‘स्मार्ट कृषि’ले व्यावसायिक
सन्धिखर्क : सन्धिखर्क नगरपालिका– १ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन्।
आर्थिक वर्ष २०७७/०७८ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ कृषकहरू तरकारी खेतीमा लागेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्य समितिका अध्यक्ष प्रेमनारायण भुसालले बताए। उनले ४५ कृषक व्यावसायिक कृषि पेसामा लागेको जानकारी दिए। कृषकको मागका आधारमा कृषकलाई बिउ तथा अत्याधुनिक उपकरणसमेत प्रदान गरेको अध्यक्ष भुसालको भनाइ छ।
तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरूलाई सहयोग गरेको कृषक गोपालप्रसाद खनालले बताए। उनले कृषकको मागका आधारमा मिनिटिलर, डिजिटल काँटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लास्टिक टनेलजस्ता सामग्रीका साथै उन्नत जातका मौसमी तथा बेमौसमी तरकारीका बिउसमेत कृषकले प्राप्त गरेको बताए।
कृषकले उत्पादन गरेको तरकारी बिक्रीका लागि कुनै समस्या छैन। सन्धिखर्क र चुत्रादेवी बजार नजिक भएकाले उत्पादित तरकारी बिक्रीका लागि समस्या नभएको हो।
आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको कृषक दीपक नेपालीले बताए। उत्पादित वस्तुहरू स्थानीय बजारमा नै खपत भएको र बढी भएमा छिमेकी आसपासका जिल्लामा बिक्री वितरण भएको उनले जानकारी दिए।
आधुनिक प्रविधिबाट कृषि गरी कृषकलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए। जसका कारण कृषकहरू व्यावसायिक बनेर राम्रो उत्पादन गरेको बताउँदै कृषकको आयआर्जनमा समेत वृद्धि भएको जानकारी दिए।