भन्सारबाटै निकालेर बेचिएका थिए सुनै सुनका ७३० भेप

भन्सारबाटै निकालेर बेचिएका थिए सुनै सुनका ७३० भेप

काठमाडौं : अलि पुरानो एउटा सुन काण्ड अहिले नयाँ बनेर चर्चामा छ।  त्यो हो इलेक्ट्रिक सिगरेट अर्थात् भेपभित्र राखेर ल्याएको ९ किलोभन्दा बढी सुन।  त्यसभन्दा पछि ब्रेक सुमा ल्याएको सुन समातियो, टक्सार विभाग लगेर गालियो।  तर, भेपभित्र ल्याइएको भनिएको चर्चित काण्डको सुन कहाँ छ ? किन यसलाई पगालिएन ? प्रश्न जति जिज्ञासु छ, उत्तर उति रोचक।  आउनुहोस् पढौं– कसरी भन्सारको गोदाममा राखिएको ठूलो परिमाणको सुन बेचेर खाइयो ? अनि, बजारमा पाउने भेप किनेर दुरुस्त लगेजमा भन्सारभित्र राखियो ? 

२०७९ पुस १० गते बिहानै फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५८७ विमान काठमाडौंमा अवतरण ग¥यो।  जहाजमा चिनियाँ यात्रु ली हानसोङ पनि आएका थिए।  उनको लगेज शंकास्पद थियो।  एक त ब्याग सानो भए पनि निकै गह्रौं थियो, त्यसमाथि एक्सरे जाँचमा धातुझैं वस्तु देखियो।  हानसोङ आफू भन्सार तिरेरै भए पनि लगेज छुटाउन आतुर थिए। 

विमानस्थल भन्सार कार्यालयका कर्मचारीको शंकाको दायरा झनै बढ्यो।  हानसोङका अनुसार दुईवटा सुटकेसमा कुल ७३ बट्टा भेप थिए।  एउटा बट्टामा १० वटा भेप थिए।  कुल ७ सय ३० वटा।  तर, यतिको परिमाणमा ल्याइएको भेप किन एलसी खोलेर ल्याइएन ? प्रश्न उब्जियो।  एक्सरेले शंकास्पद देखाएको हुनाले हानसोङको लगेज रेड लाइनमा हालियो।  अर्थात् सबै वस्तु एकएक खोलेर जाँच गर्नुपर्ने। 

हानसोङ जसरी पनि जाँचपास भएर सामान छुटोस् भन्ने चाहन्थे।  उनी निरन्तर भनिरहेका थिए, ‘यो स्पेसल भेप हो।  चिनियाँ कामदारहरूलाई यो भेप नतानी निद्रा नै लाग्दैन।  लौ न चाँडै छुटाई दिनुप¥यो। ’ विशेष गरी हाइड्रोपावरमा काम गने चाइनिजहरू यो भेप तानेरमात्र निदाउने गरेको उनको तर्क थियो।  भन्सार कर्मचारीहरू यसको सट्टा अर्कैले काम चलाउन भनिरहेका थिए।  भन्सारको उच्च स्रोतका भन्छ, ‘तर, हानसोङले जिद्दी गरे। ’

स्रोतका अनुसार त्यतिबेला यात्रु जाँचपास तथा सहजीकरण शाखामा प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ थिए।  हानसोङको जिद्दीपछि कुरो थप शंकास्पद भयो।  जाँचपास भएर सामान छुट्ने कुरै भएन।  यसैबीच उच्च पदस्थ व्यक्तिहरूले सुन छुटाउन पहल गरिरहे। 

सामान जफत भयो।  ७ सय ३० थान भेपको मुचुल्का उठ्यो।  स्टोरमा राखियो।  भेप व्यवस्थापन गर्ने जिम्मा नायबसुब्बा सरोज श्रेष्ठको थियो।  श्रेष्ठले सुरक्षा गार्ड निर्मलकुमार विकको सहयोग लिएका थिए।  सामान थन्क्याउने क्रममा श्रेष्ठले विकलाई ‘स्पेसल’ भेपको कुरा सुनाएका थिए।  विक एक निजी कम्पनीबाट खटाइएका थिए।  माघ २९ गतेमात्र सो भेप मुद्दा शाखामा दाखिल भएको थियो। 

