उपसभामुख दनुवार अस्पताल भर्ना हुनुभएको छ, अफवाह नफैलाऔं : एमाले

उपसभामुख दनुवार अस्पताल भर्ना हुनुभएको छ, अफवाह नफैलाऔं : एमाले
सुन्नुहोस्

विराटनगर : नेकपा (एमाले)ले कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि अस्पताल भर्ना भएको जनाएको छ। 

मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरेपछि दलका तर्फबाट आफ्नो धारणा राख्दै एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कानुनसंवत रुपमा मार्ग प्रशस्त गरेर उपसभामुख उपचारमा गएको बताए। ‘कानुनसंवत हिसाबले उपसभामुख उपचारका लागि जानु भएको छ। स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना हुनुभएको छ,’ उनले भने, ‘तर, यहाँ त व्यक्तिगत स्वास्थ्य र जीवनलाई सामान्य मान्ने प्रयास गरिँदैछ। एमालेले बिरामी बनाएको भनेर मनगणन्ते आरोप लगाइएको छ।’

जिम्मेवारीमा बसेकाले नै मनगणन्ते आरोप लगाउनु उपयुक्त नहुने भण्डारीले बताए। ‘आफू बिरामी परेको भनेर लिखित जानकारी गराउँदै सभा सञ्चालनको जिम्मेवारीसमेत तोकेर हिँडेको अवस्थामा उपसभामुखमाथि अनेक लाञ्छना लगाउने प्रयास गरिएको छ,’ उनले भने, ‘उपसभामुख कानुनविपरीत प्रदेशसभा बैठकमा नआउनु भएको हो र ?’ तर, सभामुखको पद छँदाछँदै सरकार गठनमा सहभागी गराएर नेपालको संविधानको खिल्ली उडाएको कुरा इतिहासले कहिल्यै नबिर्सिने भण्डारी बताउँछन्। 

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरबाट बहुमत पुर्याउँदै गत असार २१ गते उद्धव थापा मुख्यमन्त्री भएका थिए। गैरसंवैधानिक भनेर सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरिसकेको छ। ‘उपसभामुख बिरामी परेर सभामा उपस्थित हुन नसक्दा चैं असंसदीय हुने। सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बनेर मुलुकको मूल्य, मान्यता र संविधानको ठाडै उल्लंघन गर्दा चैं ठीक ?’ भण्डारीले भने, ‘लिखित सूचना दिएर बिदामा बस्न नपाउने ? सूचना दिएर र नियमावलीको पालना गरेर बिदामा बस्दा चैं विरोध हुने ?’ उनले सभाको अध्यक्षता गरिरहेका प्रदेशसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान दिन लगाउने प्रयास भइरहेको भन्दै प्रदेशसभाको ध्यानआकर्षणसमेत गराएका छन्। 

‘प्रदेशसभा सदस्य बिदामा बस्न नपाउने ? हिजो जानकारी नदिइकन र बिदा नलिइकन अनुपस्थित हुँदा चैं केही नहुने। चुपचाप अनुपस्थित हुँदा केही नहुने ? कानुनको प्रयोग र पालना गर्दा नकारात्मक टिप्पणी हुने। तर, मुख्यमन्त्री र मन्त्री प्राप्तिका लागि सभामुखलाई प्रदेशसभाको सदस्य भनेर हस्ताक्षर गराउँदा चैं ठीक हुने ?’ उनले प्रश्न गरे। विश्वासको मत पाएमा मुख्यमन्त्री थापालाई आफूहरू पनि ताली पड्काएर स्वागत गर्ने, तर विश्वासको मत भने दिन नसक्ने भण्डारीले स्पष्ट पारे।  

गठबन्धनका नाममा संविधान र कानुनको हुर्मत लिने काम भएको भन्दै भण्डारीले अब पनि हुर्मत लिने काम भयो भने प्रदेशिक संरचनामाथिको आलोचना बढेर जाने बताए। संविधान र कानुनको विषयलाई ख्याल ठट्टा गर्ने काम भएको छ। आफू अनुकूल व्याख्या गरिएको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.