पीडित एकल महिलाले भनिन्- साहुले कुटे, प्रहरीले पनि थुने
वीरगन्ज : पर्सामा साहुकारबाट कुटिएकी एकल महिलालाई प्रहरीले न्याय दिनुको सट्टा उल्टै थुनामा राखेको घटना सार्वजनिक भएको छ।
पर्साको छिपहरमाई गाउँपालिका-२ टिहुकी ५० वर्षीया तारा देवीले छोरासहित आफूलाई आइतबार दिउँसो प्रहरीले पोखरियास्थित इलाका प्रहरी कार्यालयमा थुनेर राति ११ बजेतिर छाडेको आरोप लगाएकी हुन्।
सोमबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर पीडित उनले भनिन्,‘ आइतबार बिहानै साहुकार र उनका मान्छेहरूले घरमै आएर हामी दुई आमा छोरालाई मर्ने गरी कुटेर घाइते बनाए। प्रहरीले हामीलाई न्याय दिनुको सट्टा उल्टै थुनेर राति ११ बजे छाड्यो।'
उनले झलमहीयाका साहुकार वीरेन्द्र साह तेलीसँग ४ लाख रुपैयाँ ऋण लिएकी थिइन्। उक्त ऋणको सावा र ब्याज गरी ५ लाख ६८ हजार रुपैयाँ तिर्नुपर्ने थियो। त्यसैका लागि तारादेवीले गाउँकै भोला साह कानुसँग गत असार १७ गते १२ लाख रुपैयाँ लिएकी थिइन्।
कानुले १२ लाख रुपैयाँ दिए बापत तारादेवीको ६ कठ्ठा घडेरी मालपोतत कार्यालयमा गएर आफ्नो नाममा रजिष्ट्रेसन पास गरिदिन दबाब दिएका थिए। तर आफूले करोडौं मूल्यको जग्गा १२ लाखमै दिन नमानेपछि आइतबार घरमै आएर आमा छोरा दुवैलाई निर्घात रुपमा कुटपिट गरी घाइते बनाएको र उल्टै प्रहरीमा लगेर थुन्न लगाएको बताइन्।
इलाका प्रहरी कार्यालयमा पुग्दा प्रहरीले आफूहरूको पीडा सुन्नुको सट्टा उल्टै थुनामा राखेको कुटपिटबाट घाइते भएका तारादेवीका छोरा गोखुलले पीडा पोखे।
आफूहरूलाई साहुकार कानुसँगै उनी निकटका प्रदीप साह कानु, सन्दीप साह कानु, भगत साह कानु , पागल साह कानु , बृजेश यादव कानु सहितकाले कुटपिट गरी घाइते बनाएको कंकरले बताए।
कंकरका अनुसार साहुकार कानुबाट गत असार १७ गते १२ लाख लिएपछि त्यसबापत ६ कठ्ठा घडेरी पास गरिदिन दबाब र धम्की दिएपछि जिउ ज्यानको सुरक्षाको माग गर्दै पीडित तारादेवीले यसअघि असार २२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएकी थिइन्।
पत्रकार सम्मेलनमा साहुकार कानुसँग लिएको १२ लाख रुपैयाँ फिर्ता गर्न आफू तयार रहेको बताइन्। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले भने पीडित भनिएकी तारादेवी र उनका छोरालाई प्रहरी थुनामा नराखेको दाबी गरे। लेनदेनको विवादमा उजुरी परेपछि प्रहरी कार्यालयमा आइतबार दुवै पक्षलाई बोलाएको तर प्रहरी थुनामा कसैलाई पनि नराखेको उनले बताए।
प्रहरी निरीक्षक केसीले बेलुकी अबेरसम्म चलेको छलफलमा समस्या नसुल्झिएपछि बुधबार फेरि प्रहरी कार्यालयमा हाजिर हुने शर्तमा तारादेवी र उनका छोरालाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताको जिम्मामा घर पठाइएको बताए।
कुटपिटमा संलग्नलाई कारबाहीका विषयमा भने पीडितहरूलाई अस्पतालबाट उपचार गराई प्रहरी केसको रिपोर्टसहितको जाहेरी लिएर आउन भनिएको पनि उनले बताए।