भेप स्पेसल छ, तानेपछि निद्रा लाग्छ भन्ने सुनेपछि विकको मनमा खुल्दुली भयो।  उनी पनि पारखी थिए, भेपको। 

विकले विशेष किसिमको झोला सुटुक्क काटे।  एउटा भेप निकाले र घर लगे।  घरमा भेप तानौंभन्दा त्यसबाट धुँवा आएन।  आपत् प¥यो।  त्यस्तो स्पेसल भेप के गर्ने ? चार्ज गरेर तान्ने प्रयास गरे।  तैपनि केही आएन।  चोरेर ल्याएको न हो, उनले भेप फुटाए।  सुनजस्तै पहेंलो वस्तु देखियो।  अब त्यो वस्तु सुन हो कि होइन, तय गर्नु थियो।  उनले आफ्नो एकजना साथीलाई प्रेमिकाले दिएको भने।  चिनेको सुन पसलमा जाँच्दा सुन प्रमाणित भयो।  त्यसको सिक्री बनाए। 

भेपमा सुन रहेको कुरा विकबाहेक कसैलाई थाहा थिएन।  उनले एउटाएउटा गरेर ४२ वटा भेप चोरे।  हरेक राति बत्ती काटिदिन्थे, सीसीटीभी बन्द हुन्थ्यो, भेप घर ल्याउँथे। 

एकदिन त्यसै गर्ने क्रममा भन्सार कार्यालयका एक कर्मचारीले देखे।  ती कर्मचारीले सेक्युरिटी कम्पनीकहाँ कम्प्लेन गरेपछि उनी जागिरबाट बर्खास्त भए। 

भन्सार कार्यालयले बरामद भएको वस्तु बोलकबोलबाट लिलामी गर्छ।  तर, मदिरा, सुर्तीजन्य वस्तु भने नष्ट गर्ने गर्छ।  फागुन लागेपछि भेप नष्ट हुँदैछ भन्ने थाहा पाएपछि निर्मललाई निद्रा परेन।  भेपमा सुन रहेको कुरा निर्मलबाहेक कसैलाई थाहा थिएन।  सुनको लालचमा यो कुरा भन्सार एजेन्टसमेत रहेका आफ्नो साथी दिनेश बस्नेतलाई सुनाए।  दुई भाइ मिलेर सुन निकाल्न सम्भव थिएन।  उनीहरूलाई एकजना भन्सारकै मान्छे चाहिएको थियो।  त्यसपछि घटनाक्रममा तेस्रो पात्र आइपुगे।  बस्नेतले बब्लु गुप्तामार्फत त्रिवि भन्सार कार्यालयको गोदाम हेर्ने नासु रेवन्त खड्कालाई भने।  सुरुमा त खड्कालाई विश्वास लागेन।  गुप्ता र खड्का मिलेर भेप राखेको ठाउँमा भेप तान्न खोज्दा धुवाँ आएन।  त्यसपछि सो भेपभित्र कुनै बहुमूल्य सामान रहेकामा आफू विश्वस्त भएको खड्काले बताएका छन्।  यो फागुन २० को कुरा हो। 

गोदाममा सीसीटीभीबाट निगरानी हुने भएकाले उक्त कोठामा थप चेकजाँच गरिएन।  दिनेश बस्नेतले रेवन्तलाई उक्त इलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन रहेको र उक्त सुन बिक्रीको लागि आफूले भारतीय नागरिकसँग डिल गरिसकेको भनी बताए।  सो सुन आफूलाई उपलब्ध गराए सुन बिक्रीबाट प्राप्त रकममध्ये राम्रो रकम हिस्सा दिने लालसा देखाए। 

८–१० दिनपछि मुद्दा शाखामा रहेका लिलामी गर्नुपर्ने र नष्ट गर्नु पर्ने सामानहरूलाई छुट्ट्याई उल्लेखित प्रयोजनका लागि स्थानान्तरण गर्ने क्रममा रेवन्तले भेपसहितको सुटकेस कोठा नं. १११ मा सारे।  कोठा नं. १११ मा रहेका सामानमध्ये लिलामी गर्र्नू भनेर नष्ट गर्नुपर्ने सामानहरूलाई छुट्ट्याउन मजदुरहरूलाई उक्त कोठामा लाने क्रममा बस्नेतसमेतसँगै जाने गरेका थिए।  रेवन्त र दिनेश मिलेर सुनवाला भेपसँग बजारिया भेप साटिदिए। 

