दुई सातापछि त्रिशूली अस्पतालमा प्रसूति सेवा सुरु
नुवाकोट : दुई सातादेखि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा बन्द रहेको प्रसूति सेवा सुरु भएको छ। अस्पतालमा स्त्रीरोग विशेषज्ञ आएपछि सेवा सुरु भएको हो।
सम्बन्धित चिकित्सक नहुँदा अस्पतालमा गत साउन ३० गतेदेखि प्रसूति सेवा बन्द भएको थियो। नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको विदुर नगरपालिका-९ कोलोनीस्थित त्रिशूली अस्पतालमा सम्बन्धित चिकित्सक नहुँदा दुई सातादेखि प्रसूति सेवा प्रभावित भएको थियो।
बागमती प्रदेश सरकारले प्रसूति रोग विशेषज्ञ डा. प्रशान्त शर्मा र डा. विदुर भण्डारीलाई खटाएपछि अस्पतालमा प्रसूति उपचार तथा शल्यक्रिया सेवा सुरु भएको अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए। उनका अनुसार सम्बन्धित चिकित्सकले कार्य सुरु गरेपछि बिरामीहरूलाई निकै सुविधा पुगेको छ।
गत महिना त्रिशूली अस्पतालमा विरामीलाई आकस्मिक, बहिरंग, शल्यक्रिया लगायतका सेवा प्रदान गर्दै आएको सो अस्पतालमा कार्यरत दुई जना स्त्रीरोग विशेषज्ञ सरुवा भएपछि प्रसूति सेवा दुई साता समस्या परेको थियो।
त्रिशूली अस्पतालमा हाल विभिन्न १३ जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत रहेका छन्। अस्पतालमा स्त्रीरोग विशेषज्ञ आएर कार्य सुरु गरेपछि दैनिक ८० देखि एक सय जना स्त्रीरोगको उपचार गर्न आउनेहरू लाभान्वित भएका छन्।