कोसीका मुख्यमन्त्री थापा भन्छन्, ‘प्रदेशसभाको औचित्य स्थापित गर्यौं’
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुखले विश्वासको मतका पक्षमा मतदान गर्नु संविधानसंवत नै भएको दाबी गरेका छन्।
प्रदेशसभामा सभामुखलाई मतदान गर्न लगाएर थापाले विश्वासको मत पाएको घोषणा गरिएको थियो। सञ्चारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै उनले सभामुखले विश्वासको मत दिन पाउने जिकिर गरेका हुन्। ‘यो वैधानिक वा अवैधानिक भनेर हामीले भन्ने हैन। हामीले जे गर्यौं, ठीक गर्यौं,’ उनले भने, ‘सभामुखले सभा छाडेर हिँडेपछि यो अवस्था आएको हो। उहाँले (उपसभामुख सिर्जना दनुवार)ले सभा छाडेर भाग्न मिल्छ ?’
दनुवारका कारण सभाको अध्यक्षतामा रहेको प्रदेशसभा सदस्यले पनि मतदान गर्नुपर्ने परिस्थिति बनेको उनको आरोप छ। थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेर उपसभामुख दनुवार काठमाडौं गएकी थिइन्। एमालेले उनी बिरामी भएकाले उपचारका लागि गएको र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएको दाबी गरेको छ।
काठमाडौं जानुअघि दनुवारले ज्येष्ठ सदस्य एवं कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई सभा सञ्चालनको जिम्मेवारी दिइन्। मन्सुरी आज सभामुखको भूमिकामा थिए। उनैले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि यो विषय कानुनी विवादमा परेको छ। मत विभाजन सकिएपछि मत सच्याउन दिएको ३ मिनेटको समयभित्र मन्सुरीले थापाको पक्षमा मतदान गरेका हुन्।
सभाको अध्यक्षता गर्नेले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ। सभाध्यक्षले बराबरी मत खसेको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने व्यवस्था छ। तर, मत बराबरी नभइकन संविधानको उल्लंघन गर्दै गठबन्धनको निर्णयका आधारमा मन्सुरीले मतदान गरेका हुन्।
सभाको अध्यक्षता गर्ने व्यक्तिले पनि मतदान गर्ने निर्णय गठबन्धनले गरेको थियो। मन्सुरी मतदानमा सहभागी भएपछि प्रतिपक्षी एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरुले रोष्ट्रममा नाराबाजी गरेर विरोध जनाएका थिए।
मुख्यमन्त्री थापाले भने यसको सबै जिम्मा उपसभामुखले लिनुपर्ने बताए। ‘आफ्ना दलका ज्येष्ठ सदस्यलाई छुट्टीमा बस्न लगाएर आफू पनि भाग्ने। प्रदेशसभा खाली गरेर हिँड्ने,’ थापाले भने, ‘प्रदेशसभाका सदस्यलाई सभामुख तोकेर छाडेर हिँड्ने ? सभामुख नभएका कारण उहाँ(मन्सुरी)ले आफ्नो अधिकार प्रयोग गर्नु भएको हो।’
उनले आफ्नो अधिकार प्रयोग गर्न नपाउने भनेर थापाले प्रश्नसमेत गरे। ‘अधिकार प्रयोग गर्दा अवैधानिक हुँदैन। उहाँ सभामुख हैन। परिस्थितिले त्यो भूमिकामा रहनु पर्ने अवस्था आएको हो। मत हाल्ने उहाँको अधिकार छ। संविधानसंवत हिसाबले अधिकार प्रयोग गर्नु भएको हो। कुनै गलत भएको छैन,’ उनले भने।
थापाले बरु प्रदेशको औचित्य स्थापित गरेर प्रदेशसभाको वैधानिकता बचाउने काम चैं भएको जिकिर गरे। ‘उहाँ (मन्सुरी) ९३ भित्रकै प्रदेशसभा सदस्य हो। संविधानसंवत हिसाबले मतदान गर्नु भएको छ। उहाँ सधैंको सभामुख हैन। उपसभामुखले सभा सञ्चालन गर्ने जिम्मेवारी मात्रै दिनु भएको हो,’ मुख्यमन्त्री थापा भन्छन्, ‘प्रदेशसभा सदस्यले मताधिकार प्रयोग गर्दा किन विरोध ? उहाँले विधि र प्रक्रिया अनुसार नै विश्वासको मत दिनु भएको हो।’