दिनेशले लगेको उक्त भेपबाट सुन झिकेर वेदप्रकाश अग्रवाललाई बेचेको र वेदप्रकाश अग्रवालले उक्त सुन भारतीय नागरिक साहेब राव मरगलेलाई बेचेका थिए।  सुनको भेप कहाँ गयो, कसैलाई थाहा छैन।  अहिलेसम्म पनि न त सुनको भेप भेटिएको छ, न त सुन नै। 

यो सबै कुरा तत्कालीन त्रिवि भन्सार प्रमुख अरुण पोखरेलले थाहा पाए।  उनले सुरुमा त यस विषयमा नासु खड्कालाई सोध्ने प्रयास गरे।  नासुले आफू कार्यालयमा नभएको जानकारी गराए।  तुरुन्तै कार्यालय आउन भने, खड्का आएनन्।  केही दिनपछि अझै ताकेता गरे।  खड्काले आफू आकस्मिक बिरामी परेर अस्पताल पुगेको बताए।  पोखरेलले अस्पतालै आउँछु भनेपछि खड्काले आफू भर्खरै डिस्चार्ज भएको बताए।  त्यसो भए घरै आउँछु भने पछि खड्का पोखरेलसामु उपस्थित भए।  सुरुमा त, कुरा स्पष्ट भन्न चाहेनन्।  सीसीटीभी देखाएर भेप साटेको प्रमाणित गरेपछि खड्कासँग लुकाउन बाँकी केही थिएन।  यदि सबै कुरा आफूलाई भनेको खण्डमा केसबाट बचाइदिने नत्र तुरुन्तै प्रहरीलाई भनिदिने आश्वासन दिएपछि उनले सबै कुरा पोखरेलसामु खोले। 

भेप जफत भएको चार महिना बितिसकेको थियो।  र, तुरुन्तै केन्द्रीय अनुसन्धान ब्युरोलाई खबर गरे।  २०८० वैशाख २६ गते पोखरेलले पत्र लेख्दै जफत भएको इलेक्ट्रिक सिगरेट (भेप) नासु रेवन्त खड्कालगायत समूहले साटफेर गरेको पाइएकाले सो काम किन गरेको र कोको संलग्न छन् भन्ने अनुसन्धान गर्न अनुरोध गरे।  पोखरेल तब छक्क परे जब शंका गरिएको भेप यतै बजारमा किनिएको भेटियो र सीसीटीभी फुटेज हेर्दा बरामद भेट साटिरहेको देखियो।  

त्यसपछि सुरु भयो सीआईबीको अनुसन्धान।  नासु रेवन्त खड्का तुरुन्तै पक्राउ परे। 

अनुसन्धानका क्रममा रेवन्तले बयान दिँदै भेपमा सुन रहेको थाहा पाएपछि काठमाडौंको बजारमा किनेको खास भेप लगेर राखिएको, सुन बिक्री गरिसको बताए।  वैशाखपछि २ महिना लगाएर सीआईबीले अनुसन्धान ग¥यो।  र, संलग्नहरूलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालिसकेको छ। 

अनुसन्धानमा के खुल्यो ?

भन्सार एजेन्ट दिनेश बस्नेतको बयानअनुसार उनीहरूले कुल ९ किलो सुन बिक्री गरेका छन्।  ९ किलो निर्मलले निकालेको ४२ वटा भेपबाहेकको हो।  बस्नेतले आफ्ना भाइ दिपेश र भिनाजु गोपाल सुवेदीको सम्पर्कका आधारमा घडी व्यापारी वेदप्रसाद अग्रवालमार्र्फत सुनको अवैध कारोबार गर्नेकहाँ पुगेर बेचेका हुन्। 

