मोरङमा खोलाले बगाएर वृद्धाको मृत्यु
विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ ।
तीर्थ खोलाले बगाएर पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार तर्ने क्रममा सोमबार दिउँसो १२:१५ बजेतिर वृद्धालाई तीर्थ खोलाले बगाएको थियो ।
खोलाले बगाएर बेपत्ता बनाएकोमा दुई सय मिटर तल रुखको जरामा अल्झिरहेको अवस्थामा शव फेला परेको डीएसपी दाहालले बताए । जरामा अड्किएको अवस्थामा आमाको शव देखेपछि छोराले प्रहरीलाई खबर गरेका हुन् ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।