त्रिशूली अस्पतालमा प्रसुती सेवा ठप्प
नुवाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्रसुती सेवा बन्द भएको छ। अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा प्रसुती सेवा बन्द भएको हो।
नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको विदुर-९ कोलोनीस्थित त्रिशूली अस्पतालमा एक सातादेखि प्रसूती सेवा प्रभावित भएको छ। सम्बन्धित चिकित्सक नहुँदा विरामीलाई समस्या परेको छ।
त्रिशूली अस्पतालमा विरामीलाई आकस्मिक, वहिरंग, शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको सो अस्पतालमा कार्यरत दुई जना स्त्रीरोग विशेषज्ञ सरुवा भएपछि प्रसुती सेवाका लागि समस्या परेको अस्पतालका चिकित्सक डा. राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार अस्पतालमा हालः विभिन्न ११ जना विशेषज्ञ र ९ जना मेडिकल अधिकृत कार्यरत छन्।
अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा सोसम्बन्धी दैनिक ८० देखि एकसय जना स्त्रीरोगको उपचार गर्न आउनेहरू प्रभावित भएका छन्। स्त्रीरोगको उपचार तथा परामर्श र प्रसुती शल्यक्रियासमेत नहुँदा विरामीहरु काठमाडौं जान बाध्य छन्। अस्पतालमा रेडियोग्राफर नहुँ5दा भिडियो एक्सरे सेवासमेत प्रभावित भएको छ। रेडियोग्राफर नहुँदा दैनिक एकसय ५० जना भिडियो एक्सरे गराउनुपर्ने विरामीहरु समस्यामा परेका छन्।
सेवा प्रभावित भएपछि चिकित्सक उपलब्ध गराइदिन बागमती प्रदेश सरकार र संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरिएको त्रिशूली अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए। उनका अनुसार सेवा नै उपलव्ध नभएपछि अस्पताल सुनसान हुँदै गइरहेको विषयमा आफू तथा अस्पतालले विभिन्न निकायको ध्यानाकर्षण गराइसकिएको छ।
बेड निःशुल्क
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले विरामीहरुका लागि बेड निःशुल्क उपलब्ध गराउन थालेको छ। अस्पतालमा सामान्य शैह्या(जनरल बेड) निःशुल्क प्रदान गर्न थालिएको अस्पतालका अध्यक्ष राजु पण्डितको भनाइ छ। यसबाट विरामीहरुलाई निकै सुविधा पुगेको छ। बागमती प्रदेश सरकार मातहतका त्रिशूलीसहित सो प्रदेशका १३ वटा सरकारी अस्पतालमा सामान्य जनरल बेड निःशुल्क गरिएको छ।