सुन चोर्ने समूहले प्रतितोला ८० हजारका दरले सुन बेचेको खुलेको छ।  उनीहरूले साढे ७ सय तोला सुन ६ करोडमा बेचेको खुलेको छ।  ६ करोडमध्ये नासु खड्कालाई ७५ लाख दिए, सुरक्षा गार्ड निर्मललाई २५ लाख।  ६ करोडमध्ये दिनेशले ८० लाखको हिसाब अझै  पाएका थिएनन्। 

दिनेशले बेचेको सुन किन्ने अग्रवालको विशाल बजारमा भूषण चस्मा तथा घडी पसल छ।  दिनेशले सुनबाट आएको पैसाले भक्तपुरको मध्यपुर थिमि–१७ दिव्यश्वरी प्लानिङभित्रको जग्गा खरिद गरेका थिए।  दलाललाई ८ लाख दिएका थिए भने ससुरा रामकेशव थापाको नाममा २ करोड ७५ लाख रुपैयाँको जग्गा किने।  ८० लाख रुपैयाँ डेक्सटर ट्राभल एन्ड टुर्सको नाममा जम्मा गरे।  २० लाखको सामग्री किने, २५ लाख ऋण तिरे।  चार लाख रुपैयाँको त पाटी नै दिए। 

भेप प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।  नायब सुब्बा २७ वर्षीय रेवन्त खड्काको घर वीरेन्द्रनगर नगरपालिका–५ हो।  ३२ वर्षीय दिनेश बस्नेतको घर सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ हो।  उनी  स्थायी ठेगाना भई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको लिलाम सकार गर्ने लगायत काम गर्दै आएका थिए।  यी दुईबाहेक बागलुङ घर भएका २२ वर्षीय सेक्युरिटी गार्ड निर्मल विक,  धरान–२, सुनसरीका वेदप्रकाश अग्रवाल, एक भारतीय नागरिक, दिनेशका साथी ३२ वर्षीय अमृत कार्की पनि पक्राउ परेका छन्। 

दिनेशका भाइ दिपेश बस्नेत, भिनाजु गोपाल सुवेदी र दिनेशका ससुरा रामकेशव थापा भने फरार छन्।  उनीहरूविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा आपराधिक विश्वासघातको कसुरमा खड्कालाई ५ वर्ष र अन्यको हकमा जनही ३ वर्ष र संगठित अपराधमा मूल मुद्दा आपराधिक विश्वासघातमा हुने सजायको आधा अर्थात् नायब सुब्बाको हकमा साढे २ वर्ष र अन्यको हकमा डेढ वर्ष कैद सजायको माग दाबी गरिएको छ। 

लिलाम गर्न खोजिएको हो ?

रेवन्तले सीआईबीलाई दिएको बयानमा  प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले सो भेप सम्बन्धित यात्रु (चिनियाँ नागरिक) लाई नै लिलाम सकार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताएका छन्।  रेवन्तले प्रमुख भन्सार प्रशासक पोखरेललाई भेप दिनेश बस्नेत मार्फत साटफेर गरेबापत १ करोड आएको जानकारी गराएका थिए।  पोखरेलले उक्त सामानहरू दुरुस्त हालतमा फिर्ता ल्याएर गोदाममा जम्मा गरिदिन भनेका थिए। यता पोखरेलले भने सामानहरू लिलाम वा नष्ट जे गरे पनि मूल्यांकन गरी लिलाम वा नष्ट गरिने बताए।  पोखरेलकै संयोजकत्वमा मूल्यांकन समिति गठन भएको थियो। 


भन्सारभित्र राखिने वस्तुमाथि गम्भीर प्रश्न

भेप काण्डले भन्सार मातहतमा राखिने वस्तु सुरक्षित छैन भन्ने गम्भीर प्रमाण दिएको छ।  त्रिवि भन्सारमा सामान चोरिने, सुटकेस काटिनेजस्ता घटना बेलाबखत हुँदै आएका छन्। 

यात्रु जाँचपास तथा सहजीकरणको नाममा आम नागरिकले भोग्नुपर्ने परिस्थिति स्वयम् यात्रुलाई नै थाहा छ।  भन्सार कर्मचारीको बोली व्यवहारले आजित पार्ने गरेको छ।  भेप प्रकरणमा सुटकेस काटेर सुरक्षाकर्मीले नै सामान लैजानुले असुरक्षाको प्रमाण दिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.