प्रेस चौतारीले भन्यो- अन्नपूर्ण पोस्ट्को समाचारलाई स्पष्टीकरण सोध्ने महानिर्देशकलाई कारबाही गरियोस्
काठमाडौं : प्रेस चौतारी नेपालले अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा प्रकाशित सामग्रीलाई लिएर नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
चौतारीका महासचिव हिरमान लामाले प्रेस विज्ञप्ति जारी गर्दै निरंशकुता शैलीमा मिडियामाथि असंवैधानिक हस्तक्षेप गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई आवश्यक विभागीय कारबाही गर्न सरकारसँग माग गरेका छन्।
'अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई सोधिएको स्पष्टीकरणमा हवाई सेवा सरोकार र सुरक्षाको विषयमा नभएर हवाई सेवासँग सम्बन्धित समाचार प्रकाशन गरेर ‘प्रकाशकीय अधिकार दुरुपयोग गरेको’ अभियोग लगाइएको छ। नागरिक उड्डयन प्राधिकरण र त्यसका महानिर्देशकलाई कुनै पनि कानुनले मिडियामा प्रकाशन/प्रसारण हुने सामग्रीको अनुगमन, मूल्यांकन तथा नियमन गर्ने अख्तियारी दिएको छैन। संवैधानिक सीमा नाघेर प्रेस तथा सम्पादकीय स्वतन्त्रतामा ठाडो हस्तक्षेप गरिएको उक्त कार्यको प्रेस चौतारी घोर भर्त्सना गर्छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको छ। मिडियामा प्रकाशन/प्रसारण हुने सामग्रीमा कुनै सरोकारवाला व्यक्ति/निकायलाई चित्त नबुझे उपचार खोज्ने कानुनी र पद्धतिगत बाटाहरू फरक छन्। त्यो अबलम्बन नगरी मिडियाका सामग्रीमाथि अनधिकृत निकायबाट अनधिकृत व्यक्तिलाई स्पष्टीकरण सोधिनु असंवैधानिक हर्कत हो।'
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै प्राधिकरणले सिम्रिक एयरको समेत अध्यक्ष रहेका अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको नाममा स्पष्टीकरण सोधेको थियो।
‘प्राधिकरणबाट विभिन्न मितिमा दुर्गम क्षेत्रको उडान सुरक्षा अभिवृद्धि गर्नका लागि विभिन्न निर्णय भएकोमा उक्त निर्णयहरूको बर्खिलाप हुनेगरी शृंखलाबद्धरूपमा तपाईं प्रकाशक रहेको मिडियामार्फत् उडान सुरक्षामा गम्भीर असर पर्ने प्रकृतिका विज्ञप्ति समाचार र विश्लेषण र टिप्पणी प्रकाशन गरेको देखिएको हुँदा हवाई सेवा कम्पनीमार्फत् उडान सुरक्षाको पूर्णजिम्मेवारी पालना गर्नुपर्ने दायित्व बोकेको व्यक्तिले आफू प्रकाशक रहेको मिडियामार्फत् प्रकाशकीय अधिकारलाई दुरुपयोग गरी नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र यसअन्तर्गत बनेका नियमावली, रिक्वाएरमेन्ट्स, म्यानुअल तथा अन्य नियामकीय मापदण्डहरूको विपरीत गई उडान सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्ने गरी भ्रामक र अफवाह फैलाउने कार्य गर्न वायुसेवा कम्पनीको अध्यक्षको हैसियतमा कुन नैतिकताको आधारले दिन्छ?,’ प्राधिकरणको स्पष्टीकरणमा उल्लेख थियो। प्राधिकरणले समाचारको विषयलाई लिएर सोधिएको स्पष्टीकरणको चौतर्फी आलोचना भएको छ। नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतले विज्ञप्ति जारी गर्दै प्राधिकरणको विरोध गरेका छन्।