदार सपना बिक भन्छिन्, ‘अहिले त हुनुहुन्न। हामीलार्ई सेनिटरी प्याडको अभाव हुन्छ। महिलासम्बन्धी समस्या हुन्छ। सुनाउने मान्छे पनि हँुदैन।’
समस्या पुरुषतर्फ पनि छ। ‘एक नम्बर कोठामा १४ जना, २ नम्बर कोठामा १८, ३ नंबरमा १६ जना अटेसमटेस गरेर सुत्छौं’, चौकीदार बयलकोटी भन्छन्, ‘सबैलार्ई पलङ पुग्दैन अनि आधाजसो पलंगमा, आधाजसो भुइँमा सुत्नुपर्ने हुन्छ’, उनले भने, ‘उडुसको समस्या उत्तिकै छ।
यहाँँ २०४६ सालमा निर्माण भएको ढुंगा, माटोले बनेको कारागार भवन छ। भूकम्पका बेला खल्बलिएको सो भवनलार्ई मर्मतसम्भार गरेर ‘काम चलाउ’ बनाइएको छ। ११ रोपनि क्षेत्रफलमा फैलिएको यहाँँ ३५ पुरुष र २० जना महिला मात्र अट्न सक्ने क्षमता छ। तर, क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी यहाँँ बस्ने जेलर गणेशप्रसाद भट्टराईको भनाइ छ।
कैदीबन्दीलार्ई बेलाबेला जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी मनोचिकित्सासम्बन्धी परामर्श पनि गराइने भट्टराईको भनाइ छ।