कोसीमा संविधानविपरीत सभाध्यक्षले गरे मतदान, प्रतिपक्षी दलको नारावाजी
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतका पक्षमा सभाध्यक्ष इस्राइल मनसुरीले पनि मतदान गरेका छन्।
सभाको अध्यक्षता गर्नेले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्थाविपरीत मनसुरीले थापाको पक्षमा मत दिएका हुन्। मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। त्यसपछि दलका नेताहरुले आआफ्नो धारणा राखेका थिए। नेताहरुले धारणा राखिसकेपछि मुख्यमन्त्री थापाले सदनमा उठेका प्रश्नको जवाफ दिए। त्यसपछि विश्वासको मतको पक्ष र विपक्षमा मतदान भएको थियो।
प्रदेशसभा सदस्यहरुले मतदान गरिसकेपछि मन्सुरी पनि मतदानमा सहभागी भएका हुन्। मतदान सकिएपछि उनले प्रदेशसभा सदस्यलाई मत सच्याउन ३ मिनेटको समय दिए। त्यसपछि आफैं गएर मतदानमा सहभागी भए। सभाध्यक्षले बराबरी मत खसेको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने व्यवस्था छ।
तर, मत बराबरी नभइकन संविधानको उल्लंघन गर्दै गठबन्धनको निर्णयका आधारमा मन्सुरीले मतदान गरेपछि यो विषय कानुनी हिसाबले विवादित बनेको छ। सभाको अध्यक्षता गर्ने व्यक्तिले पनि मतदान गर्ने निर्णय गठबन्धनले गरेकोको थियो। संविधानविद्हरु यसलाई संविधानको ठाडो उल्लंघन भएको बताउँछन्।
उपसभामुख सिर्जना दनुवारसहित केही ज्येष्ठ सदस्यहरू अनुपस्थित रहेपछि सभाका ज्येष्ठ सदस्य कांग्रेसका मन्सुरीको अध्यक्षता प्रदेशसभा बैठक सञ्चालन भएको थियो। विश्वासको मत विभाजनका क्रममा अध्यक्ष मण्डलकी सदस्य गीता तिमल्सिनालाई उनले सभाध्यक्षको आशनग्रहण गराए। र आफू गएर मतदानमा सहभागी हुन खोजे।
विरोधमा प्रतिपक्षी एमाले र राप्रपाका सांसदहरुले नाराबाजी र होहल्ला गरेका थिए। उनलाई मतदान गर्नबाट रोक्न खोजे। एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरु विरोधमा उत्रिएपछि प्रदेशसभाभित्र मर्यादापालकहरुले रोकेका थिए। अहिले पनि प्रदेशसभाभित्र एमाले र राप्रपाका सांसदहरुले नाराबाजी गरिरहेका छन्।