कोसीमा सरकार टिकाउन संवैधानिक बलमिचाइँ
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेरै सोमबार पुनः प्रदेशसभाबाट विश्वासको मत लिएका छन्। सभामुखको भूमिकामा रहेर प्रदेशसभाको अध्यक्षता गरेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई मतदान गर्न लगाउँदै थापाले विश्वासको मत लिएका हुन्। मन्सुरीले विश्वासको मतका पक्षमा मतदान गरेका थिए। संविधानविपरीत विश्वासको मतका पक्षमा मतदान गर्दै उनी आफैंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरे।
थापाको पक्षमा ४७ र विपक्षमा ३० मत खसेको घोषणा गरिएको छ। कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत नै आवश्यक पर्छ। मन्सुरीले मत नदिँदा थापा नेतृत्वको सरकार ढल्ने थियो। सभाको अध्यक्षता गर्नेले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्थाविपरीत मन्सुरीले थापाको पक्षमा मतदान गरेपछि यो विषय कानुनी विवादमा परेको छ। सभाध्यक्षले बराबरी मत खसेको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने व्यवस्था छ।
संविधानको धारा १८६ मा भनिएको छ, ‘प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ। अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन। तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ।’
मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। त्यसपछि दलका नेताहरूले आआफ्नो धारणा राखे। नेताहरूले धारणा राखिसकेपछि मुख्यमन्त्री थापाले सदनमा उठेका प्रश्नको जवाफ दिए। त्यसपछि विश्वासको मतको पक्ष र विपक्षमा मत विभाजन गरियो।
प्रदेशसभा सदस्यहरूको मतदान सकिएपछि मन्सुरी पनि मतदानमा सहभागी भएका हुन्। मतदान सकिएपछि उनले प्रदेशसभा सदस्यलाई मत सच्याउन ३ मिनेटको समय दिएका थिए। अरूलाई मत सच्याउन समय दिएर उनले भने थापाको पक्षमा मत दिएका हुन्। विश्वासको मत विभाजनका क्रममा अध्यक्ष मण्डलकी सदस्य गीता तिमल्सिनालाई उनले सभामुखको आसनमा बोलाए। र, आफू गएर मतदानमा सहभागी भए। मत बराबरी नभएकै अवस्थामा संविधानको उल्लंघन गर्दै गठबन्धनको निर्णयका आधारमा मन्सुरीले मतदान गरेका हुन्। त्यसको विरोधमा प्रतिपक्षी एमाले र राप्रपाका सांसदहरूले नाराबाजी गरेका थिए।
मुख्यमन्त्री थापाले आइतबार नै प्रदेशसभाबाट विश्वासको मत लिन चाहेका थिए। तर, उपसभामुख सिर्जना दनुवारले सोमबारको समय तोकिदिइन्। थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेर उपसभामुख भने सोमबार बिहान काठमाडौं लागिन्। एमालेले उनी बिरामी भएकाले उपचारका लागि गएको र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएको बताइएको छ।
काठमाडौं जानुअघि दनुवारले अध्यक्ष मण्डलका ज्येष्ठ सदस्य मन्सुरीलाई सभा सञ्चालनको जिम्मेवारी दिइन्। त्यही जिम्मेवारी अनुरूप मन्सुरी सभामुखको भूमिकामा थिए। प्रदेशसभा बैठक सुरु हुनुअघि गठबन्धनले सभाको अध्यक्षता गर्नेलाई पनि मतदानमा सहभागी गराउने निर्णय लिएको थियो। उपसभामुख दनुवारसहित अध्यक्ष मण्डलमा रहेका ज्येष्ठ सदस्यहरू अनुपस्थित रहेपछि सभा सञ्चालनको जिम्मेवारी मन्सुरीको काँधमा आएको हो।
कोसीमा सत्तारुढ कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन्। विपक्षी गठबन्धनमा रहेको एमालेका ४० र राप्रपाका ६ जना सांसद छन्। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग त्यो संख्या छ। तर, सभामुख पद खाली छ। अहिले कोसी प्रदेशसभाको सभामुख लिन कुनै पनि दलले चाहेका छैनन्।
माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी भएका थिए। गौतम अहिले प्रदेशको आर्थिक मामिला तथा कानुनमन्त्री छन्। सभामुख कसैले लिन नचाहेपछि उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने अवस्था आएको थियो। तर, बिरामी भएको भनेर बिदा लिँदै उनी काठमाडौं गइन्। एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरू पनि बिदामा बसे। त्यसो हुँदा अध्यक्ष मण्डलका ज्येष्ठ सदस्य मन्सुरीले सभा सञ्चालन गर्नुपर्ने अवस्था आयो। सोमबारको बैठकमा ७७ जना प्रदेशसभा सदस्य उपस्थित थिए। सत्तारुढबाट सभामुखसहित ४७ र विपक्षीतर्फका ३० जना प्रदेशसभा सदस्य उपस्थित भए। अर्को बैठक आगामी बुधबारका लागि बोलाइएको छ।
गत असार १५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको एमाले सरकार ढलेपछि सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर लिएर बहुमत दाबी गर्दै थापा असार २१ गते मुख्यमन्त्री बनेका थिए। सर्वोच्च अदालतले उनको नियुक्ति बदर गर्दै सभामुख सरकार गठन प्रक्रियामा सहभागी हुन नपाउने व्याख्या गरिसकेको छ। त्यसपछि सभामुखलाई राजीनामा दिन लगाएर बहुमत पुर्याउँदै कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा साउन १६ गते पुनः दोस्रोपटक मुख्यमन्त्री बनेका हुन्।
‘प्रदेशसभाको औचित्य स्थापित गर्यौं’
मुख्यमन्त्री थापाले भने सभामुखले विश्वासको मतका पक्षमा मतदान गर्नु संविधान संवत नै भएको दाबी गरेका छन्। उनले प्रदेशसभाको औचित्य पनि पुष्टि भएको बताए। सञ्चारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै उनले सभामुखले विश्वासको मत दिन पाउने जिकिर गरेका हुन्।
‘यो वैधानिक वा अवैधानिक भनेर हामीले भन्ने हैन। हामीले जे गर्यौं, ठीक गर्यौं,’ उनले भने, ‘सभामुखले सभा छाडेर हिँडेपछि यो अवस्था आएको हो। उहाँले (उपसभामुख सिर्जना दनुवार)ले सभा छाडेर भाग्न मिल्छ ?’
सर्वोच्च जान्छौं : एमाले
मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मत लिएपछि एमाले सर्वोच्च अदालत जाने भएको छ। सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको एमालेको ठहर छ। एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मत लिने नाममा संविधान, कानुन र संसदीय मूल्य मान्यताको हुर्मत लिने काम भएको बताउँछन्।
‘संसदीय अभ्यास र परम्परामा योभन्दा निन्दनीय अरू हुनै सक्दैन,’ उनले भने, ‘मत बराबर नभएको अवस्थामा सभामुखले मतदान गर्नु संविधान, कानुन र संसदीय मर्यादाविपरीत हो।’ भण्डारीले यसविरुद्ध सर्वोच्चमा जाने पनि बताए। भने, ‘प्रदेशसभाभित्र आफ्नो हिसाबले पर्दाफास गर्छौ र कानुनी लडाइँमा पनि जान्छौं।’
मत हाल्ने समयावधि सकिएपछि ‘जुरुक्क उठेर’ सभामुखले मतदान गर्नु घोर आपत्तिजनक र संसदीय अपराध भएको भण्डारी बताउँछन्। मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्च जाने र त्यसको तयारी थालिएको उनले बताए।